पाल्पा । प्रत्येक वर्षको साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा मनाइने गठेंमंगाः अर्थात् घण्टाकर्ण पर्व पाल्पामा पनि मनाइएको छ । नेवार समुदायमा घर शान्तिको कामना गर्दै यो पर्व मनाइएको हो ।
गठेंमंगाः पर्व नेवारहरूको मौलिक पर्व मध्येको एक हो । वर्षको चार वटा प्रमुख चतुर्दशी घण्टाकर्ण चतुर्दशी, बाला चतुर्दशी, तिहारको काग चतुर्दशी र शिवरात्रि चतुर्दशीमध्ये घण्टाकर्ण चतुर्दशी नेवार समुदायले मात्र मनाउने भएकाले यसलाई नेवार समुदायको मौलिक पर्वका रूपमा लिने गरिएको हो । यस दिनमा आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घण्टाकर्णको पूजा गरिन्छ । घर र परिवारलाई भूतप्रेत नलागोस् भनेर बौ वाय् ज्या (भूत मन्छाउने कार्य) यो पर्वको मौलिक परम्परा रहेको संस्कृतिविद्हरू बताउँछन् ।
शनिबार तानसेनका नेवार समुदायले दोबाटो र चौबाटोमा नर्कटको तीनखुट्टे लिंगाकृति गठांमो ठड्याई घण्टाकर्ण पर्व मनाएका हुन् । हरेक वर्ष जस्तै यस वर्ष पनि देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठान पाल्पाले तानसेनको शितलपाटी चोकमा नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतीक बनाई राखेको थियो । सो आकृतिसँगै व्यक्तिलाई राक्षसको प्रतीक बनाई जगात अर्थात् पैसा उठाउन लगाइएको थियो । साँझपख सो राक्षसको प्रतीक स्वरूपको नर्कट र छ्वालीको मानवकृतलाई बाजागाजाका साथ ख्याल ठट्टा गर्दै नजिकको होलाङ्गदी खोलामा लगेर जलाइएको प्रतिष्ठानका अध्ययक्ष मदन देउरालीले बताउनुभयो ।
खेती किसानीको काम सकिएलगतै विशेष गरी नेवार समुदायमा पहिलो चाडका रूपमा श्रावण कृष्ण चतुर्दशीका दिन यो पर्व मनाइने गरिन्छ । घण्टाकर्णको दिन फलाम वा पित्तलको औंठी गठांमोमा छुवाएर लगाउने परम्परा छ । महिलाहरू रोपाइं सकिएको खुसियालीमा यसै दिन हातमा मेहेन्दी (लैंचा) लगाउने प्रचलन रहेको छ । बालबालिकाहरूले दोबाटो र चौबाटोमा दिनभर नर्कटको तीन खुट्टे गठांमो ठड्याई बटुवाहरूसँग ‘घण्टाकर्ण जगात दे’ भन्दै जगात अर्थात् कर मागेका थिए ।
तानसेनमा घण्टाकर्ण गथामुग बनाउने चलन पहिले देखि नै रहे पनि अहिले आएर केहीटोलमा मात्र बनाउँछन् । यहाँ तितेपाटी घाँसको तीन खुट्टे राक्षसको जस्तो पुतला बनाई राक्षसकै अनुहारको फोटो टाँसी दिनभर टोलटोलको दोबाटो, चौबाटोमा राखिन्छ । सो राक्षसको पुतलामा कसैले जौ, तिल, चामल, नुन, बेसार, कालो कपडा दक्षिणा राखि आफ्ना परिवारका सबै सदस्यहरुलाई ढोगाई सबैको ग्रह दशा कटोस् भनेर पूजा गर्दछन् भने बाटो हिड्ने बटुवाहरुले पनि आफनो ग्रह दशा कटोस् भनेर स्वेच्छाले दक्षिणा चढाउने गर्दछन् । तानसेनको यो पुरानो मौलिक चलन विस्तारै लोप हुन थाले पछि देउराली साँस्कृतिक अध्ययन प्रतिष्ठानले केही वर्षदेखि आफै घण्टाकर्ण बनाई शित्तलपाटी भीमसेन मन्दिर अगाडि राख्ने गरेको हो । नारायण युवा क्लवले पनि नारायणटोलमा तथा बसपार्क समूहले वसपार्कमा राख्ने गरेको छ । यो पर्वलाई निरन्तरता दिन मुस्किल पर्ने गरेको साँस्कृतिक अध्ययन प्रतिष्ठानल देउरालीले बताउनुभयो । यो धेरै राख्न छोडेपछि प्रतिष्ठानले भने घण्टाकर्ण बनाएर राख्ने जो कोहीलाई पुरस्कार दिने व्यवस्था गरेको छ । दिनभरी गथामुगलाई दोबाटो, चौबाटोमा ठड्याएर राखिन्छ र साँझपख यसलाई सेलाउन लैजानु अघि सो काममा संलग्न एक जना युवाले उक्त टोलमा भएका घर–घरमा जगाती (कर) माग्दछन् । त्यसपछि साँझपख यस घण्टाकर्ण गथामुगलाई भूँइमा ढलाएर मुखमा आगो लगाएर घिसार्दे तल्लो टोलकाहरुले तीनधारामा र माथिल्लो टोलकाहरुले होलमङ्दीमा लगी जलाएर सेलाउने गर्दछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच