राष्ट्रिय सहमतिको सरकार बनाउन आवश्यक : महासचिव गुरुङ

हिमालय टाइम्स
Read Time = 8 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङले असंलग्न परराष्ट्रनीति कमजोर बन्दै गइरहेको बताउनुभएको छ ।

बिहीवार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राष्ट्र, देश र जनताको स्वार्थ भन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुँदा असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताउनु भयो ।
उहाँले पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको, स्वतन्त्र परराष्ट्र नीति कमजोर कमजोर बन्नुको कारण कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको भन्दै आपत्ति जनाउनु भयो । सरकार पनि राष्ट्रिय सहमतिबाट नै बनाउन आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्यसले गर्दा हाम्रा महत्वाकांक्षीहरु, कमीकमजोरीलाई महत्वकांक्षीका रुपमा बढाउँदै लैजाने, पद प्रतिष्ठाको लागि बढाउँदै लैजाने, राष्ट्र, देश र जनताको स्वार्थ भन्दा पनि नेता, दलहरुको स्वार्थमा बढी केन्द्रित हुने र एकले अर्कोलाई बिस्थापित र निषेध गर्नेकुरा हाबी भयो । यसले नै नेपालको राष्ट्रिय अस्मिता कमजोर बन्दै गयो । त्यसैले हामीले राष्ट्रिय सहमति भनिरहेका छौँ । त्यसको विकल्प छैन, सकिन्छ, सरकार पनि राष्ट्रिय सहमतिले बनाउनुपर्छ । सकिएन भने विकास निर्माण लगायतका मुख्य मुद्दामा राष्ट्रिय सहमति आवश्यक छ । नेपालले असंलग्न परराष्ट्रनीति अँगाल्दै आइरहेको छ । तर समस्या के देखिरहेको छु भन्दा पछिल्लो समयमा पञ्चशीलको सिद्धान्त कमजोर पर्दै गइरहेको छ । असंलग्नताको सिद्धान्त कमजोर पर्दै गइरहेको छ । स्वतन्त्र परराष्ट्र नीति कमजोर पर्दै गइरहेको छ । कुनै न कुनै दबाब र प्रभावमा पर्दै जाने स्थितिले असंलग्न आन्दोलनलाई अघि बढाउनुको सट्टामा पक्षधरता बन्ने ढंगको प्रवृत्ति बढ्दै गइरहेको छ ।’

महासचिव गुरुङले राष्ट्रिय राजनीतिमा पनि विकासको, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य रहेको बताउनु भयो । उहाँले राष्ट्रिय राजनीतिमा आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध गर्ने राजनीति र विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरु बढेका कारण विचारको क्षेत्रमा मतभेद देखिएको बताउनु भयो ।

उहाँले परराष्ट्र नीति, राष्ट्रिय मामिला, विकास निर्माणमा राष्ट्रिय सहमति जरुरी रहेको बताउनु भयो । उहाँले नेपालको राष्ट्रिय अस्मिता अत्यन्तै कमजोर बनेर गइरहेको बताउनु भयो । उहाँले राष्ट्रिय अस्मिता कमजोर हुनु, राजनीतिक दलहरु एक ठाउँमा नउभिनुले शक्तिकेन्द्रले नाजायज फाइदा उठाइरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘शान्ति कति कायम रहन्छ र रहँदैन भन्ने प्रकारको चुनौतिहरु पैदा हुन थाल्यो । यो शान्तिका अघि आइरहेको चुनौतिको प्रतिविम्व राष्ट्रिय राजनीतिमा पनि पर्न थाल्यो । राष्ट्रिय राजनीतिमा पनि विकासको, स्थिरता, स्थायित्व, निरन्तरता अनिवार्य शर्त हो । विकासको निम्ति सबै दलहरुको, पक्षको बीचमा समझदारी, सद्भावको प्रक्रियाबाट अघि बढ्नुपर्ने अवस्था हो । तर विश्वको तनावको स्थितिको रिफ्लेक्शन राष्ट्रिय राजनीतिमा परेको छ । त्यसमा पनि आन्तरिक अराजकता, एकले अर्कोलाई निषेध, सखाप गर्ने विद्वेषपूर्ण ढंगले चल्ने खालका प्रवृत्तिहरु बढ्न थाले । त्यसैले यतिबेला हामी मुलुकको राष्ट्रिय अस्मिताको रक्षाका निम्ति, सहमति, सहकार्य, राष्ट्रिय सहमति अनिवार्य शर्त हो । विचारको क्षेत्रमा देखापर्ने मतभेदहरु मैत्रीपूर्ण ढंगले प्रतिष्पर्धा गर्नेकुरा हो । अरु मुद्दाहरुमा चाहे परराष्ट्र नीति, राष्ट्रिय मामिला, चाहे विकास निर्माणको मामिला होस्, यिनीहरुमा राष्ट्रिय सहमति जरुरी छ । नेकपा (माओवादी केन्द्र) ले २०६६ सालदेखि नै निरन्तर रुपमा नै भन्दै आइरहेको छ । अहिलेको चुनौतिको समस्या समाधान गर्न राष्ट्रिय सहमतिको डेमोक्रेसी निर्माण गर्नुपर्छ । दलहरुबीचमा मैत्रीपूर्ण प्रतिष्पर्धा हुनसक्छ तर बहुलवाद होइन । बहुदलीय प्रतिष्पर्धा हुनसक्छ, मैत्रीपूर्ण प्रतिष्पर्धा हुनसक्छ । विकास निर्माण, राज्य सञ्चालन मैत्रीपूर्ण प्रतिष्पर्धा हुनसक्छ तर मुलुकमा एकले अर्कोलाई निषेध गर्ने, अराजकता पैदा गर्ने, दलहरु हरेक ठाउँमा समानान्तर ढंगले चल्ने, राज्यलाई कमजोर पार्ने दिशातर्फ जान थाल्यो । सबै प्रकारका पावर एक्सरसाइज दलहरुले गर्दै लैजाने, समानान्तर ढंगले चल्ने खालको प्रक्रियाले नेपालको राष्ट्रिय अस्मिता अत्यन्तै कमजोर बनेर गइरहेको अवस्था छ । यही कमजोर बनेर गइरहेको अवस्था हुनाले यही अवस्थालाई शक्तिकेन्द्रले नाजायज फाइदा उठाउने मौका पाइरहेका छन् । दलहरुबीचमा लडाउने, टुटाउने, फुटाउने, विभाजन गर्ने, छिनछिनमा संसद, सरकार विघटन, छिनछिनमा सरकार परिवर्तन यस्तो प्रकारको अस्थिरताको खेल शुरु भएको छ । यो अस्थिरताको खेलको पछि हामीमा रहेका समस्याहरु, राष्ट्रिय आत्मसमर्पणवादी चिन्तनको समस्या, घुँडा टेकुवावादी चिन्तनको समस्या, यस्ता प्रकारका समस्याले पनि हामीलाई असर गरेको छ ।’

महासचिव गुरुङले बीआरआई प्रभावकारी ढंगबाट अघि बढ्न नसकेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?