अमेरिकी सहायक विदेशमन्त्री लु आज काठमाडौं आउँदै

८ महिनामा ५ अमेरिकी उच्च अधिकारीले गरे नेपाल भ्रमण

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । दक्षिण तथा मध्य एसिया हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु आज (शुक्रबार)नेपाल आउँदै हुनुहुन्छ ।

काठमाडौंस्थित अमेरिकी दूतावासले बिहीबार सूचना जारी गर्दै सहायक विदेशमन्त्री लु एकदिने भ्रमणका लागि आज काठमाडौं आउन लागेको जानकारी दिएको हो । उहाँ कुन समयमा आउने भन्नेबारेमा भने दूतावासले खुलाएको छैन । लु अहिले दक्षिण एसियाको भ्रमणमा हुनुहुन्छ । नेपाल भ्रमणका क्रममा लु ले नेपालका राजनीतिक दलका नेताहरू र दूतावासका कर्मचारीलाई भेट गर्ने बताइएको हो ।

दूतावासले फेसबुकमा लेखेको छ, ‘लु यस क्षेत्रको भ्रमणको क्रममा नेपाल फेरि आउन उत्सुक हुनुहुन्छ,’ सहायक विदेशमन्त्री लुले एकदिने नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल र परराष्ट्रमन्त्री एनपी साउदसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भइसकेको छ ।

दूतावास स्रोतका अनुसार उक्त भेटवार्ताको क्रममा लुले नेपालमा ऊर्जा र पूर्वाधार विकासमा अमेरिकी ५०० मिलियन डलर अनुदानको कार्यक्रम मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को कार्यान्वयनको अवस्था, दुई मुलुकबीचको सम्बन्धलगायत विषयमा कुराकानी गर्नुहुने छ ।

लु यसअघि नेपालमा एमसिसी प्रतिनिधिसभाबाट पारित गर्न हुने वा नहुने भन्ने चर्को बहस भएका बेला काठमाडौं आएर नेपाल सरकारका उच्च सरकारी प्रतिनिधिहरूसँग भेटघाट गर्नुभएको थियो । त्यस समयमा उहाँको नेपाल आगमन र राजनीतिक भेटघाटले निकै चर्चा पाएको थियो । अमेरिकी विदेश मन्त्रालयमा ३० वर्षभन्दा बढी समय सेवा गर्नुभएका लु सन् २०२१ को १५ सेप्टेम्बरमा अमेरिकी विदेश मन्त्रालयको दक्षिण र मध्य एसियाली मामिलाको ब्युरोमा सहायक विदेशमन्त्री नियुक्त हुनुभएको थियो ।

यसअघि उहाँले सन् २०१५ देखि २०१८ सम्म अल्बानिया र २०१८ देखि २०२१ सम्म किर्गिस्तानमा अमेरिकी राजदूतका रूपमा काम गर्नुभएको थियो । उहाँले भारत, अजरबैजान, किर्गिस्तानमा समेत बसेर काम गरिसक्नु भएको छ ।

त्यसअघि उहाँले मध्य एसिया र दक्षिण काकेसस मामिलाको कार्यालयमा उपनिर्देशक, युरोपेली मामिला ब्यूरो आदि महत्वपूर्ण स्थानमा रहेर काम गरिसक्नु भएको छ । यसअघि लुले २०७९ साउन १२ र १३ मा दुईदिने नेपाल भ्रमण तथा त्यसअघि २०७८ मंसिर १ देखि ४ सम्म चार दिने भ्रमण गर्नुभएको थियो ।

यसैबीच, फागुन १ गते दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री अफ्रीन अख्तर पनि काठमाडौं आइपुग्नुभएको थियो । दुईदिने काठमाडौं बसाइका क्रममा अख्तरले उच्चस्तरीय राजनीतिक साथै नेपाली सेनाका अधिकारीहरुसँग पनि भेटघाट गनुृभएको थियो ।

माघ २४ गते अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) प्रमुख समान्था पावर काठमाडौं आएर माघ २५ स्वदेश फर्किनुभएको थियो ।

माघ १६ र १७ मा अमेरिकी राजनीतिक मामिला उपमन्त्री भिक्टोरिया नुल्यान्ड नेपाल भ्रमणमा आउनुभएको थियो। अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली संघ (इयु) की आयुक्त जुटा उर्पिलाइनेन पनि माघ २५ काठमाडौं आइपुग्नुभएको थियो ।

नेपाल भ्रमणका क्रममा संयुक्त अधिराज्य (बेलायत) का रक्षामन्त्री एण्ड्र्यु मोरिसन माघ २५ गते काठमाडौं आउनुभएको थियो । यतिमात्र होइन दुई छिमेकी मुलुक भारत र चीनका उच्च अधिकारीहरूले पनि नेपालमा औपचारिक र अनौपचारिक भ्रमण गरिसक्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?