विकास बैंकहरूको हरित कर्जा योजना

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । विकास बैंकहरूले दिगो विकासमा योगदान दिने उद्देश्यले ‘हरित निक्षेप योजना’ र ‘हरितकर्जा योजना’ ल्याउने भएका छन् । निर्णय डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालले उत्पादनमूलक क्षेत्रमा लगानी योजना ल्याउने निर्णय गरेको हो । जसअनुसार विकास बैंकहरूले कृषिजन्य उद्यम, वनजन्य उद्यम, जल ऊर्जा, सौर्य ऊर्जा, जैविक ऊर्जा, वायु ऊर्जा, केवलकार/रोपवे, विद्युतीय सवारीसाधन, फोहोर पानी प्रशोधन उद्यमलगायतमा लगानी गर्नेछ ।

बैंक तथा वित्तीय संस्थाको लगानी तुलनात्मकरूपमा कम उत्पादनशील क्षेत्रमा बढ्दै गएकाले उत्पादनमूलक र दिगो विकासमा टेवा दिने क्षेत्रमा कर्जा बढाउने उद्देश्यले हरित कर्जा योजना ल्याउने निर्णय भएको एसोसिएसनले जनाएको छ । हरित कर्जा योजनामा गरिने लगानीका लागि विस्तारै स्रोतको सुनिश्चितता पनि गर्दै जाने उद्देश्यले हरित निक्षेप योजना पनि ल्याइने एसोसिएसनद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

हरित निक्षेप योजनामा अन्य बचत र मुद्दती निक्षेपमा भन्दा ०.२५ प्रतिशतले बढी व्याज प्रदान गर्ने र हरित कर्जा योजनामा अन्य सोही प्रकृतिको कर्जा योजना भन्दा ०.२५ प्रतिशतले कम ब्याजमा कर्जा प्रवाह गर्ने गरी कर्जा योजनाको प्रोडक्ट पेपर विकास गरिने भएको एसोसिएसनले जनाएको छ । सदस्य बैंकहरूले आ-आफ्ना बैंकको व्यावसायिक रणनीतिअनुसार अझ बढी सुविधा दिने गरी प्रोडक्ट पेपर विकास गर्न सक्ने निर्णय पनि एसोसिएसनले गरेको छ ।

कार्वनोत्सर्जन गर्ने र जलवायु परिवर्तनलाई असर गर्ने कुनै पनि उद्योग/व्यवसायले हरित कर्जा सुविधा लिन पाउने छैनन् । आ-आफ्ना बैंकका सञ्चालक समितिबाट प्रोडक्ट पेपर स्वीकृत गराई हरित निक्षेप योजना र हरित कर्जा योजना ल्याउन एसोेसिएसनले आफ्ना सदस्य बैंकहरूलाई परिपत्र जारी गरिसकेको एसोसिएसनका सहायक अधिकृत हेमजंग कार्कीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?