किसानका लागि केही सस्तो र सजिलो साधन बन्दै हाते ट्याक्टर

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । असारको अन्तिम साता सुरु भएपछि म्याग्दीका ग्रामीण भेगमा खेतका फाँटैभरी रोपाइँको माचो छ । रोपाइँमा व्यस्त किसानहरु हलो,जुवा र गोरुको ठाउँमा हाते ट्याक्टर प्रयोग गरिरहेका छन् । कृषिमा यान्त्रिकीकरणले सजिलो भए पनि रौनक भने हराउँदै गएको छ ।

विगतमा हलगोरु पालेर खेतीको काम गर्दै यहाँका किसान पछिल्ला वर्षमा ट्र्याक्टर, थ्रेसर, जस्ता कृषियन्त्रको प्रयोग गरेर खेती गरिरहेका छन् । कृषियन्त्रको प्रयोगपछि खेती गर्न पहिलेभन्दा सहज भएको भए पनि रैथाने कृषि प्रविधि र पहिलेको जस्तो रमाइलो भने विस्तारै हराउन थालेको बेनी नगरपालिका २ बगरफाँटका किसान क्षेत्रबहादुर कटुवालले बताउनुभयो ।

“गोरुले खेत खनजोत गर्दा लागत खर्च र परिश्रम बढी लाग्थ्यो”, उहाँले भन्नुभयो, “कृषियन्त्रले खेती गर्न निकै सहज भएको छ तर, पहिलेको जस्तो रौनक भने हराएको छ ।”

तर, सोही गाउँका ललितबहादुर कार्की भने गोरु जोतेर खेती गर्दा आफूले बाल्यकालमा गर्नुपरेको कठिन परिश्रमका दिन स्मरण गराउँदै हुनुहुन्थ्यो । उहाँले भन्नुभयो, “उतिबेला गोरु जोतेर कडा मेहनत गरेर खेती गर्नुपर्दा दुःख झेलेका थियौँ, अहिले सबै चिजको सुविधा पुग्दा किसान भाग्यमानी छन् ।”

समय परिवर्तनसँगै पहिलेको भन्दा कृषिकर्म गर्न सहज भइरहे पनि मौसममा देखिने परिवर्तनले निम्त्याउने समस्याबाट भने विभिन्न बाली प्रभावित हुने गरेको उहाँको भनाइ छ ।

“हालको जस्तो मौसमी समस्या भने उहिले थिएन, उतिबेलाको समयमा हिउँदे याममा अहिलेको जस्तो शीतलहर र गर्मीयाममा डुबान र खडेरी देखिने समस्या थिएन ।” उहाँले घरमा रहेका गोरु बेचेर खेत खनजोतमा प्रयोग हुने पावर टिलरसहितको कृषियन्त्र जोड्नुभएको छ ।
कृषिमा यान्त्रीकरणको बढ्दो प्रयोगसँगै किसानले खेती गर्दा गोरु पाल्नुपर्ने बाध्यता विस्तारै हट्न थालेको छ । पहिले कृषियन्त्रको सहज उपलब्धता नहुँदा किसानले खेतीको काम गर्न घरमा गोरु पाल्नुपर्ने बाध्यता थियो ।

कृषियन्त्रको प्रयोगले खेती गर्दा लाग्ने लागत खर्च घटेको, समयको बचत हुने गरेको र कृषितर्फ युवाको आकर्षण पनि बढाउन मद्दत पु¥याएको कृषि प्राविधिकले बताएका छन् । कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देल कृषिमा यान्त्रीकरण दर बर्सेनि बढ्दै गएको बताउनुहुन्छ ।
उहाँले भन्नुभयो, “जिल्लामा वर्षभरिमा विभिन्न कृषिसम्बन्धी कार्यक्रमका नामबाट वार्षिक झण्डै एकहजार थान सानाठूला कृषियन्त्र अनुदानमा कृषक र कृषक समूहलाई उपलब्ध भइरहेको अनुमान छ ।” सरकारका विभिन्न कृषि कार्यक्रमअन्तर्गत कृषकलाई सामान्यतया ५० प्रतिशत अनुदानमा कृषियन्त्र उपकरण उपलब्ध गराउने गरिएको छ ।

कृषियन्त्रको प्रयोग बढ्दा काम गर्न सहज भए पनि चाहिएको बेला रासायनिक मल नपाउने समस्याले भने हैरानी खेप्नुपरेको किसानको भनाइ छ । खेत खनजोत गर्नेदेखि लिएर बाली काट्ने भित्र्याउने काममा प्रयोग हुने ट्र्याक्टर, मिनी टिलर, पावर टिलर, धान काट्ने रिपर, गहुँ दाउने थ्रेसर, काटेको बाली सुकाउने ड्रायरलगायतका कृषियन्त्रको प्रयोग पछिल्ला वर्षमा बढेको छ ।
‘हलो जोत्ने हली, ट्र्याक्टर चलाउने ड्राइभर’ भन्ने भनाइ समाजमा छ । समाजमा हलो जोत्ने भन्दा चालकको बढी मानसम्मान गरिने हुँदा कृषियन्त्र चालाउनमा युवाको आकर्षण पनि बढेको जनाइएको छ ।

नेपालमा अधिकांश नागरिकले अपनाएको कृषि पेसाअन्तर्गत कृषिउपजको उत्पादन गरेर हुने आम्दानीबाट जीविका चलाउने गरेका छन् । कृषकले आफूलाई वर्षभरि आवश्यक पर्ने कृषिउपज घरमै भण्डारण गरी बढी भएको कृषिउपज व्यापारीलाई बिक्री गरेर घर खर्चको आवश्यकता पूरा गर्दै आएका छन् । गण्डकी प्रदेश सरकारले कृषि र पशुपन्छी क्षेत्रको व्यवसायीकरण, आधुनिकीकरण र बजारीकरणलाई मुख्य प्राथमिकता दिँदै आएको छ ।

परम्परागत कृषि प्रणाली हराउँदै जाँदा रोपाइँको रौनक नै हराउँदै गएको पुराना किसानको गुनासो छ । “केही वर्ष अघिसम्म वर्षायाम सुरु भएसँगै हलो,जुवा, हलगोरु, बाउसे र रोपाहार खेतमा हुँदा रोपाइँको चहलपहल रमाइलो रहन्थ्यो अहिले त यस्तो देख्न पनि छाडियो”, मंगला गाउँपालिका रणवाङका हरिकृष्ण पौडेलले बताउनुभयो ।

मेसिनको प्रयोग तथा आधुनिकीकरण र काम गर्ने उमेर समूहका अधिकांश युवा पुस्ता विदेश पलायन भएपछि खेतमा धान रोपाइँका लागि हलोजुवा, हल गोरु र बाउसेको अभाव देखिँदै गएको छ । परम्परागत रुपमा खेती गर्दा लागत मूल्य धेरै नै हुने भएकाले पनि यो हराउँदै गएको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?