म्याग्दीको गाउँबाट अमेरिकामा गलौंचा निर्यात

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 4 mins

म्याग्दी । म्याग्दीकी एक ८२ वर्षिया महिलाले हाते तानबाट बुनेका गलैंचा नेपाली बजारमा मात्रै होइन युरोप र अमेरिकामा समेत निर्यात हुन थालेका छन् ।

जिल्लाको मंगला गाउँपालिका–१ भर्जुलाकी ८२ बर्षिया यामकुमारी पुनले स्थानीय प्रविधि र कच्चा पदार्थ प्रयोग गरी बुनेका गलैंचाको माग समुद्रपारीका देशहरुबाट समेत आउन थालेपछि उनी खुसीले दंग पर्नुभएको छ ।

गत बर्ष अमेरिकामा मात्रै ४ वटा गलैचा पठाएकी पुनले यसबर्ष अमेरिका र यूरोपमा १० वटा गलैचाको अर्डर आएको जानकारी दिनुभयो । ‘गलैचाको बजार विदेशसम्म छ, बुढेशकालमा धेरै बनाउन सकिदैन्, जनशक्ती भए बजारको अभाव छैन’ पुनले भन्नुभयो ।उहाँले ग्राहकको चाहना अनुसार बर्षौ टिक्ने गलैचा बनाउन सकिने बताउनुभयो ।

उहाँल्े एउटा गलैचालाई ७ हजारदेखि १० हजारसम्म बिक्री गर्दै आउनुभएको छ । पुनले विदेशबाट आउने अर्डर अनुसार एउटा गलैंचा तयार गर्न बढीमा महिना दिन लगाउँने गरेको बताउनुभयो । विदेशबाट अर्डर गरेकाले तयार गरेको गलैंचा गाउँ मै आएर खरिद गर्ने गरेका छन् । ‘बुढ्यौलीले छोएपनि जाँगरले छोडेको छैन,केहीबर्ष अझै गलैचा बिक्री गर्छु’ उहाँले भन्नुभयो ।

यामकुमारीको दैनिकी अचेल गलैंचा बुनेर बित्ने गरेको छ । घरायसी काम सकेर दिनभरी गलैंचाको तानमै ब्यस्त हुन्छिन् । शारीरिक रुपमा पनि धेरै भार नपर्ने हुँदा एकल महिला पुनले महिनामा २ वटासम्म सादा र बुट्टेदार दुवैखाले गलैचा बनाउने गरेकी छन् ।गाउँकी अगुवा महिला पुनले तयार गरेको गलैचाको बजार नेपालभित्र मात्रै नभई अमेरिकासम्म छ ।

बजारमा चिनियाँ र अन्य देशबाट ल्याइएको कमसल गलैजालाई सस्तोमा किन्ने गरेकाले नेपाली बजारमा समस्या भएपनि विदेशमा नेपाली गलैचाको माग अझै बढेको बताइन् ।‘विदेशका बस्ने नेपालीले टिक्ने गलैचा माग गर्छन्,‘मैले गलैचा बेचेर घरखर्च चलाइरहेको छु’ पुनले भनिन् । पुनले गलैचासँगै झोला सहित अन्य उत्पादन समेत गर्ने गरेकी छन् । उनले मासिक रुपमा गलैचा र झोला लगायतका उत्पादन बिक्री गरेर घरखर्च बाहेक बचत समेत भइरहेको बताइन् । सिप र जाँगर भएकालाई तालिम समेत दिने गरेकी यामकुमारीले तालिम र आवश्यक अन्य कच्चा सामग्री खरिद गरी गोदावारी आमा समुहमा आवद्ध रहेका महिलालाई समेत तालिम दिने गरेकी छन् ।

पुन गोदावारी आमा समुहकी अध्यक्ष समेत हुन् । गलैंचा बुन्नुको सिपप्रतिको आकर्षणले महिला उद्यमी बनेका छन् । गलैंचा बुन्न जानेकाले घरेलु र खेतीपातीको कामबाट बचेको समयलाई सदुपयोग गर्ने गरेको आमा समुहले जनाएको छ ।

म्याग्दीमा महिला उद्यमीले स्थानीय तहले बजेटमा सीपमुलक तालिम सहित उत्पादनलाई प्रोत्साहन गर्ने कार्यमा बजेट विनियोजन गर्न आनकानी गरेकाले आफ्नै सीपबाट उत्पादन गरी बजारमा लैजानुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।

म्याग्दीको मंगला गाउँपालिका–१ भर्जुलाकी ८२ बर्षिया यामकुमारी पुन । तस्वीर : ध्रुवसागर शर्मा / म्याग्दी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?