समाजसेवी व्यक्तित्व-कृष्णबहादुर भण्डारी

विनोद दाहाल वत्स
Read Time = 23 mins

कृष्णबहादुर भण्डारी उहाँको नाम । म उहाँसँगको पूर्वपरिचित मानिस होइन, कता-कताबाट परिचय भयो । एक साँझ मित्र तिलक लुइँटेल पहेंलो पुलपारि पढाएर फर्किनुभयो, म नागरिक नर्सिङ कलेज गठ्ठाघर भक्तपुरबाट पढाएर फिर्किएँ । हामी दुईको भेटघाट भयो चाबहिल गणेश मन्दिर परिसरमा । त्यस पहिले कृष्ण भण्डारीसँग उहाँले समय लिएर भेटघाटको व्यवस्था मिलाउनु भएको रहेछ । त्यसैले हामी दुई भण्डारी सरको त्यहीँनेरको निवासमा पुग्यौं । धोवी खोला भनेर चिनिने रुद्रमती नदीदेखि वारि चाबहिलतर्फ नै उहाँको निवास रहेछ, हामी दुवैले घर नदेखेकाले उहाँले भनेको लोकेसन (क्षेत्र)मा गएर फोन ग¥यौं । उहाँ घरबाट बाहिर निस्किनुभयो ।

केहीबेर हामीले चिया खाँदै कुराकानी गरेपछि उहाँसँगको अन्तरसंवाद गर्ने विचार आएका कारण मनसाय बुझेर हामी हिँड्यौं । उहाँको सहमति भएपछि मैले घरैबाट प्रश्नहरू बनाएर उहाँको मेलमा राखिदिएँ । उहाँ कम्युटर चलाउन दक्ष हुनुहुँदो रहेछ, अरूसँग भन्दा केही सजिलो गरी अन्तरसंवाद गरियो ।

उहाँ विसं २०१७ साल मंसिर ९ गते बिहीबार गोरखामा जन्मिनु भएको हो । पिताको बलबहादुर भण्डारी र माता तीर्थकुमारी भण्डारीका छोरा हुनुहुन्छ । हाल उहाँका मातापिता दुवैको निधन भइसकेको छ भने दाजुभाइमा एक्लो हुनुहुन्छ र सन्तानमा जेठो । उहाँका बहिनीहरू भने सीता रिजाल, प्रभा अधिकारी, पम्फा कुवँर र लक्ष्मी पाण्डे हुनुहुन्छ । उहाँले विदेशी नियोगमा रहेर काम गर्नुभयो तर हाल सेवानिवृत्त भर्ई सामाजिक कार्यमा संलग्न रहँदै आउनु भएको छ ।

उहाँलाई जागिर अवधिभर खटिएको क्षेत्रमा प्रायः गरी प्रमुखको हैसियतले काम गर्ने अवसर प्राप्त भयो । कार्यप्रकृति, सामाजिक, आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने खालका थिए, उहाँले पनि त्यसै गर्नुभयो । पछिल्लो चरणमा नीति निर्माण तहमा रहेर पनि उहाँले काम गर्नुभयो ।

उहाँको दुलेगौँडा, तनहुँकी शान्ति थापासँग विवाह भयो । हाल उहाँका ससुरालीहरू पोखरामा बस्तै आउनुभएको छ । भण्डारी दम्पतीका एक छोरा र एक छोरी हुनुहुन्छ । छोरा डा.कृशान्त भण्डारी, छोरी डा.कृति भण्डारी र बुहारी डा.शुभेच्छा महत भण्डारी तीनैजना चिकित्सा सेवामै कार्यरत हुनुहुन्छ । उहाँको एकजना नाति कृश्विन भण्डारी छन् ।

भण्डारीले नेपालका करिब ७० वटा जिल्लाको भ्रमण गर्नुभएको छ । उहाँले भारत, पाकिस्तान, थाइल्याण्ड, मलेसिया, इण्डोनेसिया, बेलायतलगायत युरोपका केही देश, दक्षिण अफ्रिका, युएई, कतारलगायत भ्रमण गर्नुभएको छ । उहाँले प्राथमिक तह गोरखा, चितवन तथा माध्यमिक तह गोरखामा पढ्नुभयो । उच्च शिक्षा लमजुङ, चितवन तथा नेपालबाहिर पाकिस्तान, थाइल्याण्डलगायतबाट हासिल गर्नुभयो । उहाँको उच्च शिक्षाको अध्ययनको विषय कृषि हो ।

पुनः पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान/पाटन अस्पताल, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थालगायतमा रहेर काम गर्नुभयो । विसं २०३६ सालदेखि सेवा प्रवेश गरी २०७६ सालसम्म अनवरत सेवा गर्नुभयो । ४० वर्षको यो लामो सेवाअवधिपछि जब २०७६ सालमा सेवानिवृत्त हुनुभयो त्यसपछि भने समाजसेवाका काममा संलग्न हुनुहुन्छ । उहाँ नेपाली, अंग्रेजी, हिन्दीलगायत भाषामा कुशलतापूर्वक संवाद गर्न सक्नुहुन्छ ।

भण्डारी आफू सामान्य परिवारमा जन्मे-हुर्केको बताउनु हुन्छ । नेपाल सरकारमा पाँच वर्ष, विनरोक इन्टरनेसनलमा साढे दुई वर्ष, युएसएआइडीमा साढे दुई वर्ष, युएमएन नेपालमा दुई वर्ष, युएनडिपी नेपालमा १३ वर्ष, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान÷पाटन अस्पतालमा नौ वर्ष, लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थामा दुई वर्ष सेवा गर्नुभयो भने हाल सेवा निवृत्त हुनुहुन्छ ।

४० वर्षको लामो समय सेवामा छँदा के कस्ता काम गर्नुभयो त ? भनेर सोध्दा उहाँले आफूले गरेका कामहरूका बारेमा बताउनुभयो । उहाँले नेपाल सरकारको भू तथा जलाधार संरक्षण विभागअन्तर्गत सहायक प्राविधिक (साइट इन्चार्ज)को पदीय जिम्मेवारीमा रही कुलेखानी जलाधार क्षेत्रमा कृषि, वन र इन्जिनियरिङ प्रविधि प्रयोग गरी भूसंरक्षण प्रकृतिका कार्य गर्नुभएको रहेछ ।

पुरानो शिक्षा प्रणालीमा नैतिक शिक्षालाई जोड दिइएको थियो तर हाल शिक्षा व्यावसायिक बन्दै गएको छ । त्यसैले नयाँ पुस्तामा नैतिक र आनुशासनमा समेत समस्या छ । जसले गर्दा हामीलाई अघि बढ्न अवरोध पु¥याएको हो कि भन्ने उहाँलाई लाग्छ ।

विनरोक इन्टरनेसनल : युएसएआइडीको सहयोगमा विनरोक इन्टरनेसनलमार्फत नेपाल कृषि अनुसन्धान परिषद्मा रही कृषि वनविज्ञको पदीय जिम्मेवारीमा रही कृषि वनसम्बन्धी अनुसन्धानका कामहरू गर्नुभएको रहेछ । भण्डारीले युएसएआइडीको सहयोगको कार्यक्रमअन्तर्गत क्लर्क एट्लान्टा युनिभर्सिटी र निड्स् एनजिओको सहकार्यमा आयोजना संयोजकको पदीय जिम्मेवारीमा रही स्थानीय निकाय सुदृढीकरण आयोजना क्षेत्र गोरखा, दाङ र सिरहामा कार्यक्रम सञ्चालन गर्नुभयो । युएमएन नेपाल, कृषि वन विज्ञको हैसियतले लहरे पिपल प्रजाति नरम जातको काठबाट प्लाइउड उत्पादन गर्ने अभियानमा कृषकको जग्गामा खेती गर्न, सो सम्बन्धी अनुसन्धान कार्य अघि बढाउने कार्यमा संलग्न हुनुभयो ।

युएनडिपी नेपाल जिल्ला विकास सल्लाहाकार/क्षेत्रीय प्रबन्धकको जिम्मेवारीमा रही सहभागितात्मक जिल्ला विकास कार्यक्रम र विकेन्द्रित स्थानीय स्वायत्त शासन कार्यक्रमअन्तर्गत नेपालको मध्यपश्चिम र सुदूरपश्चिम जिल्लामा सहयोग प्रदान गर्नेगरी कार्यक्रम सञ्चालन गर्नुभयो । जिल्लामा सुशासन कायम गर्न र समुदायस्तरमा सामाजिक परिचालनद्वारा आर्थिक विकास कार्यक्रम सञ्चालनमा सहयोग पु¥याउनु भयो ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान/पाटन अस्पतालमा उहाँले रजिस्ट्रारको जिम्मेवारीमा रही स्वास्थ्य विज्ञानसम्बन्धी प्राज्ञिक कार्यक्रम र अस्पतालको प्रशासनिक र आर्थिक कार्य सञ्चालन गर्नुभयो । यसका साथै लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था कन्सल्टेन्ट तथा सल्लाकारको भूमिकामा रही लालीगुराँस डेरी फार्म सञ्चालनमा सहयोग प्रदान गर्नुभयो । भण्डारीले विभिन्न क्षेत्रमा लामो समयसम्म रहेर आर्जन गरेको अनुभव हाल स्वयंसेवी कार्यका माध्यमबाट विभिन्न संघसंस्थामा आबद्ध रही संरक्षक एवं सल्लाहाकारको भूमिका निर्वाह गरेर प्रदान गरिरहनुभएको छ ।

जागिरका क्रममा उहाँले विदेशी नियोगमा रहेर काम गरेको भए तापनि काम चाहिँ नेपालमै रहेर गर्नुभएको हो । लामो समयसम्म धेरै निकायमा रहेर काम गरेको अनुभव छ तर कार्यव्यस्तताले हुनसक्छ पुस्तकहरू भने लेख्नुभएको रहेनछ । अब भने पुस्तक लेख्ने अठोटका साथ लाग्नुभएको रहेछ र म ‘लेख्ने क्रममा छु’ भन्नुहुन्छ ।

उहाँलाई जागिर अवधिभर खटिएको क्षेत्रमा प्रायः गरी प्रमुखको हैसियतले काम गर्ने अवसर प्राप्त भयो । कार्य प्रकृति सामाजिक आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नुपर्ने खालका थिए र उहाँले त्यसै गर्नुभयो । पछिल्लो चरणमा नीति निर्माण तहमा रहेर पनि उहाँले काम गर्नुभयो । अनुभव र उमेरको परिपक्कता अनुसार जिम्मेवारी बढ्दै गएको उहाँको भनाइबाट जानकारी प्राप्त गर्न सकिन्छ ।

सामाजिक आर्थिक विकासका कार्यक्रम सञ्चालन गर्नाले समुदायलाई प्रत्यक्ष फाइदा पुग्न गयो । विकास अनुसन्धानसम्बन्धी कार्यले प्रविधिको विकास भई समुदायलाई उद्यमशीलता हासिल गर्न टेवा पुग्न गयो । नीति निर्माण तहमा विशेषगरी स्वास्थ्य विज्ञानको प्राज्ञिक तहमा संस्थानुकूल नीति बनाई कार्यक्रम सञ्चालन र अस्पताललाई स्वनिर्भर गराउन उपयुक्त नीति तय गरी कार्यान्वयन समेत गरियो जसबाट जनस्तरलाई नै फाइदा पुग्न गएको विचार व्यक्त गर्नुहुन्छ ।

ती संस्थाहरूमा रहँदा उहाँको योगदान र भूमिका कस्तो रहेको थियो त ? मेरो प्रश्न थियो यो । ‘केही संस्थाहरूमा विदेशी सुपरभाइजरसँग काम गर्दाको अवस्थामा उनीहरूको कार्यशैली नेपालीको भन्दा फरक पाएँ । उनीहरूको चाहनालाई बुझी काम गर्ने मेरो आफ्नो कार्यशैली रहेका कारणले रमाइलोकासाथ इमानदारीपूर्वक जम्मेवारी निर्वाह गरियो’ उहाँ भन्नुहुन्छ ।

विदेशीहरू काममा बढी समर्पित रहन्छन् । त्यसैले उनीहरूले हाम्रोभन्दा बढी उन्नति गर्न सकेका हुन् कि ? भन्ने मेरो प्रश्नमा उहाँले ‘यो भनाइसँग मसहमत छु’ भन्ने छोटो जवाफका साथ सहमति जनाउनुभयो । यसबाट विदेशीहरू कामप्रति हामीभन्दा बढी नै समर्पित हुनेगरेको र बढी नै उन्नति गर्न सकेको कुरा यथार्थ रहेछ भन्ने प्रमाणित हुन पुगेको छ ।

धर्म, संस्कार, संस्कृति, भाषा आदि विभिन्न कुरामा हामी सम्पन्न छौं । यी हाम्रा प्राच्य सम्पदा हाम्रा पहिचान हुन् तैपनि हामी पश्चिमाहरूभन्दा पछि छौं । हामी पछि पर्नुका के कस्ता कारण पाउनु भएको छ भनेर प्रश्न गर्दा उहाँ सकारात्मक सोच व्यवहारमा लागू हुन नसकेकाले यसो भएको भन्नुहुन्छ । व्यावहारिक शिक्षाको कमीकाले पनि यसो हुनगएको भन्ने उहाँलाई लाग्छ । वास्तवमा मानिसको जीवनमा व्यावहरिक र नैतिक शिक्षाको ठूलो महत्व रहेको छ ।

पुरानो शिक्षा प्रणालीमा नैतिक शिक्षालाई जोड दिइएको थियो तर हाल शिक्षा व्यावसायिक बन्दै गएको छ । नयाँ पुस्तामा नैतिक र आनुशासनमा समस्या छ । जसले गर्दा हामीलाई अघि बढ्नबाट यसले पनि अवरोध पु¥याएको हो कि भन्ने उहाँलाई लाग्छ । अधिक राजनीतिक गतिविधिले पो हाम्रो देशको विकास हुन नसकेको हो कि ? भन्ने मेरो प्रश्न हो । उहाँ मुलुकमा थुप्रै राजनीतिक क्रान्ति भए तर सामाजिक, आर्थिक र समृद्धिका नारा क्रान्तिमा बदलिएन’ भन्ने आफ्नो विचार व्यक्त गर्नुहुन्छ ।

उहाँले जागीरबाट अनिवार्य अवकाश भएपछि दुई कार्यकाल नेपाल सरकारबाट राजनीतिक नियुक्ति लिई कार्य गरिसक्नु भएको छ । अब कृषिसम्बन्धी व्यवसाय गर्ने उहाँका योजना छन् । विचारले प्रगतिशीलता मन पराउनुहुन्छ तर आफैं प्रत्यक्ष संलग्न रहेर राजनीतितिर लाग्ने सोच भने राख्नुभएको छैन ? उहाँ हेड्स नेपाल नामको समाजसेवी संस्थामा चाहिँ कसरी संलग्न हुनुभयो त ? हेड्स नेपालको उद्गमस्थल गोरखाको बगुवा उहाँको जन्मगाउँबाट नजिक पर्छ । हेड्स नेपालको संस्थापक सदस्य प्रतापराज वन्त उहाँका बाल्यकालका मित्र हुनुहुन्छ । वन्तकै कार्यबाट प्रभावित भई हेड्ससँग आफू जोडिन पुगेको हुँ भन्नुहुन्छ भण्डारी ।

यसबाहेक अरू पनि विभिन्न संघसंस्थामा संलग्न हुनुहुन्छ । नेपालमा रहेका विदेशी नियोगमा जागिर खाने र विदेशी पैसामा तलब लिनेहरूको सम्मान भएको महसुस पनि गर्नुभयो तर विदेशी नियोगमा रहेर काम गरे पनि नेपालमै रहेर नेपालकै लागि काम गरेको हँुदा खासै त्यस्तो अनुभूति भएन भन्नुहुन्छ ।

मैले उहाँ एकजना सचेत व्यक्ति भएका नाताले राजनीतिक प्रश्न पनि गरेँ ‘सरकारलाई राजनीतिक सुधारका लागि केही सुझाब छन् कि ?’ भनेर । अधिकांश नेपालीले भने जसरी नै ‘प्रदेश संरचनाको औचित्य सावित भएको छैन’ भन्नुहुन्छ । कार्यकारी राष्ट्रपति वा प्रधानमन्त्री प्रत्यक्ष निर्वाचनबाट चुनिनुपर्छ भन्ने उहाँको धारणा छ । यति भनिसकेपछि उहाँका धारणामा अरूको सहमति वा असहमति जे भए पनि राजनीतिमा रुचि राख्ने र आफ्नो प्रष्ट धारणा बनाउने मानिस चाहिँ हुनुहुँदो रहेछ भन्ने प्रष्ट हुन्छ ।

यसैगरी शिक्षासम्बन्धी स्पष्ट धारणा रहेको पाइयो, शैक्षिक सुधारका लागि उहाँसँग मैले सुझाब मागेँ । शिक्षा र स्वास्थ्यको जिम्मा राज्यले लिई त्यसलाई गुणस्तरीय बनाउनुपर्दछ भन्नुभयो । उहाँले लामो समयसम्म सेवा गर्नुभयो, पक्कै केही न केही मान सम्मान र पुरस्कारहरू पाउनुभएको होला ? मैले प्रश्न गरेँ । उहाँले कृषि विश्वविद्यालय फैसलावाद पाकिस्तानमा कृषिमा स्नातक तहको पढाइ पूरा गरी आपूmले रजत पदक हासिल गरेको संस्मरण गर्नुभयो । हालका दिनमा त पुरस्कारको महत्व घटेको जस्तो देखिन्छ । उहाँ पनि यस कुरामा सहमत हुनुहुन्छ ।

जीवनलाई यात्रा ठानेर आफूले गरेको यात्रालाई पछाडि फर्केर हेर्दा आफू कहाँ आइपुगेको जस्तो ठान्नुहुन्छ ? प्रश्न सोधेँ । गाउँको सामान्य परिवारमा जन्मेर विदेशबाट स्नातकोत्तर तहसम्मको शिक्षा हासिल गरी नेपालमा करिब एक दशक विशिष्ट श्रेणीको जिम्मेवारी सफलपूर्वक निर्वाह गरेकोमा गर्व लाग्छ भन्ने जवाफ उहाँको पाइयो ।

हाम्रो यस भूमिको विकासका लागि बाहिरबाट आएर कसैले केही गरिँदिँदैन, त्यसैले आफ्नै भूमिमा पसिना पोख्नुपर्छ र यही भूमिका लागि बलिदानी दिन तयार रहनुपर्छ भन्नुहुन्छ । उहाँको यो सन्देश विदेश जानका लागि हुरुक्क हुने नयाँ पुस्ताप्रति लक्षित छ ।

अहिलेको नयाँ पुस्ता अत्यन्त अनुशासनहीन र अग्रजप्रति प्रतिशोध राख्ने किसिमले आइरहेको छ भनेर मैले यससम्बन्धी उहाँको धारणा जान्न चाहेँ तर यसमा भने मेरो धारणासँग सहमति राख्नु भएन । छोटोमा ‘मलाई त्यस्तो लाग्दैन’ भन्नुभयो, ‘सम्भवतः आफ्ना अनुशासित छोराछोरीलाई हेरेर उहाँले यस्तो विचार व्यक्त गर्नुभएको हुनसक्छ । यदि त्यस्तो भए युवाहरूलाई विश्वास गरेर तिनलाई सुधार्न सकिन्छ’ भन्नुहुन्छ । उहाँका यस प्रकारका जबाफबाट उहाँको शालीनता प्रष्ट रूपमा झल्किन्छ ।

पश्चिमीहरूको प्रभावबाट हाम्रो धर्म, शिक्षा, भाषा, भेष, संस्कार, संस्कृति सबै बिस्तारै समाप्त हुँदै गएको छ । हामी बिस्तारै हाम्रो आफ्नोपन बिर्सिंदै गइरहेका छौं । त्यसैले यसप्रति उहाँको प्रतिक्रिया मैले जान्न चाहेँ । ‘हाम्रो पहिचान गुम्न लागेकोमा हामी त्यसमा सजग रहनुपर्दछ’ भन्नुभयो र अब हामी सचेत हुन ढिला भइसक्यो भन्ने तर्क दिनुभयो । यसका लागि हामी सचेत भई बुद्धिमानीपूर्वक अघि बढ्नुपर्दछ उहाँलाई लाग्छ ।

विदेशीहरूको नेपालीहरू प्रतिको दृष्टिकोण चाहिँ कस्तो पाउनु भएको छ त ? ‘विदेशीहरूको नेपालीहरूप्रतिको दृष्टिकोण मिश्रित खालको छ’ उहाँले अरू प्रश्नकै जसरी यस प्रश्नको जवाफ छोटोमै दिनुभयो । सबै विदेशीले हामीप्रति एकै खालको धारणा नबनाई कसैले नेपालीलाई राम्रा मानिस हुन् भन्ने ठानेका हुँँदारहेछन् भने कसैले नराम्रो ठानेका हुनेरहेछन् भनेर उहाँको भनाइबाट अन्दाज गर्न सकियो ।

अर्थात् बुझेसम्म मिश्रित दृष्टिकोण भन्नाले चाहिँ कोही नेपाल र नेपालीलाई असाध्यै सकारात्मक दृष्टिले हेर्ने कोही कोहीले नकारात्मक दृष्टिले हेर्ने र कोहीले सामान्यतया राम्रै मान्ने गरेका छन् भन्ने उहाँलाई लागेको हुनसक्छ भन्ने धारणा मैले बनाएँ । हाम्रो कुराकानीको अन्त्यमा मैले नयाँ पुस्तालाई केही सन्देश दिनका लागि उहाँलाई आग्रह गरेँ । उहाँ हाम्रो यस भूमिको विकासका लागि बाहिरबाट आएर कसैले केही गरिँदिँदैन, त्यसैले आफ्नै भूमिमा पसिना पोख्नुपर्छ र यही भूमिका लागि बलिदानी दिन तयार रहनुपर्छ भन्ने सन्देश दिनुहुन्छ । उहाँको यो सन्देश विदेश जानका लागि हुरुक्क हुने नयाँ पुस्ताप्रति लक्षित छ ।

भण्डारीमा आफ्नो सेवानिवृत्त जीवनमा धेरै योजना छन् । कुनै कृषिसम्बन्धी योजना छन् भने कुनै शिक्षासम्बन्धी योजना छन् । स्वास्थ्य क्षेत्रमा रहेर लामो समय काम गर्नुभएका कारण उहाँका कतिपय योजाना स्वास्थ्यसम्बन्धी पनि छन् । समाजसेवासम्बन्धी उहाँले विभिन्न योजना बनाउनु भएको छ । उहाँका यी सबै योजना पूरा हुन सकून्, सफलताको शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?