महिला विश्वकपमा न्युजिल्याण्डको विजयी सुरुवात

Read Time = 3 mins

लण्डन । न्युजिल्याण्डले नवौँ संस्करणको फिफा महिला विश्वकप फुटबल २०२३ मा विजयी सुरुवात गरेको छ । घरेलु टोली न्युजिल्याण्डले नर्वेलाई १-० ले पराजित गर्दै समूह ‘ए’ मा विजयी सुरुवात गरेको हो । न्युजिल्याण्डका लागि खेलको दोस्रो हाफमा हानह विल्किन्सनले निर्णायक गोल गर्नुभएको थियो । न्युजिल्याण्डस्थित अकल्याण्डको इडेन पार्कमा बिहीबार भएको प्रतिस्पर्धात्मक रोमाञ्चक बनेको खेलमा विल्किन्सनले खेलको ४८औँ मिनेटमा ज्याकलिन हान्डको पासमा गोल गर्नुभयो ।

अन्तिम समयमा न्युजिल्याण्डको अग्रता दोब्बर पार्ने मौका पाउनुभए पनि रिया पर्सिभलले पेनाल्टी चुकाउनुभयो । टुभा हान्सेनलले पेनाल्टी बक्समा हृयाण्ड गरेपछि प्राप्त पेनाल्टीमा हान्डको पेनाल्टी क्रसबारमा लाग्दै बाहिरिएको थियो ।

यस जितसँगै न्युजिल्याण्डले एक खेलबाट तीन अंक बटुलेको छ । पराजित नर्वे अंकविहीन छ । त्यसअघि नवौँ संस्करणको विश्वकपको इडेन पार्कमा भव्य उद्घाटन गरिएको थियो । स्थानीय कलाकार न्युजिल्याण्डका र अष्ट्रेलियाका मल्लराटले उद्घाटन समारोहमा महिला विश्वकपका लागि आधिकारिक गीत प्रस्तुत गरेका थिए । अब न्युजिल्याण्डले २५ जुलाईमा फिलिपिन्स र ३० जुलाईमा स्वीट्जरल्याण्डसँग खेल्नेछ । नर्वेले २५ जुलाईमा स्वीट्जरल्याण्ड र ३० जुलाईमा फिलिपिन्ससँग खेल्नेछ ।

न्युजिल्याण्ड र अष्ट्रेलियाका विभिन्न नौ स्थानमा आगामी २० अगस्टसम्म चल्ने महिला विश्वकपमा ३२ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई आठ समूहमा विभाजन गरिएको छ । हरेक समूहका शीर्ष दुई टोली प्रि-क्वाटरफाइनलमा पुग्नेछन् । फाइनल सिड्नीस्थित एकर स्टेडियम (स्टेडियम अष्ट्रेलिया) मा हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?