खोटाङ पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 4 mins

खोटाङ । जन्मेदेखि १५ महिनासम्मका तथा १६ महिनादेखि ५९ महिनासम्मका बालबालिकाले पाउनुपर्ने १३ किसिमका सम्पूर्ण खोप पाएको निश्चित भएपछि खोटाङ जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।

दुई नगरपालिका, आठ गाउँपालिकाले पूर्ण सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्ला खोप समन्वय समितिको सचिवालय तथा स्वास्थ्य कार्यालयले शनिबार समिक्षालय हलमा कार्यक्रम गरी सिङ्गो जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेको हो ।

कार्यक्रमका प्रमुख अतिथि संविधानसभा सदस्य दुर्गाजयन्ती राईले जिल्लालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्दै पूर्ण खोप सुनिश्चितता दिगोपनाको लागि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ । दुर्गाजयन्तीसँगै पूर्व सभाषद कुलप्रसाद फुयल, जिल्ला समन्वय समितिका पूर्व प्रमुख बबि चाम्लिङ, हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई लगायतले पनि प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्नका लागि स्वयंम्सेविकालाई गाउँगाउँ टोलटोल खटाएर खोज र खोप अभियाननै चलाईएको थियो । स्वास्थ्य कार्यालयका प्रमुख पुन्य प्रसाद सिग्देलका अनुसार १ वर्षमुनिका ३ हजार २४४ जना, २ वर्ष मुनिका ६ हजार ४९२ जना र ५ वर्ष मुनिका १६ हजार ५०५ जना बालबालिकाले पुर्ण खोप पाएका छन् । ३ हजार २२३ जना गर्भवती महिलाहरुका लागि टी.डी(धनुष्टंकार र भ्यागुते रोग विरुद्ध) खोप दिईएको छ ।

खोज र खोप अभियानका क्रममा केपिलासगढी गाउँपालिकामा १३ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १ जना, साकेला गाउँपालिकामा २ जना, जन्तेढुंगा गाउँपालिकामा ५ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना गरी २२ जना बालबालिकामा सुन्य डोज भेटिएको थियो ।

केपिलासगढी गाउँपालिकामा ३६ जना, खोटेहाङ गाउँपालिकामा ४ जना, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३ जना, साकेला गाउँपालिका र बराहपोखरी गाउँपालिकामा १/१ जना, जन्तेढुंगा गाउँपालिकामा ३ जना र रावाबेंशी गाउँपालिकामा २ जना बालबालिकामा खोप छुटेको पाईएको थियो ।

'सुन्य डोज र छुटेका बालबालिकालाई तालिका मिलाएर खोप दिईरहेको छ । ती बालबालिका हाम्रो स्वयंम्सेविकाको सम्पर्कमा छ अब उनीहरुले पूरै खोप पाउनेछन् ।' स्वास्थ्य कार्यालय प्रमुख सिग्देलले भन्नुभयो ।

बालबालिकालाई क्षयरोग, रोटा, पोलियोमाइलाईटिस, न्यूमोनिया, मेनिन्जाईटीस, भ्यागुतेरोग, लहरेखोकी, हेपाटाईटीस बी, धनुष्टंकार, दादुरा, रबेला, टाइफाइड र जापानिज इन्सेफलाइटिस बिरुद्धका खोपहरु दिईन्छ ।

 

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?