संस्कृति जोगाउन मालुमेलामा कला प्रर्दशन

सुरेश धामी बझाङ, संवाददाता
Read Time = 7 mins

बझाङ । बझाङ जिल्लाको थलारा गाउँपालिका-९ मा परम्परागत संस्कृतिको जगेर्नाका लागि कला प्रर्दशन आयोजना गरिएको छ । लोपोन्मुख अवस्थामा रहेका परम्परागत कला, सांस्कृतिकको संरक्षणका लागि वडाले आर्थिक सहयोग गरेर शुक्रबार स्थानिय कला, संस्कृति प्रर्दशन गराएको हो । पहिचानका रूपमा रहेका मागल, भात्र्या नाच, गौरा, भारीखेल, देउडाजस्ता संस्कृति संरक्षणको अभावमा लोप हुने अवस्थामा पुग्न थालेको थलारा गाउँपालिका-९ का वडाअध्यक्ष लोकेन्द्र बहादुर विष्टले बताउनुभयाे ।

उहाँले भन्नुभयाे, ‘वडाको पहिचानका रूपमा रहेका परम्परागत सांस्कृतिक सम्पदाहरू लोप हुने चिन्ता बढेको छ । यिनको संरक्षणमा टेवा पुगोस् भनेर स्थानिय कला, संस्कृति प्रर्दशनको आयोजना गरेका हौँ ।’ चाडपर्व, मेला, विवाह, पूजाजस्ता सामाजिक कार्यहरुमा मात्र उक्त कला संस्कृति सीमित हुन थालेको उहाँको भनाइ छ । ‘वर्षमा एकपटक भए पनि प्रर्दशन आयोजना गर्ने हो भने कम्तीमा प्रर्दशनका लागि त तयारी गर्छन् ।,’ उहाँले भन्नुभयाे, ‘यसले पनि युवापुस्तालाई हाम्रो कला संस्कृतिको बारेमा अवगत हुन्छ र बिस्तारै यसमा लाग्न प्रेरित गर्छ ।’ वडाको आर्थिक सहयोगमा तेस्रो आँखा राष्ट्रिय साप्ताहिक आयोजक बनेर उक्त कार्यक्रम आयोजना गरेका हो ।

पुराना चलन हराउँदै छन् । संस्कृतिको जगेर्ना भएन । शिक्षित युवाहरू हूलका हूल बिदेसिरहेको अवस्थामा धेरैले यसैमा चिन्ता गर्छन् । युवा पुस्ताले संस्कृति जगेर्नामा बेवास्ता गरेको आरोप लाग्ने गर्छ । तर ती आरोप शतप्रतिशत सही भने छैनन् । पहिला आफ्नो संस्कृतिबारे खुलेर बोल्न नसक्नेहरू पनि अहिले आफ्नो गाउँठाउँको पहिरन नृत्य, चाडपर्वमा खुबै जम्ने गरेका देखिन्छन् । बझाङको सदरमुकाम चैनपुरका विभिन्न स्थानमा भइरहने मेला, महोत्सवमा महिलाहरु सांस्कृतिक पहिरनका साथ सहभागी हुने गर्छन् । देउडा गाउने पनि देखिन्छन् भने भारी खेल्ने, भुवा खेल्ने, मागल गाउने पनि भेटिन्छन् ।

थलारा गाउँपालिका-९ स्थित मालुमेलाका ज्ञान बहादुर दमाई परम्परागत भात्र्या पहिरनसहित हातमा पर्दा दंग पर्नुहुन्छ । बुवाको पुर्ख्यौली पेसा नै त्यहि भएपछी आफुले पनि सोहि पहिरनमा आउनु परेको उहाँले बताउनुभयाे । ‘पहिला लाज लाग्थ्यो ।,’ उहाँ भन्नुहुन्छ, ‘अहिले त्यस्तो लाग्दैन । पहिला बुवा संगै गाउँन जान्थे विचमा छोडे, अझ यसलाई निरन्तरता दिदैछु । आजभोली आफ्नो कला, संस्कृति झल्कने पहिरन लगाउँदा गर्व महसुस हुन्छ ।’ उहाँ आफ्नो संस्कृति जोगाउने जिम्मेवारी युवामा आएको बताउनुहुन्छ । ज्ञान बहादुर गाउँमा हुने विवाह, व्रतबन्ध, छैठि पुजामा काहानी, र नृत्य पनि गर्नुहुन्छ । उहाँले बुवाको मृत्यू पछी शुक्रबार पहिलोपटक भात्र्या नाच देखाउनुभएकाे हाे ।

कार्यक्रममा सहभागी थलारा माध्यामिक विध्यालयका शिक्षक प्रेम बहादुर सिंहले जोसुकैले अहिले पुरानो पहिरनमा सजिन सजिलो अवस्था नरहेको बताउनुभयाे । ‘अहिलेका युवा-युवतीहरू पाइन्ट, टिसर्ट लगाउने गर्दछन् । त्यो पनि ठाउँ-ठाउँ च्यातिएको हुन्छ । त्यस्ता पहिरनमा हिँड्न लाज मान्दैन् ।’, उहाँले भन्नुभयाे, ‘आफ्नो बोली, भाषा गर्न भने लज्जित भएको महसुस गर्छन् । यसले मातृत्व र जननीप्रतिको प्रेम हराउँदै गएको प्रष्ट हुन्छ ।’ जनप्रिय माध्यामिक विध्यालयका शिक्षक भिम खड्काले परम्परागत पहिरनले थलाराको कला, संस्कृति, सबैको झल्को दिने गरेको बताउनुभयाे । ‘संस्कृति पनि त हाम्रो पुँजी हो । यसले हाम्रो मौलिकता र वास्तविकता दुवै बोल्छ ।’, खड्काले भन्नुभयाे, ‘हामी त माल भएर पनि चाल नपाउने कस्तुरी मृगजस्तै भयौँ ।’

चक्रेश्वर माध्यामिक विध्यालयका शिक्षक विरेन्द्र गिरीले भन्नुभयाे,‘पहिरन हाम्रो सम्पत्ति, पहिचान र इतिहास हो । यसले हाम्रो भाषा, संस्कृति, भेषभूषा र जीवनशैलीका बारेमा प्रष्ट पार्दछ । यो हाम्रो अस्तित्व र जीवन इतिहाससँग जोडिएको छ ।’

स्थानीय कला संस्कृतिको प्रचारप्रसार र संरक्षणमा सबै सरोकारवाला जिम्मेवार बन्नुपर्ने जिल्ला समन्वय समिति बझाङका उपप्रमुख कृष्ण विष्टले बताउनुभयाे । उहाँले थलाराको कला संस्कृतिसमेत जिल्लामै नमुना र उदाहरणिय रहेको भन्दै संरक्षण र प्रचारप्रसारमा लाग्न स्थानीयलाई अनुरोध गर्नुभएकाे छ । थलारामा ऐतिहासिक देउडा खेल खेल्ने प्रचलनदेखि अन्य लोपोन्मुख कला संस्कृतिको अवस्था अझै पनि प्रख्यात रहेको उपप्रमुख विष्टको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?