‘युरोपको शान्तिका लागि नाटो बाधक हो’

Read Time = 3 mins

म्याड्रिड । निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो समय योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) युरोपको शान्तिका लागि बाधक भएको बताउनुभएको छ । सिन्हृवासँगको विशेष अन्तर्वार्तामा उहाँले नाटोको निरन्तर अस्तित्वको अर्थ युरोपमा दिगो शान्ति बहालीका निम्ति बाधक भएको बताउनुभएको हो । ‘इयूको स्थापना अन्तर-युरोपेली द्वन्द्वबाट बच्न भएको हो, इयूका सदस्य राष्ट्रले यो हासिल पनि गरेका छन् तर हामी अमेरिकी सैन्य हस्तक्षेपबाट मुक्त हुन सकेनौं ।’ युरोपेली देशका विदेश नीतिका कारण संयुक्त राज्य अमेरिका र उसका नाटो सहयोगीको सशस्त्र सैन्य हस्तक्षेपप्रति विमति जनाउँदै उहाँले भन्नुभयो ।

नाटो संयुक्त राज्य अमेरिका र पश्चिमी पुँजीवादी गुटको सशस्त्र शाखा बनेको, शीतयुद्धको अन्त्यपछि नाटोले आफूखुशी हस्तक्षेप र बमबारी गर्न थालेपछि युद्ध र क्षेत्रीय द्वन्द्व बढेका, निःशस्त्रीकरण र शान्तिसम्बन्धी विषयमा पैरवी गर्ने बार्सिलोनामा मुख्यालय रहेको स्वतन्त्र अनुसन्धान केन्द्रका विज्ञ ओर्टेगा ठोकुवा गर्छन् । शीत युद्धको अन्त्यपछि नाटोले नयाँ शत्रुहरू खोजिरहेको उहाँले बताउनुभयो ।

नेटोले पूर्वसोभियत संघका नेता मिखाइल गोर्बाचेभलाई रुसको सिमानामा विस्तार नगर्ने वाचा गरेको तर त्यसलाई उसले पूरा नगरेको आर्टेगाको भनाइ छ । सन् १९९० को दशकदेखि नाटोको पूर्वतर्फ विस्तार र यसले रुसमाथि थपेको दबाबका कारण युक्रेन संकट निम्तिएको उहाँ बताउनुहुन्छ ।

ओर्टेगाका अनुसार विस्तारवादी नीतिको अधिकांश देशहरूले विरोध गरिरहेका छन् । विश्वलाई अझ खतरनाक ठाउँ बनाउनु र टकरावतर्फ अघि बढ्नुको सट्टा साझा सुरक्षाको ग्यारेन्टी गर्ने साझेदारीतर्फ अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले संयुक्त राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायले अवलम्बन गर्नुपर्ने बाटो पनि त्यही भएको तर्क गरेका छन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?