लम्पी स्किनले खोटाङमा हप्ता दिनमै ८१ वटा चौपाया मरे

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 5 mins

खोटाङ । पशुहरुमा महामारीका रुपमा फैलिएको लम्पी स्किन रोगले खोटाङमा भयावह रुप लिंदै गएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको खार्मीमा गत चैतमा देखिएको लम्पी स्किन महामारीले भयावह रुप लिंदै गएको हो ।

२१ असारदेखि २७ असारसम्म अर्थात हप्ता दिनमा खोटाङमा ८१ वटा गाई गोरु मरेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५, हलेसी तुवाचुङ नगरपालिकामा १, खोटेहाङ गाउँपालिकामा ३, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ७ वटा गाई गोरु मरेको छ ।

केपिलासगढी गाउँपालिकामा ५, ऐसेलुखर्क गाउँपालिकामा १४, बराहपोखरी गाउँपालिकामा ८, जन्तेढुंगा गाउँपालिकामा २, रावाबेशी गाउँपालिकामा २२ र साकेला गाउँपालिकामा ४ वटा गाई गोरु मरेको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङका फोकल पर्सन पशु विकास अधिकृत डा. वर्जेश यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार हप्ता दिनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा १५० वटा गाई गोरु, १० वटा भैसी÷राँगा, हलेसी तुवाचुङ नगरपालिकामा ४५ वटा गाई गोरु, खोटेहाङ गाउँपालिकामा १५३ वटा गाई गोरु, २ वटा भैसी/राँगा, दिप्रुङ चुइचुम्मा गाउँपालिकामा ११२ वटा गाई गोरु, ७ वटा भैसी/राँगा, केपिलासगढी गाउँपालिकामा २१ वटा गाई गोरु, १ वटा भैसी लम्पी स्किन महामारीबाट प्रभावित भएका छन् ।
ऐसेलुखर्क गाउँपालिकामा १६० वटा गाई गोरु, १२ वटा भैसी/राँगा, बराहपोखरी गाउँपालिकामा ११८ वटा गाई गोरु, ५ वटा भैसी, जन्तेढुंगा गाउँपालिकामा १३० वटा गाई गोरु, १० वटा भैसी राँगा, रावाबेशी गाउँपालिकामा २०५ वटा गाई गोरु, ५ वटा भैसी र साकेला गाउँपालिकामा ४३ वटा गाई गोरु लम्पी स्किनबाट प्रभावित भएका छन् ।

केपिलासगढी गाउँपालिकाले २२ र बराहपोखरी गाउँपालिकाले १५० वटा गाई गोरुलाई आफ्नै लगानीमा खोप ल्याएर लम्पी स्किन विरुद्धको खोप लगाएको छ । गत चैतबाट महामारीको रुपमा फैलिएको लम्पी स्किनले २१ असारभन्दा अघिसम्म खोटाङमा ३२७ वटा गाई गोरु तथा बाछाबाछी मरिसकेका छन् ।

मन्त्रालयबाट आएको भ्याक्सिन तथा औषधि दुई पटक स्थानीय तहलाई बाँडेर लम्पी स्किन महामारी नियन्त्रणको प्रयास गरिएको थियो । तर, त्यतिले मात्र महामारी नियन्त्रण नभएपछि २४ असारमा मन्त्रालयले प्रत्येक स्थानीय तहलाई खोप किन्न एक/एक लाख बजेट पठाई दिएको भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र उदयपुरको सम्पर्क केन्द्र खोटाङका फोकल पर्सन पशु विकास अधिकृत डा.यादवले बताउनुभयो ।

गाई गोरुमा १०५ डिग्रीसम्मको ज्वरो आउनु फोकाहरु आउनु, मुखबाट ¥याल काढ्नु, सिगाँन बग्नु, २/४ दिनपछि फोका फुटेर रगत आउनु, खुट्टा सुनिन्नु, घाँटी सुन्निनु लम्पी स्किनका लक्षणहरु हुन् । गाई गोरुमा देखिएको लम्पी स्किन रोग विस्तारै भैसी र राँगमा देखिनुले किसानहरु झन त्रसित भएका छन् ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?