बाढीपहिरोबाट हुने धनजनको क्षति न्यूनिकरण गर्न सांसदको माग

रासस
Read Time = 3 mins

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले बाढीपहिरोबाट हुने जनधनको क्षति न्यूनिकरणका गर्नेदेखि सुर्खेतमा खानेपानी अभावले जनता प्रभावित भएकालगायतका विषयमा सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

आजको बैठकको शून्य समयमा सांसद गोमादेवी तिमिल्सिनाले देशका विभिन्न ठाउँमा बाढीपहिरोका कारण जनधनको ठूलो क्षति भएको भन्दै मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरोका कारण जनताले दुःख पाएको भएकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यसको स्थायी समाधानका लागि सरकारसँग आग्रह गर्नुभयो ।

सांसद तुलप्रसाद विश्वकर्माले जुम्लाको मुकुन्द नेपाली र बसन्ती देवीबीचको प्रेम विवाहलाई लिएर उनका दाजुले मुकुन्दको घरमा आगजनी गरेको, दाङ घोराहीमा दुई विद्यार्थीलाई दलित भन्ने थाहा भएपछि घरबाट निकालिएको र बाँकेमा धनकली सुनारलाई छिमेकी भुवन बुढाले सामान्य विवादमा हातपात गर्ने कामप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

सांसद दुर्गा गुरुङले कर्णाली प्रदेशको सुर्खेत उपत्यकाका जनताले पानी खान नपाएकाले जनजीवन कष्टकार बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराउँदै र त्यसमा पानी परियोजना तत्काल अघि बढाउन सरकारसँग आग्रह गर्नुभयो ।

सांसद नारायणदत्त मिश्रले समयमै मलको पर्याप्त व्यवस्था नहुँदा किसानहरु प्रभावित भएको र कैलालीमा पानी नपर्दा जनता मर्माहत भएकोप्रति सरकारलाई जानकारी गराउनुभयो ।

सांसद नारायणप्रसाद दाहालले असार १५ पछि किसानको धान रोप्ने चटारो हुनुपर्ने अवस्थामा धेरै स्थानमा पानी अभावका कारण धान रोप्न नपाएको उल्लेख गर्दै चितवनका जनताले पनि पानी अभावका कारण धान रोप्न नपाएको बताउनुभयो ।

सांसद मदनकुमारी शाहले देश निर्माण गर्नका लागि अर्थतन्त्र बलियो बनाउनुपर्ने र त्यसका लागि सबैको ध्यान दिनुपर्नेमा जोड दिनुभयो । सांसद सुरेशकुमार आलेमगरले राष्ट्रिय तथ्याङ्क कार्यालयले २०७८ को जनगणनामा पुनलाई मगरबाट र मालीलाई नेवारबाट लगत बनाएर छुट्टै जाति बनाएकोप्रति गम्भीर ध्यानाकर्षण गराउँदै तत्काल सच्चयाउन माग गर्नुभयो । शून्य समयमा सांसद भुवनबहादुर सुनुवारले निजामतीमा दलितका लागि छुट्याइएको आरक्षणका विषय उठान गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?