प्रगतिवादी साहित्य क्षेत्रमा भण्डारीको विशेष योगदान : ओली

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अर्धवार्षिक साहित्यिक पत्रिका ‘शार्दूृल’को अंक ६ लोकार्पण गरिएको छ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी कला-साहित्य प्रतिष्ठानद्वारा प्रकाशित वैचारिक सिर्जनाको संवाहक अर्धवार्षिक साहित्यिक पत्रिका ‘शार्दूृल’को लोकार्पण गर्नुभएको हो ।

ओलीले जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीका सन्दर्भमा प्रतिष्ठानद्वारा आयोजित उक्त समारोहमा नेपाली प्रगतिवादी साहित्यका क्षेत्रमा मदन भण्डारीको विशेष योगदान रहेको बताउनुभयो । ‘जसरी राजनीतिमा मदनको अद्वितीय योगदान रहेको छ, त्यत्तिको योगदान साहित्यमा त रहन पाएन तथापि जनतालाई जागरुक गर्ने, प्रेरित गर्ने सन्दर्भमा मदनका सिर्जनाको विशेष योगदान रहेको छ’, उहाँले भन्नुभयो । ओलीले ‘शार्दूल’ पत्रिकाको प्रशंसा गर्दै निरन्तरताको कामना गर्नुभयो ।

समारोहमा नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वउपकुलपति डा.जगमान गुरुङले मदन भण्डारी कला-साहित्य प्रतिष्ठानले सार्थक कार्यक्रम आयोजना गर्ने गरेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘आजको कार्यक्रम पनि सान्दर्भिक छ ।’ उहाँले केपी शर्मा ओलीलाई प्राज्ञिक नेताका रूपले आफूले पाएको धारणा व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष डा.विजय सुब्बाले जननेता मदन भण्डारीको ७२औं जन्मजयन्तीका सन्दर्भ पारेर आयोजना गरिएको कार्यक्रमले मदनको ओझेल परेको साहित्यिक व्यक्तित्वबारे प्रकाश पार्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले प्रतिष्ठानद्वारा यसअघि ‘हिमवत्खण्ड कला–साहित्य सम्मिलन’ आयोजना गरिएको उल्लेख गर्दै निकट भविष्यमा ‘हिमवत्खण्ड सांस्कृतिक सम्मिलन’ आयोजना गर्ने तयारी थालिएको जानकारी गराउनुभयो ।

समारोहमा प्राडा. रमेशप्रसाद भट्टराईले ‘मदन भण्डारीको व्यक्तित्व, कृतित्व र योगदान’ विषयमा प्रवचन दिनुभएको थियो । उहाँले नेपाली राजनीतिमा विशिष्ट योगदान दिनुभएका मदन भण्डारीले साहित्यका क्षेत्रमा पनि उल्लेखनीय योगदान दिनुभएको चर्चा गर्नुभयो ।

प्रतिष्ठानका सचिवालय सदस्य तथा ‘शार्दूल’ पत्रिकाका सम्पादक शशी लुमुम्बूले पत्रिकाका विषयमा प्रकाश पार्नुभएको थियो । शार्दूलमा शशी लुमुम्बू, फूलमान वल र जयन्ता पोखरेल सम्पादक रहनुभएको छ । ‘शार्दूृल’को अंक ६ मा विभिन्न लेखकका सिर्जना समावेश गरिएका छन् ।

समारोहमा कवि यशोदा अधिकारीले मदन भण्डारीको एक कविता वाचन गर्नुभएको थियो भने राष्ट्रिय जनसांस्कृतिक महासंघका कलाकारहरूले भण्डारीका चार कवितामा नाटक प्रस्तुत गरेका थिए । उक्त सत्रको सञ्चालन प्रतिष्ठानका सचिवालय सदस्य अशोक राईले गर्नुभएको थियो ।

समारोहमा एमालेका उपमहासचिव तथा साहित्यकार प्रदीप ज्ञवाली, पूर्वराजदूत तथा मदन भण्डारी फाउण्डेशनका अध्यक्ष महेन्द्रबहादुर पाण्डे, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति गंगाप्रसाद उप्रेती, नेपाल लकलितकला प्रज्ञा-प्रतिष्ठानका पूर्वकुलपति केके कर्माचार्य, राष्ट्रिय जनसांस्कृतिक महासंघका अध्यक्ष प्रेमनाथ अधिकारी, नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वसदस्य सचिव प्रा.जगत्प्रसाद उपाध्याय, प्राडा. हेमनाथ पौडेल, सांसद सुनिता बराल, नेता गुरु बराललगायतको उपस्थिति थियो । कार्यक्रमको सहजीकरण प्रतिष्ठानका महासचिव हरिप्रसाद भण्डारीले गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?