बैंकिङ विज्ञ विएन घर्तीको पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ प्रकाशित

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । बैंकिङ क्षेत्रमा रुचि भएका सबैका लागि उपयोगी नयाँ पुस्तक ‘बैंकिङ अनुशासन’ बजारमा आएको छ । दिगो विकासका लागि बैंकिङ अनुशासन आवश्यक पर्ने आशय सहितको पुस्तक बैंकिङ विज्ञ विएन घर्तीले लेख्नुभएको हो ।

झण्डै तीन दशक बैंकिङ क्षेत्रमा विताउनुभएका घर्तीले आफ्ना अनुभवदेखि अध्ययन अनुसन्धानमुलक लेख रचनाहरु पुस्तकमा समावेश गर्नुभएको छ ।

बैंकिङ क्षेत्रका विविध विषयलाई विश्लेषण गर्दै नीतिगत मार्गदर्शन गर्ने, जनचेतना दिलाउने र जीवन उपयोगी हुने लेख तथा विचारहरू पनि उहाँको पुस्तकमा छन् ।

कर्मचारीहरूलाई अनावश्यक बिक्री लक्ष्य दिँदाका बेफाईदा, पारिश्रमिक दिनेगरी व्यवसायिक सञ्चालक नियुक्त गर्नुपर्ने कारण, बैंकहरू एक नम्बर हुने दौडमा सामेल हुदाँको प्रभाव, फाइनान्स कम्पनी र विकास बैंकको आवश्यकता, लघुवित्तको सकारात्मक र नकारात्मक पक्ष, बैंकिङ विक्रिति र नीतिगत विषयमा राष्ट्र बैंकको भूमिका, नीतिगत कमजोरीपूर्ण अवस्था लगायतका सामग्रीहरूका कारण पुस्तक निकै ज्ञानवद्र्धक रहेको बैंकिङ क्षेत्रकै व्यक्तिहरूले बताएका छन् ।

पुस्तकको समीक्षा गर्दै पूर्व बैंकर सशिन जोशीले बीएन घर्तीद्वारा लिखित बैंकिङ अनुशासन शीर्षकको पुस्तकलाई नेपाली बैंकिङ इतिहासको एक अमुल्य खजानाको संज्ञा दिनुभएको छ । विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेहरूका लागि मात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यवसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेशाकर्मी र बैंक नियामकहरूका लागि पनि यो पुस्तक एक उत्कृष्ट तालिम तथा सन्दर्भ पुस्तक हुने जोशीको ठम्याई छ ।

आफै पनि बैंकको तल्लो तहदेखि कार्यकारी नेतृत्व तहसम्मको जिम्मेवारी सम्हालेको र अनुभव भएको व्यक्तिले लेखेको पुस्तक भएकाले बैंक तथा वित्तीय संस्थाको जुनसुकै भूमिकामा रहेका व्यक्तिका लागि पनि यो पुस्तक मार्गदर्शक बन्ने अर्का बैंकर जगत पोखरेलले बताउनुभयो ।

पुस्तक बढेपछि बैंकिङ क्षेत्रका कर्मचारीहरुमा केही न केही परिवर्तन आउने लेखक घर्तीको विश्वास छ । व्यवस्थापन संकायका सबै विद्यार्थीहरुका लागि गतिलो पाठ्यसामग्रीको रुपमा समेत पुस्तक उपयोगी हुने प्राध्यापकहरूको भनाइ छ ।

बैंक तथा वित्तिय संस्था र इन्स्योरेन्सका विषयमा अध्ययन, अनुसन्धान र प्रशिक्षणको काम गर्दै आएको बैंक विज्ञ घर्तीको आफ्नै संस्था बैंकिङ एण्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रा.लि. (विआईएम)ले पुस्तक प्रकाशन गरेको हो । कुल ४४४ पृष्ठ रहेको पुस्तक बाक्लो देखिएपनि गुणस्तरीय कागजका कारण हलुका र आकर्षक छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?