आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिङ्गो : कमल थापा

Read Time = 5 mins

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले आजको सडक संघर्ष तेस्रो जनआन्दोलनको पहिलो फिलिङ्गो भएको र  प्रारम्भिक संकेत भएको बताउनु भएको छ ।

जब अति हुन्छ,जब जनताको धैर्यको बाँध फुट्छ तब जनता सडकमा उत्रेर संकटको समाधान खोज्न बाध्य हुन्छन् भन्दै थापाले
संघीय गणतन्त्रको नाउँमा कायम रहेको भ्रष्ट व्यवस्था र तन्त्र अन्त्य गर्न जनता सडकमा उत्रनु वाहेक अर्को विकल्प नभएकोमा जोड दिनुभयो ।

आज काठमाडौंको शान्ती बाटिकामा आयोजित बिरोध सभालाई सम्बोधन गर्दै थापाले भन्नुभयो ‘जसले यो व्यवस्थाबाट अकुत सम्पत्ति जोडेका छन्, ब्रम्हलुट गरेका छन् र राजनीतिक साम्राज्य कायम गरेका छन् उनीहरु यो व्यवस्था परिवर्तन त के सुधार पनि गर्न चाहन्नन्’ भन्दै देश अहिले संकटको दलदलमा भासिएको चर्चा गर्नुभयो ।

नेपाली सेना वाहेक राज्यका सबै अंग, संरचना र निकायहरुमा धमिरा लागेको खिया लागेको भन्दै उहाँले सामान्य सुधारले अब संकटबाट मुक्ति सम्भव नभएको जिकिर गर्नुभयो । ‘अब व्यवस्था र प्रणाली नै परिवर्तन गर्नु आवश्यक छ,’ थापाले भन्नुभयो ।

जनताले न्याय पाउने अदालतबाट हो तर अदालतबाट काकताली परेर वाहेक साधारण अवस्थामा जनताले न्याय पाउने आशा मरिसकेको भन्दै उहाँले राजनीतिक पहुँच र सम्पर्कका आधारमा न्यायाधीशहरू नियुक्त हुन्छन्, त्यसैले राजनीतिक दल र नेताहरुको आदेश पालना न्यायपालिकाको नियति बनेको बताउनु भयो ।  नेताहरुको आदेश नमाने न्यायाधीशहरु महाभियोगको शिकार हुनुपर्ने दुखद अबस्था भएको समेत उहाँले भन्नुभयो ।

थापाले अख्तियारमा पार्टीको भागवण्डा अनुसार नियुक्ती हुने भएकोले अख्तियारले साना माछा मात्र समात्ने गरेको दाबी गर्नुभयो ।
‘प्रशासन र प्रहरी पार्टीको प्रभावमा रहेका छन्। आदेश अनुसार काम नगरे जागिर नै धरापमा पर्छ’ थापाको टिप्पणी थियो ।

ललिता निवासको सरकारी जग्गा काण्डमा सिबिआईले गरेको छानविन प्रशंसनीय भएको तर राजनीतिक नेतृत्वको दवावले गर्दा निर्णय सदर र निर्णय गर्ने मन्त्री र प्रधानमन्त्रीलाई छुन नसकेको उहाँको भनाई थियो । ‘नक्कली भुटानी शरणार्थी काण्डमा करोडौं रकम बुझेका व्यक्तिहरू  छानविनको घेरामा परेका छैनन्,’ उहाँले भन्नुभयो ।

प्रजातन्त्रको मेरुदण्ड मानिने चुनाव व्यापारिकरण र अपराधिकरणको प्रभावमा परेको छ। प्रदेश संरचना राजनीतिक अस्थिरता र भ्रष्टाचारको अखडा बनेको छ।

धर्मनिरपेक्षताको आडमा भैरहेको धर्मपरिवर्तनले सनातन धर्म संस्कृति कमजोर भएको छ। अर्थतन्त्र संकटग्रस्त भएको छ। मिटरव्याजी, सहकारी  र बैंकबाट लाखौं जनता पिडित भएका छन्। ‘यस्तो अवस्थामा अब सडकबाटै परिवर्तन खोज्नुपर्छ,’ थापाले भन्नभयो । भ्रष्ट व्यवस्था, भ्रष्टाचारी र लेण्डुपवादी प्रवृत्ति अन्त्य गर्न तेस्रो जनआन्दोलनको तयारीमा जुट्न आमजनसमुदायलाई आह्वान समेत थापाले गर्नुभएको छ ।

हिन्दु अधिराज्यको पुनस्थापना तथा सुशासन कायम गरी आर्थिक समृद्धिको लक्ष्य हासिल गर्न समान विचारधारा भएका सम्पूर्ण राष्ट्रवादी शक्तिहरु एकजुट हुन पनि उहाँले आग्रह गर्नुभयो ।

कार्यक्रममा बोल्दै वरिष्ठ अधिक्ता बिष्णु भट्टराईले कमल थापाको नेतृत्वबाट हुने आन्दोलनलाई सबैले साथ सहयोग गर्नुपर्ने आबश्यकता औल्याउनु भयो । कार्यक्रममा नेताहरु हिक्मतजङ्ग भण्डारी ,नगेन्द्र देउजा, उज्वल पोखरेल लगायतले बोल्नुभएको थियो। काठमाडौंको भद्रकालीबाट शुरु भएको र्‍याली नयाँ सडक, ईन्द्रचोक, असन भोटाहिटी हुँदै रत्नपार्कको शान्ती बाटिकामा पुगि बिरोध सभामा परिणत भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?