कोशी प्रदेश सरकार भंग गर्न एमालेको माग

बिना व्यवधान समय सीमाभित्रै एमसिसी कार्यान्वयनमा जोड

नारायण भण्डारी
Read Time = 7 mins

काठमाडौं । नेकपा एमालेले कोशी सरकार विघटन गर्न माग गरेको छ । शनिबार बालकोटमा बसेको सचिवालय बैठकले असंवैधानिक ढंगले गठन गरिएको कोशी प्रदेश सरकार भंग गरी सरकार गठनको संविधानसम्मत प्रक्रिया तत्काल सुरु गर्न माग गरेको हो । बैठकले भनेको छ, ‘संविधानले कहीँ पनि सभामुखको पक्षधरताको परिकल्पना गरेको छैन । त्यसैकारण सभामुखले दलीय आबद्धताबाट अलग हुने प्रचलन रहेको छ । अझ, सरकार गठन गर्ने या हटाउने सन्दर्भमा सभामुख स्वयं संलग्न हुने कुरा त नेपालको संविधान, नियन्त्रण र सन्तुलनका विश्वव्यापी मूल्यमान्यता एवं हाम्रा आफ्नो लोकतान्त्रिक र संसदीय अभ्यासमाथिको नांगो प्रहार हो भन्ने कुरा स्वतः स्पष्ट छ । नेकपा (एमाले) सत्ता गठबन्धनका यस्ता असंवैधानिक कदमको भत्र्सना गर्दछ ।’

यसअघि नेकपा एमाले कोशीका संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मत कार्की कोशी प्रदेशको नवनिर्मित सरकार गठनको प्रक्रिया असंवैधानिक भएको भन्दै सर्वोच्च अदालत पुग्नुभएको थियो । प्रदेशसभा सभामुखको समेत हस्ताक्षर जोडेर बहुमत देखाई नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्री नियुक्त गर्ने प्रदेश प्रमुखको निर्णय खारेज गर्न एमाले संसदीय दलका नेता कार्कीले सर्वोच्चमा रिट दायर गर्नुभएको थियो । सर्वोच्च अदालतले समेत कोशी प्रदेश सरकारलाई दीर्घकालीन असर पुग्ने निर्णय नगर्न अन्तरिम आदेश दिइसकेको छ ।

यस्तै, नेकपा एमालेले अमेरिकी सहयोग परियोजना एमसिसी समयमै कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ । सचिवालय बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले एमसिसीजस्तै राष्ट्रहितमा रहेर अन्य सहयोग लिन सकिने बताउनुभयो । उहाँले भन्नुभयो, एमसिसी पारित भइसकेको अवस्थामा त्यसको बिना व्यवधान समय सीमाभित्रै कार्यान्वयन हुनुपर्छ भन्ने ठान्छौँ । एमसिसीसहित अन्य देशबाट हुने आर्थिक सहयोग राष्ट्रिय हितमा प्रयोग गर्न सक्छौँ ।’ बैठकअघि संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले मिलेनियम च्यालेन्स कर्पोरेसन एमसिसी परियोजना चाँडै सम्पन्न गर्नुपर्ने भन्दै अध्यक्ष ओलीसँग भेट्नुभएको थियो ।

बैठकले मिटरब्याजसम्बन्धी विधेयक एमालेले रोकेको भन्ने भ्रामक प्रचारप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै अविलम्ब नयाँ विधेयक ल्याउन सरकारको ध्यानाकर्षण गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । बैठकले सत्ता गठबन्धनले विभिन्न स्वायत्त र गैरराजनीतिक संस्थाहरूमाथि निरन्तर हस्तक्षेप गरेको र संस्थाहरूलाई आफ्नो नियन्त्रणमा राख्ने क्रियाकलाप गर्दै आएको भन्दै भत्र्सना गरेको छ ।

सचिवालय बैठकले प्राकृतिक प्रकोपको घटनाका कारण ठूलो जनधनको क्षति भएकाले घरबार गुमाएकाहरूलाई तत्काल पुनःस्थापना गर्न, राष्ट्रिय राजमार्गसहित सडक पूर्वाधारको यथाशीघ्र पुनर्निर्माण र जनजीवनलाई स्वाभाविक अवस्थामा फर्काउन माग गरिएको उपमहासचिव ज्ञवालीले बताउनुभयो । त्यस्तै, बैठकले देशैभरी फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न, बिमा रकम तत्काल भुक्तानी गर्न र राहत दिन सरकारसँग माग गरेको बताउनुभयो ।

बागमती प्रदेशको इञ्चार्जमा गुरु बराल
बैठकले पार्टीको बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी स्थायी कमिटी सदस्य गुरु बराललाई दिने निर्णय गरेको र अन्य केही नेताहरूको जिम्मेवारी हेरफेर गरिएको ज्ञवालीले जानकारी दिनुभयो । यसैगरी, नेकपा एमाले, बागमती प्रदेशको इञ्चार्जको जिम्मेवारी गुरु बराललाई दिइएको छ । पार्टी सचिवालय बैठकले बराललाई इञ्चार्जको जिम्मेवारी दिने निर्णय गरेको हो । पार्टी उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार यसबाहेक केही नेताहरूको पार्टीमा जिम्मेवारी हेरफेर गरिएको छ ।

ओली मंगलबार कम्बोडिया जाने
यसैगरी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कम्बोडिया जाने हुनुभएको छ । आगामी मंगलबार (साउन २) मा उहाँ कम्बोडिया जाने कार्यक्रम तय भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँका अनुसार साउन ६ गतेसम्मका लागि ओली कम्बोडिया भ्रमणमा जान लाग्नुभएको हो । ओलीले त्यहाँको निर्वाचनको पर्यवेक्षण गर्नुका साथै राजनीतिक भेटवार्ता पनि गर्ने कार्यक्रम रहेको पनि उहाँले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?