हल गोरू हरायो, गाउँ-गाउँमा आधुनिक हलो

डम्मर बुढा मगर बागलुङ, संवाददाता
Read Time = 8 mins

बागलुङ । गाउँमा गोठ रित्तै छन् । उत्पादन हुने खेतीयोग्य जमिन घट्दै छन् । युवाशक्ति विदेश पलायन, वृद्धवृद्धाले भारी काम गर्न सक्दैनन् । पहिले–पहिले गाउँमा गोठभरी गाईभैँसी, गोरु र बाख्रा हुन्थे । वस्तुभाउको गोबर र स्याउला मिलाएर मल बनाइन्थ्यो । छर छिमेकी भएर अर्मपर्म गरि खेतबारीमा मल पुर्याइन्थ्यो, खेतीपाती गरिन्थ्यो । भित्राउने बेला पनि छिमेकी मिलेर काम गर्थे । कसैलाई पनि पारिश्रमिक दिएर काम गराउनु पर्दैनथ्यो । काम गर्न जति पनि जनशक्ति पाइन्थ्यो । तर अहिले गाउँमा न काम गर्ने जनशक्ति पाइन्छन्, न अर्मपर्म गर्न छरछिमेकी ।

बजारसँगै गाउँमा पनि वस्तुभाउ कम पाल्नाले खेतबारीमा मल पु¥याउन गाह्रो त परेकै छ, त्यसमाथि बारीमा मलसमेत पुग्दैन । जसले गर्दा गाउँमा पनि अहिले रसायनिक मलको प्रयोग बढ्न थालेको छ भने जोत्नका लागि आधुनिक हलो (मिनीटेलर) प्रयोग हुँदै गएका छन् । एक दशक अगाडिसम्म सिंचाइ सुविधा नहुँदा आकाशे पानीकै भरमा धेरै क्षेत्रफल खेत रोपाइँ गर्ने किसान अहिले सिंचाइको राम्रो व्यवस्था हुँदा पनि थोरैमा मात्रै धान रोप्ने थालेका छन् । अहिले गाउँमा हल गोरु भेट्याउनै मुस्किल पर्छ ।

बुढापाकाले पूर्णिमाका दिन खेतबारी जोत्न हुँदैन भन्ने परम्परागत मान्यता थियो । तर अहिले आधुनिक हलोको प्रयोग गरेर किसानले खेतपानी जोत्ने गर्छन् । यसले सांस्कृति प्रभावसमेत पारेको छ । पहिले एक हल गोरुले एक दिनमा गर्ने काम मिनीटेलरले दुई घण्टामै सक्ने हुँदा आधुनिक हलोको प्रयोग बढ्दै गएको बागलुङ नगरपालिका–५ का किसान कृष्णबहादुर थापाले बताउनुभयो । उहाँले आफ्ना पालामा अहिलेको जस्तो आधुनिक हलको विकास नभएको हुँदा हल गोरुको विकल्प नभएको बताउनुहुन्छ । पछिल्लो समय आधुनिकताले गर्दा स्थानीयले गोरु पाल्न छोडेको उहाँको भनाइ छ ।

थापा भन्नुहुन्छ, ‘हाम्रा बाउबाजेले गोठमा दुई/तीन हल गोरु पाल्थे, खेतबारी जोत्ने बेला गाउँभरीका मान्छेको खेतबारी जोत्न जान्थे, अन्य समय वन पाखामा चराउने, गोबरबाट मल बनाउने गरिन्थ्यो, अहिले खेतमा मल पुर्याउनै सकिन्न, गाईभैँसी पाल्न छोडियो के को मल पुग्थ्यो र अहिले त बजार गयो युरिया मल किनेर ल्यायो, त्यही बारीमा खन्यायो, युरिया मलले पनि मान्छेलाई धेरै सहज बनाएको छ, यो मल हुन्नथ्यो भने बल्ल पशुचौपाया पाल्ने थिए होला ।’

ढोरपाटन नगरपालिका–५ का ओमबहादुर घर्तीले गाउँसम्म आधुनिक हलो आएपछि स्थानीयले गाई गोरु पाल्न छोडेको बताउनुभयो । उहाँले अघिल्लो वर्षसम्म आफूले दुई हल गोरु पाल्दै आएकोमा अहिले गोठ रित्तै रहेको बताउनुहुन्छ । पहिले २०/२५ मुरी धान फल्ने खेतमा धान रोप्ने गरेको सुनाउँदै अहिले काम गर्न मान्छे नहुँदा १० मुरी मात्रै धान खेतमा रोपाइँ गरेको बताउनुभयो । गाउँलेको बजार मोहले ग्रामीण जनजीवनसमेत हराउन थालेको उहाँको भनाइ छ ।

‘असार लागेदेखि साउन नसकिदासम्म रोपाइँ हुन्थ्यो, त्यस अवधि पुरै पर्ममा गइन्थ्यो, गाउँ भरीका खेताला हुन्थे, रोपाइँ गर्दा बारीमा मकै कुटाउँदै निकै रमाइलो पनि हुन्थ्यो, अहिले त्यो चलन हरायो,’ उहाँले भन्नुभयो, ‘अहिलेका मान्छेले धेरै सुविस्ता (सुविधा) खोज्न थाले, घरको काम गर्न पनि गाह्रो मान्छन्, खेतबारीमा त झन् गाह्रो हुने नै भयो, हाम्रो बैसमा कनै पनि कामलाई बाँकी राखिएन, अहिलेका त शहर बजार बस्ने रे, विदेश जाने भन्छन्, पढे लेखे, हामीले जस्तो पशुचौपाया पाल्न खोज्दैनन्, त्यही भएर गाउँमा अहिले गाई, गोरु, भैँसी र पाठापठी निकै कम भए ।’

उहाँले आधुनिक हलोले जोत्दा बाली राम्रो नहुने भन्दै आफूले गाउँमा खोजेरै भए पनि गोरुले नै जोत्ने गरेको बताउनुहुन्छ । गोरु जोत्ने पुरानो परम्परा रहेको हुँदा आफ्नो हात पाखुरा चल्नसम्म आधुनिक हलोको प्रयोग नगर्ने घर्ती बताउनुहुन्छ । अहिले गाउँका धेरै जसो खेतबारीमा खेती नहुँदा वनमारा झारले भरिन थालेको बताउनुभयो ।

कृषि ज्ञान केन्द्र बागलुङका प्रमुख भानुभक्त भट्टराईले ग्रामीण क्षेत्रमा आधुनिकीकरणसँगै परम्परागत शैलीका खेतीपातीलाई पनि जोड दिने बताउनुभयो । केही वर्ष यता गाउँका कृषकहरूले आधुनिक हलो प्रयोग गर्न थालेको भन्दै गोरुमार्फत जोत्ने कृषकलाई पनि ज्ञान केन्द्रले प्रेरित गर्ने बताउनुहुन्छ । अचेल गोरु पालक किसान कम हुँदै गएको हुँदा आगामी वर्षदेखि त्यस्ता कृषकलाई अनुदान दिने र प्रोहोत्सान गर्ने भट्टराईले बताउनुभयो ।

‘अहिले पनि धेरै किसानले आधुनिक हलो मन पराउनु भएको छैन, तर पनि जनशक्ति र गोरु नपाएपछि बाध्यताले मिनिटेलर प्रयोग गर्नु भएको छ, उहाँहरूलाई कृषि ज्ञान केन्द्रले सहयोग गर्नु पर्ने सामग्री तथा अनुदान सहयोग गरि रहेको छ,’ उहाँले भन्नुभयो, ‘बजारी क्षेत्रमा आधनिक हलोको प्रयोग गरे पनि गाउँमा गोरुबाटै जोत्नु पर्छ भन्ने हामीहरूलाई पनि लागेको छ, व्यवसायिक रुपमा लाग्नु भएका कृषकलाई आधुनिक हलो दिने गरेका छौँ, अब गोरु पाल्ने कृषकलाई पनि अनुदान दिने व्यवस्था मिलाउन लागेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?