काठमाडौं उपत्यकाको फोहोर बिसर्जनमा फेरि व्यवधान, बाटोमै रोकिए कन्टेनर

‘वार कि पार’ गर्ने भन्दै आन्दोलनमा उत्रिए प्रभावित क्षेत्रका बासिन्दा

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर बिसर्जनमा फेरि व्यवधान सिर्जना भएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा उपत्यकाको फोहोर बिसर्जन गर्न नदिने भन्दै ककनी गाउँपालिकाका र धुनीबेँसीका स्थानीय र जनप्रतिनिधि आन्दोलनमा उत्रिएका हुन् । विगतमा पटक-पटक भएका सहमति र सम्झौता कार्यान्वयन नभएको भन्दै उनीहरू फेरि आन्दोलनमा उत्रिएका हुन् । सोमबार बिहानै स्थानीय र जनप्रतिनिधिसहितको टोलीले उपत्यकाबाट फोहोर बोकेर गएका गाडीलाई बञ्चरेडाँडा नजिकैको आलेटार क्षेत्रमा अवरोध गरेका छन् ।

स्थानीयको अवरोधका कारण काठमाडौंबाट फोहोर बोकेर गएका फोहोरका कन्टेनर बीचबाटामै रोकिएका छन् । ककनी-३, ५ र धुनीबेँसी-१ का स्थानीय विरोध प्रदर्शनमा उत्रिएपछि फोहोर फाल्न गएका गाडीहरू रोकिएका हुन् । स्थानीयको अवरोधका कारण ६० वटा कन्टेनर रोकिएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।

फोहोर र मानिसलाई सँगै राख्न नमिल्ने भन्दै आफूहरूले पटक-पटक माग राख्दा पनि सुनुवाइ नभएकाले आन्दोलनमा उत्रनुपरेको ककनी गाउँपालिका–३ का वडाध्यक्ष घननाथ बजगाईंले बताउनुभयो । अव्यवस्थित ढंगबाट फोहोर बिसर्जन गर्दा झिँगा धेरै आउन थालेपछि स्थानीय आक्रोशित बनेको उहाँले बताउनुभयो ।

केही दिनअघि ककनी गाउँपालिकाले फोहोर बोकेर आउने गाडीहरूलाई प्रवेश शुल्क लिने निर्णय गरेको थियो । तर, स्थानीयले शुल्कभन्दा नागरिकको स्वास्थ्य महत्वपूर्ण भन्दै फोहोर बिसर्जन गर्न नदिने अडान लिएपछि उनीहरू आन्दोलनमा उत्रिएका हुन् । संघीय सरकारले व्यवस्थापनमा चासो नदिएको र काठमाडौं महानगरपालिकासहितका स्थानीय तहले अव्यवस्थित तवरले फोहोर फालेको उनीहरूको आरोप छ । डम्पिङ साइट आसपासका ढुंगाना गाउँ, पहिरे र सुडीनी लगायतका ठाउँमा फोहोरले बस्न नसकिने अवस्था आएको उहाँको भनाइ छ ।

एक महिनाअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सहरी विकासमन्त्री सीता गुरुङ, प्रभावित क्षेत्रका स्थानीय तहका प्रमुख र वडाध्यक्ष समेतको बैठक भएको थियो । बैठकमा प्रधानमन्त्रीले प्रभावित क्षेत्रका बासिन्दाको समस्या सम्बोधन गर्ने गरी १० दिनभित्र प्रतिवेदन तयार पार्न र समाधान गर्न कार्यादेश दिए पनि सहरी विकासमन्त्रीले अहिलेसम्म तदारुकता नदेखाएको उहाँले बताउनुभयो । अब ‘वार कि पारको’को आन्दोलन गर्ने उहाँको भनाइ छ । बजगाईंले अहिलेको माग भनेको बञ्चरे आसपासका क्षेत्रको अधिग्रहण गर्ने र फोहोरबाट मानिसलाई अलग गर्नेबाहेक नरहेको बताउनुभयो ।

उनीहरू ‘कि हामीलाई मारिदे, कि बस्ती सारिदे भन्दै आन्दोलनमा उत्रिएका हुन् । ‘फोहोररहित मानव, मानवरहित फोहोर, फोहोर हामीलाई चाहिँदैन, मान्छे मार्न पाइँदैन,’ लगायत नारासहित फोहोरमैला पीडित नागरिक आन्दोलनमा उत्रिएका हुन् ।

मन्त्री मोदी र मेयर बालेनबीच भेटवार्ता
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)बीच भेटवार्ता भएको छ । सोमबार सिंहदरबारस्थित मन्त्री मोदीको कार्यकक्षमा भएको भेटका क्रममा मन्त्रालय र काठमाडौं महानगरबीचको सहकार्य र समन्वयका सन्दर्भमा कुराकानी भएको मन्त्रीको सचिवालयले जनाएको छ । मेयर साहले काठमाडौं महानगरका जग्गा प्राप्तिसम्बन्धी समस्या, फोहोरमैला व्यवस्थापनसम्बन्धी देखिएका समस्या र तर्जुमा भइरहेको कानुनका सन्दर्भमा चासो राख्नुभएको थियो । मन्त्री मोदीसँग मेयर साहले काठमाडौं महानगरभित्र संघीय सरकारमार्फत गर्नुपर्ने सहयोग र समन्वयका लागि आग्रह गर्नुभयो ।

जवाफमा मन्त्री मोदीले आवश्यक छलफल गरेर समस्या समाधानको दिशामा अगाडि बढ्ने बताउनुभयो । मन्त्री मोदीले फोहोरमैला व्यवस्थापनसम्बन्धी कानुन निर्माणको क्रममा रहेकाले त्यसमाथि महानगरले आवश्यक सुझाव दिन पनि आग्रह गर्नुभयो । ‘काठमाडौं महानगरपालिकाका लागि संघीय सरकार र हाम्रो मन्त्रालयमार्फत गर्नुपर्ने समन्वय र सहकार्य गर्न हामी हामी तयार छौँ,’ मन्त्री मोदीले भन्नुभयो, ‘तपाईंले अहिले राख्नुभएको समस्यामाथि आवश्यक छलफल गरेर हामी समाधानको दिशामा अगाडि बढ्छौँ ।’

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?