अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आँधीका कारण एक हजार पाँच सयभन्दा बढी उडान रद्द

Read Time = 2 mins

न्यूयोर्क । अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आएको आँधीबेहरीका कारण आइतबार साँझसम्म अमेरिका भित्रिने र बाहिरिने एक हजार ५ सयभन्दा बढी उडान रद्द भएका छन् । आँधीबेहरी र भारी वर्षाका कारण न्यूयोर्क र न्यूजर्सीका प्रमुख विमानस्थलमा ठूलो संख्यामा उडान अवरुद्ध हुनुका साथै ‘ग्राउण्ड स्टप’ गरिएको फेडरल एभिएसन एडमिनिस्ट्रेसनले जनाएको छ ।

न्यूजर्सीको नेवार्क लिबर्टी अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार साँझसम्म ३६२ उडान रद्द भएका छन् भने ३३७ उडान ढिला भएको फ्लाइट ट्रयाकिङ साइट फ्लाइटअवेयरले जनाएको छ । न्यूयोर्कको जोन एफ केनेडी अन्तर्राष्ट्रिय विमानस्थलमा ३१८ उडान रद्द भएका छन् भने ४२६ उडान ढिला भएका छन् ।

सहरको अर्को विमानस्थल लागार्डिया विमानस्थलमा रद्द भएका उडानहरूको संख्या २७० पुगेको छ । बोस्टन लोगान अन्तर्राष्ट्रिय विमानस्थलमा पनि आइतबार साँझ आएको आँधीबेहरीका कारण विमानस्थलका धेरै उडान अवरुद्ध बनेका छन् । फ्लाइटअवेयरको तथ्यांकानुसार करिब २६० उडान रद्द भएका छन् ।

संयुक्त राज्य अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा आइतबार भारी वर्षाका कारण न्यूयोर्क, न्यूजर्सी, पेन्सिलभेनिया, डेलावेयर र मेरिल्याण्डका केही भागमा बाढी र विद्युत् आपूर्ति बन्द भएको थियो । पाँच करोड ६० लाखभन्दा बढी मानिस बाढीको चपेटामा परेका छन् । रासस/सिन्हृवा ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?