मान्छेको परिभाषा र प्रवृत्ति !

Read Time = 14 mins

गत असार २३ गते ५५औं वर्षमा प्रवेश गरेँ । सामाजिक सञ्जालमा जोडिएका मित्रहरूको शुभकामनाका शब्दहरू सञ्जालहरूमै ओइरिए । मान्यजन, प्रियजन र शुभचिन्तकहरूले दिएका असल कामनाहरूले ज्यादै खुसी बनाए । फेसबुक, भाइबर, मोबाइल फोन आदि मार्फत र भेटेरै सुस्वास्थ्य, दीर्घायु र उत्तरोत्तर प्रगतिका शुभेच्छाहरूले मेरो आयु तोकिएको भन्दा केही बढ्यो भन्ने अनुभूति गराए । आफूलाई बारम्बार गुन लगाएका, आफूले गुन लगाएका, आफूलाई कहिल्यै गुन नलगाएका र आफूले कहिल्यै गुन लगाउने अवसर नपाएका सबैखालेबाट शुभकामना प्राप्त गर्दैगर्दा मान्छेहरूका अनेक प्रकारका चरित्रहरू मानसपटलमा प्रवेश गरे ।

मान्छेको बोलीले नै मान्छेलाई खुसी गराउने रहेछ र बोलीले नै निराश पनि । त्यसैले सबैको बोली मीठो होस् भन्ने चाहना हुन्छ तर समाजमा सबै मान्छे उस्तै प्रकारका हुन सम्भव छैन र त्यस्तो भएमा समाज चल्न पनि सक्दैन होला । सबै मान्छेका चरित्र उस्तै हुन्छन् भन्ने सोच्न पनि हुँदैन तर असल अन्तर्गतका विभिन्न चरणमा परे पनि खराब नभइदिए हुन्थ्यो भन्ने चाहिँ हुन्छ । मान्छे पिच्छेका स्वभाव फरक भएसँगै उनीहरूबाट प्राप्त हुने व्यवहार निश्चय नै फरक हुन्छ । प्रकृतिले नै स्वरूप, कद र रंगमा मान्छेहरूलाई भिन्न बनाइदिएको छ भने उसको हुर्काइ, बढाइ, पढाइ, संगत र कर्मले मान्छेको विचारमा भिन्नता आउनु त स्वाभाविक नै मान्नुपर्दछ ।

कतिपय मान्छेले अन्तर्हृदयदेखि शुभ चाहिरहेका हुन्छन् तर व्यक्त गर्ने स्वभाव हुँदैन । कतिपयले आशीष दिने चाहना राखे पनि उपलब्ध साधनहरूको कमीले गर्दा सकिरहेका हुँदैनन् । कतिपयले मनले पनि र व्यवहारले पनि शुभ चिताइरहेका हुन्छन् र व्यक्त गर्न पनि सक्दछन् । कतिपयले मनले सरापिरहेका हुन्छन् तर देखावटी रूपमा निकटता प्रदर्शन गर्न पनि पछि पर्दैनन् । कतिपय भने सधैं कुभलोको कामना गर्दछन् र व्यवहारमा पनि त्यस्तै गर्दछन् । मान्छेले यस्ता कर्महरू आफ्नै प्रकृति अनुसार गर्ने रहेछ ।

मान्छेका विभिन्न गुणको विश्लेषण गर्दा उत्कृष्ट, घनिष्ठ, इष्ट र निकृष्ट मित्रहरूका घेरामा मान्छे बाँचिरहेको हुने रहेछ । यी सबैखाले मान्छेहरूलाई ब्यालेन्समा राखेर व्यवहार चलाउन सक्नेले आधुनिक युगको यो समाजमा प्रगति गर्न सक्ने रहेछ ।

अर्काको उन्नतिमा आफ्नो पनि प्रगति देख्ने मान्छेहरू यही समाजमा पाइन्छन् । अरूले उन्नति गरे भने आफ्नो कुनै हानी नोक्सानी नभए पनि भित्रभित्रै जलेर बस्नेहरू पनि समुदायमा पर्याप्त हुन्छन् । आफ्नो प्रगतिसँगै अरूको पनि प्रगतिको कामना गर्नेहरू यही धर्तीमा पर्याप्त भेटिने गरेका छन् । यस्ताको संख्याभन्दा पनि बढी अरूको प्रगति हुन्छ भने आफ्नो पनि प्रगति नहोस् भन्नेहरू पनि हुँदा रहेछन् । आफूबाहेक अरू कसैको उन्नति प्रगति हुन हुँदैन भन्ने चाहना राख्नेहरू पनि सबै प्रकृतिका मान्छेहरू बराबरै पाइने रहेछ ।

मान्छेका यस्तै गुणहरूको विश्लेषण गर्दा उत्कृष्ट, घनिष्ठ, इष्ट र निकृष्ट मित्रहरूका घेरामा मान्छे बाँचिरहेको हुने रहेछ । यी सबैखाले मान्छेहरूलाई ब्यालेन्समा राखेर व्यवहार चलाउन सक्नेले आधुनिक युगको यो समाजमा प्रगति गर्न सक्ने रहेछ । जसले मान्छे अनुसारको व्यवहार गर्न सकेन या जानेन भने उसले प्रगति गर्ने भन्ने त धेरै परको कुरा भयो, जीवन धान्न नै मुस्किल पर्ने रहेछ । त्यस्ताले मुखमा आएको गाँस समेत फुत्काउनुपर्ने रहेछ ।

उत्कृष्ट मान्छेले सधैं सबैको कल्याणको कामना गरिरहेको हुन्छ । उसका दिमागमा कहिल्यै कसैका बारेमा नकारात्मक सोच पलाउँदै पलाउँदैन । घनिष्ठ मान्छेले मित्रको सफलताको मात्रै कामना गरिरहेको हुन्छ । मित्रबाट सहयोग प्राप्त होस् या नहोस्, मित्रलाई परेका बखत जस्तोसुकै सहयोग गर्न पनि पछि पर्दैन । इष्टहरू पारस्परिक सहयोगको अपेक्षामा रहन्छन् । यस्ता मित्रहरूले कहिलेकता कुनै समयमा मित्रले गर्न नसकेको सहयोगको पनि हिसाबकिताब राखेर तदनुरूप नै चल्दा रहेछन् । असहयोगका कदमहरू त चाल्दैनन् तर कुनैबेला सहयोग प्राप्त नहुन पनि सक्दछ ।

निकृष्टहरूको कुरा त बेग्लै भयो । जहिले पनि मित्रबाट सहयोगको अपेक्षा गर्दछन् । हात थाप्नमात्र जान्ने तर आफ्नो हातमाथि राखेर मित्रको हातमा केही थमाउन सकियोस् भन्ने यस्ता मान्छेको मनको कुनाकाप्चामा पनि हुँदैन । कसैले केही सहयोग ग¥यो भने त्यसको बदलामा त्यही सहयोग गर्ने मित्रलाई कुनै न कुनै हानी नोक्सानी पु¥याउने योजनामा यस्ता मान्छेहरू तल्लीन रहन्छन् । अरूको प्रगति भएको समाचारमा मात्रै सुने भने पनि एकहप्तासम्म यस्ता मान्छेहरूलाई निद्रा लाग्दैन । समूहमा बसेर अर्काको खोइरो खन्नु नै यिनीहरूको दिनचर्या हुने गर्दछ ।

बन्दुक, बम, बारुद, गोली आदि बनाएको मान्छेले नै हो । हतियारहरूको निर्माण अरू कसैलाई मार्न बनाइएको होइन, मान्छे मार्न नै बनाइएको हो । युक्रेनमा आक्रमण गर्न आदेश दिने पुटिन मान्छे नै हुन् । भूपरिवेष्टित राष्ट्रका विरुद्ध नाकाबन्दी गर्ने– गराउनेहरू पनि मान्छे नै हुन् ।

कसैले कुनै प्रगति ग¥यो भने त्यसमा मेरै हात छ भनेर दावी गर्नेहरू पनि पर्याप्त भेटिन्छन् । सहयोगका नाममा सिन्को नभाँचेकाले पनि मैले यति गरेँ र उति गरेँ भन्दै फुर्ती लाउनेहरूले पनि लाजै पचाएर बोलेको देखिन्छ । आफूलाई समस्या पर्दा सयौंसँग सहयोग माग्ने र काम फत्ते भएपछि ती सहयोगीहरूको सहयोग चटक्कै बिर्सनेहरू पनि मान्छे नै हुन् । काम लिन खुट्टैमा पर्ने र काम सकिएपछि मान्छे नगन्नेहरू पनि हाम्रा वरपर नै छन् । सहयोगीलाई नै धारे हात लगाउने र अब ऊबाट कुनै नोक्सानी हुँदैन भन्ने भएपछि उसैलाई तथानाम भन्नेहरू पनि हुँदा रहेछन् ।

आफूले गरेको सबै काम सधैं जायज र अरूले गरेका काम नाजायज देख्ने भनेको मान्छेले नै हो । आफूले गरेको काम सरासर गलत भए पनि त्यसलाई ठीक हो भन्दै दिउँसोलाई पनि राति हो भनी जिद्दी गर्न सक्ने मान्छले नै हो । आफूले कहिल्यै गल्ती गर्दिन र अरूले कहिल्यै सही गर्दैन भन्ने भाष्य निर्माण गर्न खोज्नेहरू पनि मान्छे नै हुन् । यतिसम्म कि आजभोलिका मान्छेहरू अरू सबैलाई अबुझ ठान्दछन् र आफै मात्र जान्ने बुझ्ने ठान्दछन् । अरूको मौनतालाई मान्छेले आफ्नो चातुर्य सम्झी रहेको पाइन्छ ।

शास्त्रहरू र साहित्यहरूले पाप र धर्मका बीचको भेद मान्छेले मात्रै जान्दछ भन्दछन् । पशुहरू र मान्छेहरूका बीचको भिन्नता भनेकै पशुहरूले कुनै धर्मको पालना गर्दैनन् तर मान्छेले धर्मको पालना गर्दछ भनिन्छ । आजको समाज हेर्दा पशुले आफ्नो धर्म छाडेको देखिँदैन तर अधिकांश मान्छेले मानवीय धर्म पालन गरेको पाइँदैन । लुकेर पाप गर्नुलाई नै मान्छेले आफ्नो धर्म बनाउन थालेको छ । समाजको आँखा छलेर गरेको पाप एकदिन धुरीबाट कराउँछ भन्ने हेक्का राख्ने मान्छे ज्यादै कम संख्यामा भेटिन थालेका छन् ।

भ्रष्टाचार गरेर साथी जेल गएको दिनदिनै मान्छेले देखिरहेको छ र पनि भ्रष्टाचार गर्ने मान्छे नै हो । भ्रष्टाचारीका सन्ततिमा ह्रास आएको यही कलियुगमै देखिएको छ ।

भ्रष्टाचार महापाप हो भन्ने थाहा नहुने शायदै कोही होला तर मौका पाएको बेलामा भ्रष्टाचार नगर्ने मान्छे कोही छैन कि जस्तै लाग्न थालेको छ । जसले पनि चोर औंलाले अर्कोतिर देखाएर भ्रष्टाचारीको आरोप लगाउने गरेको देखिन्छ तर चोर औंलाबाहेकका चारवटा औंला आफैंतिर फर्किएका छन् भन्ने कसैले ख्याल गर्दैन । सरकारी पदमा बसेर गरेको आर्थिक अनियमितता मात्रै भ्रष्टाचार हो भन्ने ठान्दछन् तर नियमविपरीतका काम भएमा त्यो भ्रष्टाचार नै हो भन्न अप्ठ्यारो मान्दछन् । भ्रष्टाचार गरेर धनीमानी बन्नु भनेको सुन्निएर मोटाए जस्तै हो, त्यो दिगो हुँदैन भन्ने ज्ञान नभएको प्राणी मान्छे नै हो ।

भ्रष्टाचार गरेर साथी जेल गएको दिनदिनै मान्छेले देखिरहेको छ र पनि भ्रष्टाचार गर्ने मान्छे नै हो । भ्रष्टाचारीका सन्ततिमा ह्रास आएको यही कलियुगमै देखिएको छ । मान्छेलाई देखेर, भोगेर र पढेर चेत्ने जात हो भनिन्छ तर आजभोलिका मान्छेले चेत्दै चेत्दैनन् जस्तो लाग्दछ । नत्र घुस खाएका समाचार दैनिकै किन आउँथे र ? धूम्रपान स्वास्थ्यका लागि हानीकारक छ भनेर लेख्ने पनि मान्छे नै हो र नेपालमा सबैभन्दा बढी कर तिर्ने उद्योग चुरोट कम्पनी नै हो ।

आफ्नो वर्तमान बिगार्नेमात्रै होइन, आफ्ना सन्ततिको भविष्य अन्धकारतर्फ धकेल्ने राजनीतिज्ञहरूलाई बारम्बार चुनाव जिताउने र सत्ता सुम्पनेहरू मान्छे नै हुन् । अयोग्य, भ्रष्टाचारी र क्षमताविहीन भनेर पहिचान भइसकेका पछाडि निहित स्वार्थ राखेर दौडनेहरू सबै मान्छे नै हुन् । संविधानविपरीत चलेको प्रमाणित भइसक्दा पनि हाम्रो मुहार फेर्न योग्य उहीमात्रै हो भनेर नेता मान्दै उसैको जयजयकार गर्नेहरू पनि मान्छेहरू नै हुन् ।

बन्दुक, बम, बारुद, गोली आदि बनाएको मान्छेले नै हो । हतियारहरूको निर्माण अरू कसैलाई मार्न बनाइएको होइन, मान्छे मार्न नै बनाइएको हो । युक्रेनमा आक्रमण गर्न आदेश दिने पुटिन मान्छे नै हुन् । भूपरिवेष्टित राष्ट्रका विरुद्ध नाकाबन्दी गर्ने–गराउनेहरू पनि मान्छे नै हुन् । मान्छेका विरुद्ध मान्छे उचाल्नेहरू सबै मान्छे नै हुन् । अर्काका विरुद्ध मान्छे उचाल्दा आफ्नाविरुद्धमा पनि अर्काले उचाल्छ भनेर थाहा नपाउनेहरू पनि मान्छे नै हुन् । त्यसैले अब मान्छेको परिभाषा नै फेर्नु पर्ने हो कि ?

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-07-14 6:35 am

“अर्काका विरुद्ध मान्छे उचाल्दा आफ्नाविरुद्धमा पनि अर्काले उचाल्छ भनेर थाहा नपाउनेहरू पनि मान्छे नै हुन्” ।

मान्छे भित्रको मान्छे खोज्न समाजलाई उत्प्रेरित गर्ने विचारप्रदान आलेखका लागि लेखकलाई बधाई ।

Last edited 10 months ago by devi bhakta.dhakal-4175

रिलेटेड न्युज

छुटाउनुभयो कि ?