हेल्प नेपाल र नेपाल पुलिस च्याम्पियन

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । टिपटप हेल्प नेपालले सातौँ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय भलिबल क्लब लिगमा पुरुषतर्फको उपाधि जितेको छ । यस्तै, महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले हात पारेको छ । शनिबार भएको फाइनलमा हेल्प नेपालले तीन-एकको सेटमा पुलिसलाई पराजित गर्दै च्याम्पियन बनेको हो । यस्तै, महिलातर्फ पुलिसले एपिएफलाई पराजित गर्दै उपाधि जितेको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा भएको पुरुषतर्फको फाइनलमा हेल्प नेपालले २५-१९, ११-२५, २५-१८, २५-१८ ले पुलिसलाई हराउँदै उपाधि जित्यो । प्रतिस्पर्धात्मक पहिलो सेटमा हेल्प नेपालका ऐमल खान एक्लैले १० अंक जोड्नुभएपछि उसले उक्त सेट २५-१९ ले जित्यो । तर, पुनरागमन गर्दै दोस्रो सेटमा पुलिसले सहज जित हात पार्‍यो । सुरुवातदेखि नै प्रतिस्पर्धात्मक बनेको तेस्रो सेट र चौथो सेटको अन्तिममा भने हेल्प नेपाल हावी रहृयो ।

यस्तै, महिलातर्फ नेपाल पुलिस क्लब च्याम्पियन बनेको छ । फाइनलमा अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ३-१ को सेटमा हराउँदै पुलिसले उपाधि जितेको हो । उपाधिसँगै पुलिसले ६ लाख पुरस्कार हात पार्‍यो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहल त्रिपुरेश्वरमा भएको फाइनलमा पुलिसले एपिएफलाई २५-१२, २१-२५, २५-२३, २५-१९ को सेटमा हराउँदै उपाधि जितेको हो ।

पहिलो सेटमा पुलिसले सहज जित हात पारेको थियो । तर, दोस्रो सेटमा भने एपिएफले उत्कृष्ट सुरुवात गर्दै खेल १६-९ को स्थितिमा पुर्‍यायो । त्यहाँबाट पुलिसले संघर्ष गरे पनि एपिएफले खेल २१-२५ ले जित्यो । त्यसपछिका बाँकी दुई सेटमा भने पुलिस एपिएफमाथि हावी बन्यो ।

६-६ को बराबरीमा पुगेको तेस्रो सेटमा पनि पुलिसले बाजी मार्‍यो । चौथो सेटमा पुलिसले १७-१७ को बराबरी स्थितिबाट खेललाई अघि बढाएको थियो । पुलिसले ६ लाख जित्दा दोस्रो भएको एपिएफले तीन लाख, तेस्रो भएको न्यू डायमण्डले एक लाख ५० हजार र चौथो भएको आर्मीले ७५ हजार रुपैयाँ प्राप्त गर्‍यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?