पुतलीबजार नगरपालिकाले सुरु गर्‍यो विद्युतीय घरजग्गा नक्सा पास

युवराज पौडेल स्याङ्जा, संवाददाता
Read Time = 4 mins

स्याङ्जा । पुतलीबजार नगरपालिकाले घर नक्सा पास गर्ने परम्परागत विधिलाई त्याग गर्दै विद्युतीय घर नक्सा पास सेवा प्रणाली सुरु गरेको छ । पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मीले १४ वटै वडाका वडाध्यक्ष तथा सम्बन्धित वडाका सचिव र सरोकारवालाहरुका बिचमा सोमबार नगरपालिकाको सभाहलमा उक्त कार्यक्रमको उद्घाटन गर्नुभएको छ ।

पुतलीबजार नगरपालिकाको आयोजनामा तथा नवप्रवर्तन साझेदारी कोष कार्यक्रम अन्तर्गत आयोजित उक्त विद्युतीय घर नक्सा पास प्रणालीसम्बन्धी चार दिने तालिम तथा अभीमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख रेग्मीले जनतालाई घर नक्सा पास गर्दा भएका विभिन्न झन्झट र समस्याहरुलाई बुझेर यसलाई व्यवस्थित गर्दै विद्युतीय घरनक्सा प्रणालीको सुरुवात गरिएको बताउनुभयो । ‘तपाईंहरुको वडाभित्र बनेका घरलाई अभिलेखीकरण गर्नका लागि सूचना प्रवाह गरिदिनोस्, अब हामीले नयाँ विद्युतीय प्रणाली सुरु गर्‍यौं । यसबाट जनताले अहिलेका जस्तो नगरपालिकामा धाएर दुःख पाउनुपर्दैन ।’ प्रमुख रेग्मीले बताउनुभयो ।

कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै पुतलीबजार नगरपालिका उपप्रमुख देवी अर्यालले घर नक्सा पासका लागि एउटा घरधनी २० औँ पटक वडा र पालिका धाउनुपर्ने स्थितिको अन्त्य गर्न आवश्यक देखिएकाले यस सम्बन्धी व्यवस्था गरिएको बताउनुभयो ।

नगरपालिकाका घर जग्गा नक्सा पास शाखाका प्रमुख ताराचन्द्र ढकालले घर नक्सा नाप जाँचको नयाँ अनलाइन व्यवस्था केवल घर नक्सा नाप पास शाखाको जिम्मेवारी रहे पनि यसका बारेमा सबै नागरिक तथा सर्वसाधारण जनता र कार्यालयका सबै कर्मचारीलाई पनि थाहा हुनुपर्ने विषय रहेको बताउनुभयो ।

विभिन्न वडाध्यक्षहरु तथा सचिवहरुले घर नक्सा पासका कानुनी समस्या तथा व्यावहारिक झन्झटका विभिन्न अनुभवहरु सुनाउँदै अभिमुखीकरणमा सुझावहरु सुनाउनुभएको थियो । कार्यक्रममा पुतलीबजार नगरपालिकाका प्रशासकीय अधिकृत हरिराम नागिला, शिक्षा शाखा प्रमुख बाबुराम बराल, पत्रकार महासंघकी उपाध्यक्ष भवानी अधिकारीलगायतको उपस्थिति रहेको थियो ।

नगरपालिकाका इन्जिनियर तथा कार्यक्रमका सञ्चालक ई. अरुण पौडेलले विद्युतीय घरनक्सा सेवा प्रणालीका विभिन्न पक्षहरुका बारेमा बताउँदै घर नक्सा पासलाई अनलाईनबाट व्यवस्थित गर्दा घरधनीलाई छिटो र कम दुःखमा काम हुने भएकाले यसको व्यवस्था गर्न खोजिएको भन्नुभयो ।

चार दिनसम्म चल्ने उक्त अभिमुखीकरणमा ठेकेदार, कन्सल्टेन्सी तथा अन्य सरोकारवालाहरुलाई बोलाएर यस विद्युतीय सफ्टवेयर सम्बन्धी जानकारी दिने तथा अन्तक्रियाका सुझावहरूलाई मनन गरेर अगाडि बढ्ने नगरपालिका ईन्जिनियर अरुण पौडेलले जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?