दश पटक सूचना प्रकाशित गर्दा पनि पाइएनन् शिक्षक

ध्रुवसागर शर्मा म्याग्दी, संवाददाता
Read Time = 7 mins

म्याग्दी । म्याग्दीका विद्यालयहरुमा विज्ञान र गणित विषयका शिक्षकको अभाव भएको छ । शिक्षकको अभावमा शैक्षिक वर्ष सुरु भएको तीन महिना वितिसक्दा पनि विज्ञान र गणित विषयको पढाइ भएको छैन ।

जिल्लाको मंगला गाउँपालिका–१ पूर्णगाउँस्थित राष्ट्रिय जनजागृति माविले १० पटकसम्म विभिन्न संचारमाध्यमहरुमा शिक्षक आवश्यकता सम्वन्धि सूचना प्रकाशन गर्दा पनि शिक्षक नपाए पछि शिक्षक खोज्ने जिम्मा स्थानीय गाउँपालिकालाई दिएको छ । शिक्षण सिकाइ अनुदानमा पढाइरहेका एक शिक्षकले शिक्षक सेवा आयोगको परीक्षामा प्राथमिक तहमा नाम निकालेर अन्यत्र गएपछि सो विद्यालयमा शिक्षक अभाव भएको हो ।

त्यसैगरी मंगलाकै शारदा मावि र शिद्ध शान्ति माविको पनि यस्तै अवस्था छ । विद्यालयमा गणित र विज्ञान विषयका शिक्षकको अभाव छ । तर, शिक्षक नपाइपछि अंग्रेजी विषय र प्रावि तहका शिक्षकले मावि तहको विज्ञान र गणित विषय पढाइरहेका छन् ।

१२१ जना विद्यार्थी रहेको राष्ट्रिय जनजागृति माविमा विद्यालयमा शैक्षिक सत्र सुरु भएको तीन महिना बितिसक्दा पनि गणित विषयको अध्यापन सुरु नै भएको छैन । शिक्षकको खोजीमा निरन्तर लागे तापनि नपाइएपछि विद्यालयका प्रधानाध्यापक टेकबहादुर राम्जालीले शिक्षक खोजेर समस्याको समाधान गर्ने जिम्मा मंगला गाउँपालिकालाई दिएको बताउनुभयो ।

संघीय सरकारले सामुदायिक विद्यालयको माध्यमिक तह (कक्षा ९ र १०) मा विषयगत शिक्षकको उपलब्धतामा वृद्धि गरी विद्यार्थीको सिकाइ उपलब्धिमा अपेक्षित सुधार गर्न भनेर शिक्षण सिकाइ अनुदान कार्यक्रम ल्याएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलये २०७७ मा शिक्षण सिकाइ अनुदान व्यवस्थापन कार्यविधि बनाएको थियो । यो कार्यविधि अनुसार माध्यमिक तहमा दरबन्दी नभएका विद्यालयमा बढीमा तीनवटासम्म शिक्षक नियुक्त गर्न पाउने गरी अनुदान सम्बन्धित पालिकामा पठाउने गर्दछ ।

राष्ट्रिय जनजागृति माविले पनि यही अनुदान कोटामा यसअगाडि गणित शिक्षक राखेर पढाउँदै आएको थियो । तर, ती शिक्षकले छाडेपछि विद्यालयको पठनपाठन प्रभावित बनेको छ ।

प्रधानाध्यापक राम्जालीले भन्नुभयो “म्याग्दीमा शिक्षकको हाहाकार छ । शिक्षक चाहिएको हो । लाइसेन्स भएको शिक्षक पाइएकै छैनन् ।”

“रिक्त स्थानमा पदपूर्तिका लागि भनेर विद्यालयले वैशाखमा सूचना निकाल्यो । मावि तहमा गणित विषयका लागि खुलाइएको शिक्षकका लागि पहिलोपटकको सूचनामा कसैको आवेदन परेन” प्रअ राम्जालीले भन्नुभयो ।

उहाँका अनुसार विद्यालयले फेरि दोहो¥याएर शिक्षक आवश्यकताको सूचना निकाल्यो । यसपटक पनि कसैको आवेदन परेन । त्यसयता लगातार १० वटा शिक्षक आवश्यकतासम्बन्धी सूचना यो विद्यालयले निकाल्यो । तर, पनि कसैको आवेदन परेन ।

आजित भएपछि विद्यालयका प्रधानाध्यापक राम्जालीले आफ्नो सामाजिक सञ्जालमा गणित विषयका शिक्षकको खोजीमा १०औँ पटकसम्म विज्ञापन गर्दा पनि शिक्षक नपाए पछि गाउँपालिकालाई शिक्षक खोज्ने जिम्मा दिएको सुनाउनुभयो ।

अहिले विद्यालयमा बर्खे बिदा छ । साउन १० गतेबाट शैक्षिक सत्रका कार्यक्रम निरन्तर सुरु हुन्छन् । तर, विद्यार्थी आउने र शिक्षक नपाउने स्थितिका कारण विद्यार्थीहरूको पढाइमा असर पुग्ने देखिएको छ । अब शिक्षक पाइएन भने विद्यालयमा गणितको पढाइ नै नहुने उहाँको भनाइ छ ।

“अनुमति पत्र भएका शिक्षकहरू पाउन सकेनौँ । त्यसकारण हामीले गाउँपालिकालाई कार्यपालिकाबाट निर्णय गरेर विशेष व्यवस्था गरिदिन माग राखेका छौँ” उहाँले भन्नुभयो ।

त्यसैगरी त्रिभुवन मंगला माध्यमिक विद्यालयले पनि सातपटक शिक्षक आवश्यकताको विज्ञापन निकाल्यो । तर, एकजनाको पनि आवेदन परेन । यो विद्यालयमा विज्ञान र गणित दुवै विषयका शिक्षकको अभाव छ ।

“गत चैतयता यो विद्यालयमा विज्ञान र गणित पढाउने शिक्षक छैनन । यसअगाडि दुवै शिक्षकले शिक्षक सेवा आयोगमा उत्तीर्ण भएपछि विद्यालय छाडे । धेरै लामो समय भयो । शिक्षक पाएका छैनौँ,” प्रधानाध्यापक महेन्द्रबहादुर केसीले भन्नुभयो ।

यस विद्यालयमा पालिकाले एउटा शिक्षकको दरबन्दी र संघीय सरकारले शिक्षण सिकाई अनुदानको एउटा दरबन्दी थपिदिएको छ । पालिकाबाट गणित विषय र अनुदान कोटामा विज्ञान विषयका शिक्षक थिए ।

शिक्षकहरू नभएपछि गणित विषय यो शैक्षिक सत्रमा पढाइ सुरु हुन नै सकेको छैन । विज्ञान विषय भने प्राविका शिक्षकले जेनतेन धानिरहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?