‘लुतो फाल्ने’ संस्कृति हराउन थालेकोमा बूढापाका चिन्तित

रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
रामचन्द्र रायमाझी पाल्पा, संवाददाता
Read Time = 7 mins

पाल्पा । तानसेन भगवतीटोलकी ७५ वर्षीय राधादेवी रायमाझीलाई ‘मेरो लुतो लैजा’ भन्दै आँगोको राँको फाल्ने गरेको सम्झना अहिले पनि ताजै छ ।
‘लुतो फाल्ने भनेपछि दिनभर परिवार, इष्टमित्र जम्मा भएर भलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपाते जस्ता वनस्पतिहरु खोजेर ल्याइन्थ्यो र घरको पूर्व, पश्चिम, उत्तर, दक्षिण चारैतिर ति वनस्पती राखिन्थ्यो, साँझा घर छेउबाट आगाको अगुल्टो फाल्दै पल्लो गाउँकाहरुलाई मेरो लुतो लैजा भन्दै, चिच्याइन्थ्यो’, उहाँले भन्नुभयो, ‘अचेल नयाँ पुस्तामा त्यसको महत्व नै थाहा छैन ।’ पहिले– पहिले सबै घर–घरमा रमाइलो गर्दै लुतो फालिन्थ्यो तर अहिले कोही कसैले नफाल्दा नरमालो लाग्ने गरेको उनको गुनासो छ ।

लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यस क्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । लुतो फाल्ने संस्कृति विस्तारै हराउँदै गएकोमा रैनादेवी छहराका ६७ वर्षीय विनोद कार्की चिन्तित हुनुहुन्छ । उहाँलाई पनि विगतमा आगाको अगुल्टो फाल्दै लुतो फाल्ने गरेको झलझली याद आउँछ । ‘२० वर्ष भयो लुतो फाल्न छाडेको पहिला कति रमाइलो गर्दै फालिन्थ्यो अहिले हराउँदै गयो’ कार्कीले भन्नुभयो । छोरा, नातीहरुले वास्ता नगर्ने र आफुलाई उमेरले पनि साथ नदिएपछि अहिले लुतो फाल्न छोडेको उहाँको भनाई छ । अहिले लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आएपनि पछिल्लो समय विस्तारै कम हुँदै गएको छ । नयाँ पुस्ताले त्यसतर्फ खासै चासो नदेखाउँदा यो संस्कृतिमा कमी आएको हो । गुल्मी इस्मा गाउँपालिका–२ सिदुंखाकी ७२ वर्षीया सीता थापालाई नयाँ पुस्ताले संस्कृति भुल्दै गएको प्रति चिन्ता छ । ‘पहिला कति रमाइलो गर्दै फालिन्थ्यो अहिले हराउँदै गयो, उहाँ भन्नुहुन्छ, ‘साउन महिनाको १ गते संक्रान्तिका दिन यसरी चारै दिशातिर लुतो लैजा, पिलो लैजा भन्दै धँयरीको दाउरा जलाएर फाल्ने चलन छ ।’ उहाँले नातीनातीनीहरुलाई हरेक वर्ष लुतो फाल्न सिकाउने गरेको बताउनुहुन्छ । थापा भन्नुहुन्छ ‘पहिले पहिले गाउँभरीकाले लुतो फाल्ने गर्थे तर आज भोलि खासै देखिदैन, मैले सक्दासम्म लुतो फाल्ने सामानहरु ल्याएर छोरा छोरी, नातीनातीनीहरुलाई फाल्न सिकाउने गर्छु, अहिले पनि हाम्रा घरमा लुतो फाल्ने गछौं ।’
पाल्पा र गुल्मीका केही ग्रामीण भेगमा अहिले पनि यो पर्व कायम रहे पनि सहरी क्षेत्रमा भने यदाकदाबाहेक लुतो फाल्ने चलन नै हराइसकेको छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आएपनि विस्तारै त्यसक्रममा प्रयोग गरिने सामग्री बारेको जानकारी नयाँ पुस्तामा खासै छैन । बढ्दो आधुनिकीकरणले गर्दा हाम्रो समाजमा यस्ता मौलिक रीतिरिवाजको लोप हुँदै जान लागेको ज्योतिषी पण्डित होमनाथ न्यौपानेले बताउनुभयो ।

यो पर्वमा गरिने कार्यको धेरै महत्व रहेको प्रस्ट पार्दै उनले शरीरमा वर्षाका बेला अनेकौँ कीराले टोकेर शरीर सुनिने, घाउ खटिरा आउने हुँदा शरीर स्वास्थ्यका लागि कन्डारक पूजा गर्ने र लुतो फाल्ने चलन चलेको बताउनुभयो । ज्योतिष शास्त्रानुसार पनि सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई ‘कर्कट संक्रान्ति’ पनि भनिएको हो । ‘मानो खाई मुरी उब्जाउने’ प्रचलित कथनअनुसार असार महिनाभर गरिएको खेतीपातीका कारण थाकेका किसान हिलोमैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी यस दिन भोज खाने गर्छन् । असारभर गरिने खेतीपातीका क्रममा हिलोका कारण फैलिन सक्ने लुतो, दाद आदि चर्मादि रोगबाट मुक्ति पाउन लुतो फाल्ने प्रचलन रहेको सेमत न्यौपानेले बताउनुुभयो । परम्परा अनुसार कागभलायो, कुकुरडाइनो, लुतेझार, पानीसरो, रातपातेजस्ता औषधीय गुण बोकेका वनस्पतिका साथै कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूलसहित कन्डारक नामक राक्षसको पूजा गरी घरको चारैतिर बलिरहेको अगुल्टो फ्याँक्ने गरिए पनि कतिपय ठाउँमा यी सामग्री लोप भइसकेका छन् ।

लुतो उधुम चिलाउने चर्मरोग हो । नेपालका पहाडी समुदायबीच ‘लुतो फाल्ने’ चलन चलिआएको छ । प्रत्येक वर्ष साउने संक्रान्तिको साँझ यस्तो चलन खासगरी ग्रामीण पहाडी भेगमा अद्यापि छ । लोकोक्ति अनुसार केटाकेटीलाई दुःख दिने रातमा हिंड्ने कण्डारक नामको राक्षसलाई मन्सिएर भगाउन बलिरहेको अगुल्टो घरको चारैतिर ‘लुतो लैजा’ भनेर कराउँदै फालिन्थ्यो । त्यही परम्परा लुतो फाल्ने चलनका रूपमा कायम छ । पहिले–पहिले पहाडतिर लुतो फाल्ने कामलाई उत्सवकै रूपमा मनाइन्थ्यो । सामान्यतया असारमा रोपाइँ सकिने, रोपाइँ गर्दा हिलो र धमिलो पानीका कारण छालाको रोग लाग्न सक्ने भएकाले पनि साउने संक्रान्तिमा लुतो फाल्ने चलन बसेको बूढापाकाहरु बताउँछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?