भलिबल कप्तानबाट हटाइए थापा

हिमालय टाइम्स
Read Time = 6 mins

काठमाडौं । नेपाल भलिबल संघले हरिहजुर थापालाई राष्ट्रिय टोलीको कप्तानबाट हटाएको छ । कप्तानीको जिम्मेवारी निर्वाह गर्न सक्ने क्षमता नदेखिएका कारण उहाँलाई कप्तानीबाट पदमुक्त गरिएको संघले जनाएको छ । शनिबार सम्पन्न सातौँ प्रधानमन्त्री कप महिला तथा पुरुष एनभिए राष्ट्रिय भलिबल क्लब लिगमा गण्डकी प्रदेशविरुद्धको खेलका क्रममा हरिहजुर दर्शकमाथि आक्रोशित हुनुभएको थियो । उक्त घटनाको अनुसन्धानपश्चात् संघले थापालाई कप्तानीबाट हटाउने निर्णय गरेको भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभयो ।

‘लिगका दौरान उहाँले देखाउनुभएको व्यवहारपश्चात् गठिन छानबिन समितिको निष्कर्ष उहाँमा कप्तानी गर्ने क्षमता देखिएन भन्ने हो,’ श्रेष्ठले भन्नुभयो, ‘त्यसैले उहाँमाथि कारबाहीस्वरूप पदमुक्त गर्ने निर्णय गरिएको छ ।’

हरिहजुर गत महिना इम रानाको स्थानमा राष्ट्रिय टोलीको कप्तान नियुक्त हुनुभएको थियो । हरिहजुरको कप्तानीमा नेपालले कीर्गिस्तानमा काभा नेसन्स लिग खेलेको थियो । जसमा नेपालले सबै ६ खेल गुमाएको थियो ।

लिगमा गण्डकी प्रदेशको खेलविरुद्ध आर्मीले खेलिरहँदा केही दर्शकले अपशब्द बोलेको भन्दै आर्मीका खेलाडीहरू दर्शकदीर्घामा गई हातपात गर्न पुगेका थिए । त्यसमा हातपातमै उत्रिने स्पाइकर धनबहादुर भट्टलाई संघले ६ महिनासम्म राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल खेल्न नपाउने गरी प्रतिबन्ध लगाएको छ ।

सोही घटनामा आक्रोशित व्यवहार देखाएका राष्ट्रिय टोलीका सदस्यसमेत रहनुभएका आर्मीका राजेन्द्र विष्ट र अर्का खेलाडी धनपति कुँवरलाई तीन महिनाको प्रतिबन्ध लगाएको छ । त्यस्तै, अर्का खेलाडी दुर्गाबहादुर खड्कालाई सचेत गराइएको छ ।

गण्डकी प्रदेशविरुद्ध तेस्रो सेटमा आर्मी २३-२४ को अवस्थामा थियो । रेफ्रीले चेकआउट हुँदा अंक आर्मीलाई दिएको भन्दै गण्डकीका खेलाडीले असन्तुष्टि जनाएका थिए । त्यसैक्रममा आर्मीका खेलाडीलाई दर्शकले पछाडिबाट अपशब्द बोल्नुका साथै बोतल प्रहार गरेपछि खेलाडी संयमित हुन नसक्दा उक्त घटना घटेको थियो ।

त्यसैक्रममा धनबहादुरले दर्शकलाई मुक्का प्रहार गर्नुभएको थियो भने हरिहजुर, राजेन्द्र, धनपति दर्शकसँग आक्रोशितरूपमा प्रस्तुत हुनुभएको थियो ।

यस्तै, लिगका दौरान विवादित खेलमा रेफ्रीको भूमिका निर्वाह गर्नुभएका चित्र गुरुङ र अनिल रानालाई क्लब च्याम्पियनसिप र क्लब लिगमा निर्णायकको भूमिका निर्वाह गर्न नदिने गरी कारबाही गरिएको संघले जनाएको छ ।

घटनाका बारेमा छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको थियो । समितिले बुझाएको प्रतिवेदन र त्यसले दिएको सुझावका आधारमा भलिबल संघको कार्यसम्पादन समितिको शनिबार बसेकोे बैठकले कारबाही गरेको संघका महासचिव श्रेष्ठले जानकारी दिनुभयो । संघका महासचिव तथा प्रतियोगिता संयोजक रोशन श्रेष्ठ संयोजक रहेको छानबिन समितिमा सचिव सुनकेशरी माली, कोषाध्यक्ष श्यामकृष्ण श्रेष्ठ, सदस्य अञ्जु श्रेष्ठ र जुनु पुन सदस्य हुनुहुन्थ्यो । छानबिन समितिले आर्मीका खेलाडी, टोली, उजुरी दिने दर्शकलगायतको बयान लिएको थियो ।

यस्तै, च्याम्पियनसिपको अन्तिम दिन शनिबार हेल्प नेपालका खेलाडी अमृत क्षेत्रीले पत्रकारमाथि हातपातको प्रयास गर्नुभएको थियो । हेल्प नेपालका अमृतले खेलपाटीका संवाददाता रहनुभएका खेल पत्रकार विशाल पन्तमाथि हातपातको प्रयास गर्नुभएको थियो । उपस्थित पत्रकार, सुरक्षाकर्मीले रोकेपछि पत्रकार पन्तमाथि कुटपिट हुन पाएको थिएन । उहाँले अपशब्द बोल्दै पत्रकारमाथि गालीगलौज गर्नुभएको थियो भने आक्रमणको प्रयाससमेत गर्नुभएको थियो ।

खेल हेर्न आएकी श्रीमतीलाई मिडिया जोन (मिडियाकर्मी बस्ने स्थान)मा बस्न नदिएको भन्दै अमृतले पत्रकारमाथि हातपातको प्रयास गर्नुभएको हो । अन्त्यमा भने क्षेत्रीले पत्रकार पन्तसँग माफी माग्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?