एन्फामा बढ्यो चुनावी सरगर्मी

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को अर्को महिना हुने निर्वाचनका लागि चुनावी सरगर्मी बढेको छ । विभिन्न पदमा आकांक्षीहरूले मनोनयन दर्ता गराउने, भोट माग्ने, आफूनिकटका व्यक्तिहरूको भेला गर्ने, बैठक डाक्ने, आफ्ना एजेन्डाहरूसहित प्रचारप्रसारको काम तीव्र पारेका छन् ।

एन्फाको निर्वाचन समितिले जेठ ६ देखि १२ गतेसम्मका लागि मनोनयन दर्ताका लागि समय तोकेको थियो । एन्फाको साधारणसभाले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष र दुई महिलासहित १५ सदस्य निर्वाचित गर्नेछ । तर, बुधबारसम्म ५० जनाभन्दा बढीको उम्मेदवारी परेको छ ।

वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङले प्यानलसहित अध्यक्षमा मनोनयन दर्ता गराउनुभएको छ । नेम्बाङको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले मनोनयन दर्ता गराउनुभएको छ । यस्तै शेर्पा समूहबाट शिक्षित पराजुलीले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

नेम्बाङको समूहबाट चार उपाध्यक्षका लागि काठमाडौं जिल्ला फुटबल संघका अध्यक्षसमेत रहनुभएका विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडा हुनुहुन्छ । यस्तै शेर्पा समूहबाट एन्फा उपाध्यक्षमा उपेन्द्रमान सिंह, दीर्घबहादुर केसी, रत्नकुमार श्रेष्ठ र विज्ञानराज शर्माले उम्मेदवारी दिनुभएको छ ।
नेम्बाङका तर्फबाट भोजपुर एन्फा अध्यक्ष प्रविण सुवाल, ललितपुर एन्फा अध्यक्ष पुरुषोत्तम थापा, जावलाखेल युथ क्लबका अध्यक्ष महेन्द्र क्षेत्री, मनाङ मस्र्याङ्दी क्लबका अध्यक्ष एवं एन्फा सदस्य विजय घले, रौतहटका नेपाल कार्की, धनुषाका तपेश्वर राउत र काभ्रेका विकासनारायण श्रेष्ठले सदस्य पदमा उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शेर्पा समूहबाट मणिकुमार लिम्बू, मणिराज विष्ट, तपेश्वरकुमार राउत, मानदेव हजारा, दिपेन्द्र धिमाल बुढथापा, अनिल श्रेष्ठ, रामराजा गुरुङ, लोकेन्द्र गुरुङ, प्रदेश सिंह राठौर, मनिष जोशी, रूपेश अधिकारीले सदस्यमा मनोनयन दर्ता गराउनुभएको छ । दुई महिला सदस्यका लागि विमला पौडेल, सरिला श्रेष्ठ मलेकु, विन्द्रा देवान, पेमा डोल्मा लामा र विना नवाछे श्रेष्ठले मनोनयन दर्ता गराउनुभएको छ । अध्यक्षमा उम्मेदवारी घोषणा गरेपछि शेर्पाले कोभिड महामारीका कारण सोचेअनुसार काम गर्न नपाएको भन्दै अब आफूले काम गर्न चाहेको बताउनुभयो । ‘महामारीको समयमा लिगलाई निरन्तरता दियौँ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरू आयोजना तथा सहभागिता जनायौँ । यो कोभिडको समयमा हामीले ३४ अन्तर्राष्ट्रिय खेल र खेलाडीलाई १२० दिनभन्दा बढी सुविधासम्पन्न होटेलमा राख्यौँ,’ शेर्पाले भन्नुभयो ।

यस्तै नेम्बाङले नेपाली फुटबललाई अघि बढाउन आफूले उम्मेदवारी दिएको बताउनुभएको छ । ‘परिवर्तनका लागि समूह एकता, आर्थिक पारदर्शितालगायत मुद्दा उठाएका थियौँ । तर क्षणमै हरायो । आर्थिक अनियमितता चरममा पुग्यो । फिफाले अनेक कम्पनी पठाएर अडिट गरेको छ । नेपाललाई दिने ग्रान्टबाट काटिएको छ । त्यसैको सुधारका लागि मैले उम्मेदवारी घोषणा गरेको छु,’ उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?