अधिकमास विचार

Read Time = 13 mins

‘अधिको + मासः = अधिकमासः’ अर्थात् वर्षमा एक चान्द्र महिना धेरै हुने समयलाई अधिकमास भनिन्छ । सौरमहिनाको अपेक्षामा एक चान्द्रमहिना धेरै हुने पञ्चाङ्ग गणनाको अवस्थिति नै अधिमासको हो । जुन चान्द्रमासमा एउटा पनि सूर्यको सङ्क्रान्ति पर्दैन त्यो चान्द्रमहिनालाई अशुद्ध वा मल मानिन्छ । यसरी सङ्क्रान्ति रहितको महिना नै मलमा, अधिकमा, अधिमास वा पुरुषोत्तम मास हो । ‘असंक्रान्तिमासोद्रधिमासः स्फुटं स्याद्..’ (सिद्धान्तशिरोमणिः, मध्यमाधिकारः श्लो.६ ) अर्थात् जुन चान्द्रमासमा एउटा पनि सङ्क्रान्ति पर्दैन त्यो चान्द्रमहिना अधिकमास हो ।

हाम्रो दैनदिन्नी व्यवहारमा दुई प्रकारका महिना प्रचलित छन् । पहिलो हो सौर महिना । सौरमहिना सूर्यको गतिका आधारमा निर्धारण हुन्छ । अर्थात् भनौ सूर्यले एक राशि (३० डिग्री) पार गर्दा एक महिना हुन्छ । यसैगरी सूर्यले १२ राशि (३६० डिग्री) पार गर्दा एकवर्षको समयअवधि हुन्छ । हाम्रा गतेको निर्धारणमा पनि सूर्यको गतिलाई नै आधार मानिएको छ । मध्यममानले सूर्यले एक अंश (१ डिग्री) पार गर्दा एक सौरदिन हुन्छ । व्यवहारलाई सहजताका साथै धर्मिक कार्य सम्पादनका निम्ति सौर महिनाअन्तर्गको दिन, महिना एवं वर्ष निर्धारण गरिएको छ ।

सूर्यको तुलनामा चन्द्रमाको गति चाँडो रहेकाले सौरको अपेक्षामा चान्द्रमास छोटा हुन्छन् । यसैगरी सौर र चान्द्रमहिनाको अन्तर जब एकमहिना बराबर हुन्छ अनि त्यो वर्षमा १३ वटा चान्द्रमहिना हुनपुग्छन् । यसरी वर्षमा एक चान्द्रमहिना धेरै हुने अवस्था नै अधिकमासको हो ।

माघेसंक्रान्ति, साउनेसंक्रान्ति, विवाह, विश्वकर्मा पूजा, व्रतबन्ध आदिकार्यका मुहूत्र्त निर्धारणमा सौरमहिना प्रधान रहन्छन् । जस्तो कि साउन, भदौ, असोज, कार्तिक, पौष र चैत्र महिनामा विवाह गर्न शास्त्रले निषेध गरेको छ (मुहूत्र्तचिन्तामणि, ६।१३)। माघे संक्रान्ति माघ एक गते नै मनाइन्छ । विश्वकर्मा पूजा आश्विन एक गते नै पर्छ । यसैले महिनको निर्धारण, पात्रोको प्रयोजन, तोकिएका धार्मिक कार्य सम्पादनका साथै वर्षगणनाका निम्ति पनि सूर्यका आधारमा निर्धारण भएका सौरमास अत्यावश्यक रहन्छन् ।

यसैगरी चन्द्रमासको आधारमा निर्धारण गरिने चान्द्रमहिना हो । चन्द्रमाले १२ राशि (३६० डिग्री) पार गर्न लाग्ने जुन समय हुन्छ त्यसलाई चान्द्रमास भनिन्छ । एक चान्द्रमहिनामा २७ वटा नक्षत्र चन्द्रमाले परिभ्रमण गर्दछन् । यही चान्द्र महिनका आधारमा सूर्य र चन्द्रमाबीच १२ डिग्रीको अन्तर भएको समयलाई एक तिथिका रूपमा लिइएको छ । अर्थात् एक चान्द्रदिन भन्नु नै एक तिथिको अवधि हो । हाम्रा अधिकांश धार्मिक पर्वको निर्धारण चान्द्रमहिनका आधारमा गरिएको छ । जस्तो कि दशैँ सधैं आश्विन शुक्लपक्षमा नै पर्दछ । यसैगरी आश्विन कृष्णपक्षमा सर्धैँ सोह्रश्राद्ध गरिन्छ ।

यसैगरी हाम्रा पैतृक कर्म श्राद्धादि कार्य पनि तिथिकै आधारमा निर्धारित छन् । दशैँ, तिहार, विवाहपञ्चमी, रामनवमी, अक्षयतृतीया, एकादशी, श्रीकृष्णजन्माष्टमी अदि पर्वको निर्धारण चान्द्र महिना कै आधारमा हुन्छ । यसैले चान्द्रमहिना पनि हाम्रो दैनन्दिनी व्यवहारको महत्वपूर्ण अङ्गका रूपमा रहेको छ । यसरी हाम्रा व्यवहारमा सौर र चान्द्र दुवै महिनाको गणना एवं व्यवस्थापन अनिवार्य रहन्छ । दुवै महिनाको तारतम्य मिलाएर नै हाम्रा धार्मिक एवं सांस्कृतिक पर्वहरू सम्पादन हुने गर्दछन् । सौर र चान्द्र महिना निर्धारण हुने सूर्य र चन्द्रमा आकाशमा एउटै गतिले चल्दैनन् । अर्थात् भनौं यी सूर्य र चन्द्रमा दुवैको गति भिन्न छ ।

सूर्यको तुलनामा चन्द्रमाको गति चाँडो रहेकाले सौरको अपेक्षामा चान्द्रमास छोटा हुन्छन् । यसैगरी सौर र चान्द्रमहिनाको अन्तर जब एकमहिना बराबर हुन्छ अनि त्यो वर्षमा १३ वटा चान्द्रमहिना हुनपुग्छन् । यसरी वर्षमा एक चान्द्रमहिना धेरै हुने अवस्था नै अधिकमासको हो जसलाई अधिमास, पुरुषोत्त वा मलमासका नामले सम्बोधन गरिन्छ ।

एक सौरमाहिनामा ३० दिन २६ घडी १७ पला हुन्छ । यसैगरी एक चान्द्र महिनामा २९ दिन ३१ घडी १७ पला हुन्छ । यसरी सौर र चान्द्रमहिना बीचको अन्तर एक महिनामा ५५ घडी देखापर्छ । यही अन्तरलाई ३२ (महिना) ले गुुणा गर्दा १७६० घडी हुन आउँछ । यसलाई ६० घडी (२४ घण्टा वा १ दिन) ले भाग गर्दा २९.३३ दिन हुन्छ । अर्थात् भनौं ३२ महिनाको अन्तरमा २९.३३ दिन अर्थात् एक चान्द्र महिना अधिक (धेरै) देखिन्छ । उक्त कुरालाई यसरी बताइएको छ : ‘चान्द्रोनसौरेण हृतात् तु चान्द्रादवाप्तसौरैर्दशनैर्दलाढ्यैः । मासैभैवेच्चन्द्रमसोद्रधिमासः....’ (सिद्धान्तशिरोमणि, मध्यमगतिवासना, श्लो १०) । अर्थात् साढे बत्तीस महिनापछि अर्को अधिमास पर्ने गर्दछ ।

सौर र चान्द्रमासलाई मिलान गर्न अधिमासको व्यवस्था गरिएको हो । जसले सौर र चान्द्रमासमा एकरूपता प्रदान गर्छ वा दुवैको अन्तर कम रहन्छ । यस्तो स्थिति प्रत्येक ३२ महिनामा देखापर्दछ । यसैले यी दुई महिनबीचको तारतम्य मिलाउन अधिमासको व्यवस्था गरिएको हो । यसरी सूर्य र चन्द्रमामा एक महिनाको अन्तर कुन महिनामा मिलाउने भन्दा जुन चान्द्रमहिनाले संक्रान्ति छुँदैन त्यही अधिकमास हुन्छ भनी शास्त्रमा यसरी बताइएको छ : ‘असंक्रान्तिमासोऽधिमासः स्फुटं स्याद्..’ (सिद्धान्तशिरोमणिः, मध्यमाधिकारः, अधिमासादिनिर्णयः, श्लो. ६ ) अर्थात् संक्रान्ति नछोएको चान्द्रमहिना नै अधिक हुन्छ ।

संक्रान्ति नपरेको महिना भएकाले यो चान्द्रमहिनालाई अशुद्ध वा मल मास भनिन्छ । यस्तो अशुद्ध वा मलमासका समयमा धार्मिक अनुष्ठा, विशेष जुराएर गर्नुपर्ने काम्यकर्म निषेध गरिएको छ । नैमित्तिक (नामकरण, अन्नप्रासन, अन्त्यकर्म आदि) कर्म मात्र गरिन्छन् ।

हाल २०८० सालको श्रावण महिनामा यस्तै स्थिति परेको छ । श्रावण २ गतेबाट ३१ गतेसम्म एक चान्द्रमहिनको पूर्ति भएको छ । अर्थात् भनौं श्रावण २ गते अधिक श्रावणशुक्लपक्षको प्रतिपदा छ भने श्रावण ३१ गते औँसी तिथि छ । सौर मानले श्रावण ३२ कोे महिना छ । यसरी एक चान्द्रमास (शुक्लप्रतिपदादेखि औँसीसम्म)मा एक संक्रान्ति पनि नपरेकाले यो समय अधिकमासका रूपमा राखिएको हो । किनकि महिना शुद्धिका निम्ति प्रत्येक सौर र चान्द्र महिनाको संक्रान्ति र औँसी पर्नु अनिवार्य मानिन्छ । वर्तमानको समयमा एक चान्द्रमास व्यतीत हुँदा एक संक्रान्तिले नछोएका कारण यस महिनालाई मलमासका रूपमा लिइएको हो । यसैगरी एक चान्द्र महिनाभित्र दुईवटा संक्रान्ति परेको समयलाई क्षयमास भनिन्छ । यो पनि मलमास नै हो । जुन निकै समयको अन्तरालपछि मात्र पर्ने गर्दछ ।

यसरी संक्रान्ति नपरेको महिना भएकाले यो चान्द्रमहिनालाई अशुद्ध वा मल मास भनिन्छ । यस्तो अशुद्ध वा मलमासका समयमा धार्मिक अनुष्ठा, विशेष जुराएर गर्नुपर्ने काम्यकर्म निषेध गरिएको छ । नैमित्तिक (नामकरण, अन्नप्रासन, अन्त्यकर्म आदि) कर्म मात्र गरिन्छन् । अशुद्ध महिना रहेकाले नै यो वर्षको दशैँ पनि एकमहिना पर सरेको हो । यो अधिक मासको समयमा पुरुषोत्तम (विष्णु) भगवान्को उपासना भने लाभप्रद रहने धर्मशास्त्रीय मान्यता रहेको छ ।

वस्तुतः सौरमहिनाको अपेक्षामा एक चान्द्र महिना धेरै हुने भएकाले संक्रन्तिरहित महिनालाई अधिकमास भनी निर्धारण गरिएको हो । सौर र चान्द्र महिनाको तादात्म्यका निम्ति ज्योतिषशास्त्रमा अधिकमास संस्कार गरी पञ्चाङ्ग निर्धारण गर्ने व्यवस्था रहेको छ । सूर्य र चन्द्रमा ग्रहका राजा हुन् । यी ग्रहकै आधारमा हाम्रा अधिकांश कार्य सम्पादन हुने भएकाले दुवै महिनाबीच एकरूपताका निम्ति गरिएको संस्कार विशेष नै अधिकमास हो । जसलाई ज्योतिषशास्त्रमा एक नियमित प्रक्रियाका रूपमा लिइन्छ । धार्मिक रूपमा भने यो समयमा काम्य (जुराएर गर्नुपर्न धार्मिक अनुष्ठान) निष्फल रहन्छन् यसैले नगर्नू भनेर बताइएको छ । नित्य र नैमित्तिक कर्म भने हुन्छन् ।

जस्तो कि वर्षौंदेखि लिइदै आएको श्रावणको सोमबारको व्रत यो नित्यकर्मअन्तर्गत नै पर्दछ । जुन यो अधिक र शुद्ध दुवै महिनामा लिनुपर्दछ । अन्य जुराएर गर्नुपर्ने कार्य भने अधिकमासको समयमा सम्पादन गरिँदैनन् । अधिकमासलाई मलमास भनिन्छ । मल अर्थात् अशुद्ध महिना भएकाले यस समयमा गर्भधानादि कार्य नगर्नु श्रेयस्कर हुन्छ । यसैले नवविवाहिता पतिपत्नी साथमा नरहनु भन्ने व्यवस्था रहेको हो । विकृत समयमा गरिएका कार्यको फल पनि विकृत नै रहन्छ । यसैले यो मलमास बार्नुपर्छ भनी शास्त्रनिर्देश भएको हो ।

यस्तो समयमा पुरुषोत्तम भगवान्को आराधना उत्तम रहन्छ । पुरुषोत्तम माहात्म्य श्रवण, व्रत धारण आदि यो समयमा शुभ रहन्छन् । श्रावण महिना परेकाले शिव आराधाना पनि यो समयमा गर्न सकिन्छ । केवल जुराएर, कुनै फलको अपेक्षा गरेर सम्पादन गर्ने कार्य भने यो समयमा गरिँदैनन् । किनकि यस्ता काम्य कर्म निष्फल रहने गर्दछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?