जुम्लामा ठूली भैली खेल्न सुरु

विजय रावत जुम्ला, संवाददाता
Read Time = 3 mins

जुम्ला । जुम्लालगायत माथिल्लो कर्णालीका जिल्लामा ठूली भैली खेल्न सुरु भएको छ । स्थानीय परम्पराअनुसार चलिरहेको संस्कृतिलाई बचाउनका लागि जुम्ला सदरमुकाम खलंगादेखि गाउँघरमा समेत ठूली भैली खेल्ने चलन रही आएको छ । औँसीको भोलिपल्टदेखि ठूली भैलो खेल्न सुरु भएको चन्दननाथ नगरपालिका– १ का संस्कृतसम्बन्धी जानकार रमानन्द आचार्यले बताउनुभयो । जुम्ला राज्यका संस्थापक राजा बलिराज शाहीको पालादेखि जिल्लामा भैलो खेल्ने चलनको सुरुवात भएको मानिन्छ ।

बडाहाकिमले भैलेरा र भैलेरीलाई चार/चार पैसा दिने चलन रहेको संस्कृतसम्बन्धी जानकार आचार्यले जानकारी दिनुभयो । चन्दननाथ भैरवनाथ मन्दिरबाट भैलोको प्रसाद लिएपछि अन्य गाउँमा भैलो खेल्ने चलन रहेको यहाँका जानकार बताउँछन् । ठूली भैलो सुरु भएको दिनदेखि गाउँ घरमा गएर भैलो खेल्न सुरु भएको तिला गाउँपालिका– १ का स्थानीयवासी कोलबहादुर रावतले बताउनुभयो । हिउँदे याममा ठूली भैलो खेल्न जाडोले सकस हुने गरेको छ ।

स्थानीयवासी रावतले भन्नुभयो, ‘हाम्रो संस्कृतिलाई बचाउन स्थानीय सरकारले पनि काम गरेको छ । तिला गाउँपालिका पाँचवटा गाउँमै पुगेर ठूली भैलो खेलेको स्थानीयवासी रावतको भनाइ छ ।’ पछिल्लो समयमा आधुनिक परिवेशअनुसार विस्तारै त्यो चलन हराउँदै गएको स्थानीयवासी हिमाल कार्कीले बताउनुभयो ।

ठूली भैलो सुरु भएको दिनदेखि अन्तिम दिनसम्म गाउँमा गएका पाहुनालाई भैलो छोप्ने चलन पनि रहेको छ । जिल्लामा स्थानीय परम्पराको मान्यता बोकेको भैलोले सामाजिक सद्भाव कायम गर्न नसकेका कारण यो चलन विलय हुन पुगेको जुम्लाका स्थानीयवासी बताउँछन् । केही वर्षबाट कर्णाली राजमार्गमा समेत भैली खेलेर सवारी साधनका चालकलाई पैसा माग्न गरेका छन् । मंसिर शुक्ल पूर्णिमाको दिनदेखि जिल्लामा सानो भैलो खेल्न गरेका छन् । स्थानीय कला, संस्कृतिलाई संरक्षणका लागि पालिकाले बजेटसमेत विनियोजित गरिएको सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?