भदौ ३० देखि भुटान एयरलाइन्सको उडान

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौंं । थिम्पुमा मुख्यालय रहेको भुटानको पहिलो निजी एयरलाइन्स भुटान एयरलाइन्स (बी-३) ले पुनः उडान सुरु गर्ने घोषणा गरेको छ । उक्त एयरलाइन्सको नेपालस्थित आधिकारिक जनरल सेल्स एजेन्ट (जिएसए) सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेस (आरआर ग्रुप अफ कम्पनीको भगिनी संस्था) ले उक्त जानकारी दिएको हो । उडान भदौ ३० गतेदेखि आइतबार, सोमबार, बुधबार र शनिबार गरी साप्ताहिक रूपमा चार उडान हुने एयरलाइन्सले जनाएको छ । उडानहरूले पारो-काठमाडौं-दिल्लीलाई दुईतर्फी रूपमा जोड्नेछन् । निर्धारित उडान पुनः सुचारु गरेसँगै भुटान एयरलाइन्सले विश्वव्यापी कोरोनाका कारण रोकिएको काठमाडौंका उडान पुनः सुचारु हुने भएको हो ।

‘थन्डर ड्रागनको भूमि’ भनेर चिनिने भुटानले पर्यटन प्रवद्र्धन गर्ने र नेपाल भुटान सम्बन्धलाई सुदृढ गर्ने प्रतिबद्धताअनुरूप सन् २०१३ बाट भुटान एयरलाइन्सले आफ्नो पहिलो काठमाडौं उडान सुरु गरेको थियो ।

भुटान एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत पेमा नाडिकले भन्नुभयो, ‘एक निजी एयरलाइन्स भएका कारण हामीले कोरोना समयमा उडान रद्द गर्ने वा रिरुट गर्ने जस्ता कठिन निर्णय लिनुपर्ने जस्ता चुनौती सामना गर्नुपरेको थियो । यसले अवश्य पनि हाम्रा ग्राहकलाई असुविधा भएको थियो । यिनै कुरा मध्यनजर गर्दै यसपटक भने हामी उडान तालिका नियमित राख्न प्रतिबद्ध छौँ । हामी हाम्रा सम्पूर्ण ग्राहकलाई यो विश्वास दिलाउन चाहन्छौँ कि हामी जस्तोसुकै चुनौतीपूर्ण समयमा पनि उडान अब नियमित राख्नेछौँ र विश्वसनीय वायुसेवाका रूपमा स्थापित गराउनेछौँ ।’

सोसाइटी इन्टरनेसनल ट्राभल सर्भिसेजका चेयरम्यान रविचन्द्र सिंहले भन्नुभयो, ‘भुटान एयरलाइन्सको उडान पुनः सुरु भएकोमा हामी अत्यन्तै उत्साहित छौँ । यस नयाँ सुरुवातसाथ दुवै देशका पर्यटकलाई थप सहज हुनेछ र यसले पर्यटन उद्योगलाई थप प्रवद्र्धन गर्नेछ भन्ने कुरामा हामी आशावादी छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?