विकासमा प्रदेश सरकारलाई राजनीतिक दाउपेच, जनतालाई सास्ती

हिमालय टाइम्स
Read Time = 5 mins

-राजकुमार कार्की
ओखलढुंगा । ओखलढुंगा जिल्ला मोलुङ्ग गाउँपालिका वडा नं २ मा रहेको पैह्रे खोलाले वर्षेनी नागरिकलाई दुःख दिईरहेको छ ।

सडक सञ्चालन भएको १५ वर्षभन्दा बढी भएपनि अहिलेसम्म पनि पैह्रेमा मोटरेबल पुल बन्न नसक्दा नागरिकहरु समस्या भोग्न बाध्य भएका हुन् ।

अघिल्लो आर्थीक वर्षमा पुल निर्माणका लागी प्रदेश सरकारबाट बहुवर्षे योजना स्वीकृत भएको थियो ।

आर्थिक र प्राविधिक प्रस्ताव पास भई टेन्डरको सुचना समेत जारी भएको थियो । जिल्ला पुर्वाधार कार्यालय ओखलढुंगाले सुचना जारी गरी निर्माण कम्पनीहरु सँग प्रस्ताव समेत लिईसकेको थियो ।

निर्माण कम्पनीबाट प्रस्ताव लिईरहेकै बेलामा प्रदेश सरकारले बजेट कटाउने निर्णय गरेपछि पैह्रे खोला पुल निर्माण अलपत्र परेको छ ।
करिब पौने ३ करोड लागतमा निर्माण सम्पन्न हुने गरी टेन्डर आव्हान गरिएको र प्रदेश सरकारले बजेट नपठाउने निर्णय गरेपछि पुन निर्माण कार्य अनिश्चित भएको पुर्वाधार विकास कार्यालयले जनाएको छ । आर्थीक वर्ष ८०/८१ को लागी पनि बजेट छुट्याएको छैन ।

पैह्रे खोलामा पुलनिर्माण सम्पन्न गराईछाड्ने अड्डी कसेर लागेका माननीयहरु प्रदेश सरकारले बजेट कटाएपछि जिल्ल् परेका छन् । चुनाव जिते लगतै तीनै जना माननीय, प्रतिनिधी सभा सदस्य रामहरि खतिवडा, प्रदेश सभा सदस्यद्वय प्रदेश (क) प्रदिप कुमार सुनुवार, प्रदेश (ख) बाबुराम गौतम पैह्रे खोलामा पुगी पुल निर्माण गरिछाड्ने बताउनु भएको थियो । फलस्वरुप पुल निर्माणका लागी बहुवर्षीय योजना स्वीकृत भई पुल निर्माणका लागी प्रस्ताव आव्हान समेत भएको थियो ।

पुल निर्माणका लागी प्रस्ताव माग गरेर बजेट कटाउनुले प्रदेश सरकारले पन्चायती शैली अवलम्बन गरेको माननीयहरुले आरोप लगाएका छन् । हिक्मत कार्की नेतृत्वको सरकारले राजनीतिक प्रतिशोध साँधेर बजेट कटाएको उहाँहरुको आरोप छ । प्रदेशसभा सदस्य प्रदिपकुमार सुनुवार प्रदेश सरकार मन्त्री तथा सरकारको प्रवक्ता तोकीसक्नु भएको छ भने मन्त्रालय तोकिएको छैन । प्रदेशसभा सदस्य बाबुराम गौतम सभामुख हुनुहुन्छ ।

वर्षाको समयमा ढुंगा, मूढा र माटोको लेदो आईरहने उक्त खोलामा नागरिकहरु समस्यामा छन् । जिल्लाको पश्चिम भेग खिजीदेम्बा, लिखु, चम्पादेवी, सुनकोशी र मोलुङ्ग गाउँपालिकाका नागरिकहरुले सदरमुकाम आउन जान यहि सडक प्रयोग गर्नु पर्ने हुन्छ । मोलुङ्ग गाउँपालिकाबाट प्रत्येक दिन काठमाण्डौका लागी विहान बस छुट्ने गरेको छ भने अन्य साना गाडीहरु पनि प्राय दिनभरी नै सन्चालन भईरहेका हुन्छन् । प्रदेश राजधानी विराटनगर लगायत तराईका अन्य जिल्लाहरुका लागि पनि सवारीका साधनहरु यहि सडक भएर सन्चालन भईरहेका हुन्छन् ।

पानी पर्ने बितिक्कै लेदो बगेर आउने हुँदा यातायातका साधन र मानिसहरु हिँडेर पनि पार गर्न सक्ने अवस्था रहँदैन । माटोको लेदो आएको बेला खोला यता र उता करिब २० मिटर भन्दा बढी सडक नै लेदोले ढाकेको हुन्छ ।

प्रत्येक वर्ष यसरी नै पैह्रे खोलाले यात्रीहरुलाई दुःख दिइरहने हुनाले तोकेको समयमा विरामीलाई अस्पताल पु¥याउन समेत नसकिएको यात्रीहरुले गुनासो गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?