मालिकाद्वारा स्थानीय जातको आलुलाई ब्राण्डिङ

Read Time = 4 mins

-रमेश विश्वकर्मा

गुल्मी । गुल्मीमा स्थानीय जातको आलुलाई ब्राण्डिङ्ग गर्न सुरू गरिएको छ । जिल्लाको पश्चिम क्षेत्र मालिका गाउँपालिकामा परम्परागत रूपमा उत्पादन हुदैँ आएको स्थानीय जातको रैथाने आलुलाई बजारीकरण गर्न आलु ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग गरी बजारमा ल्याइएको हो ।

स्थानीय उत्पादनलाई प्रर्बद्धन गरी कृषकलाई उचित मुल्य प्रदान गर्न आयातित संस्कार र परिकारको साटो आर्गानिक परिकारलाई प्राथमिकता दिन रैथाने आलुलाई बजारमा ल्याईएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार अर्खाबाङ्ग लगायतका क्षेत्रमा उत्पादन हुदैँ आएको रैथाने आलुको प्रचारप्रसार गरी बजारीकरण गर्न गाउँपालिका र कृषि ज्ञान केन्द्र गुल्मीले आलु ब्राण्डिङ्ग, लेवलिङ्ग र प्याकेजिङ्ग गरी बजारमा ल्याइएको हो ।

अर्खबाङ्ग क्षेत्र आलु उत्पादनको लागि जिल्लाकै प्रसिद्ध मानिन्छ । उपयुक्त हावापानी हुदाँ थोरै मेहेनतमा यहाँका कृषकले मनग्य आम्दानी गरिरहेका छन्। यस क्षेत्रको आलु अर्गानीक भएकाले खानामा स्वादिष्ट र पोसिलो मानिन्छ । स्थानीयले वषौंदेखि बारीमा आलुको बिउ बिनानै परम्परा देखि आलु खेती गर्दै आईरहेका छन् । यसबाट गाउँका कृषकले बजार पाउने र शहरका उपभोक्ताले गुणस्तर पाउनेछन्।

ग्रामिण क्षेत्रमा उत्पादन भएको रैथाने आलुलाई ५ केजी, १० केजी र २० केजीका बोरामा प्याकेज गरेर तम्घास, बुटवल लगायतका ठुला बजार क्षेत्रमा पुर्‍याउने तयारी भईरहेको मालिका गाउँपालिकाका अध्यक्ष देविराम अर्यालले जानकारी दिनुभयो ।

मालिकाको रैथाने सेतो आलु एक वर्ष लगाएपछि वषौं लगाउन नपर्ने र पटक पटक यसले उत्पादन दिईरहने यहाँको आलुको बिशेषता नै हो । यस वर्ष करिब ६६० रोपनी आलु पकेट क्षेत्रमा ३ सय टन भन्दा धेरै आलु फलेको छ । कृषकले उत्पादन गर्दै आलुलाई स्थानीय पहिचान गरी गाउँपालिकाले अब दिर्घकालीन योजना बनाएर आलुखेती र बजारीकरणमा ध्यान दिनुपर्ने जिल्ला समन्वय समिति प्रमुख द्रोण बहादुर खत्रीले बताउनुभयो ।

गाउँपालिकाले आलु खतीमा राम्रो सम्भावना देखेपछि यस क्षेत्रलाई आलु पकेट क्षेत्र घोषणा गरी विभिन्न किसिमका कार्यक्रम अगाडी बढाइएको गाउँपालिका अध्यक्ष देविराम अर्यालले बताउनुभयो । आलुले बजार र कृषकले परिश्रमको उचित मुल्य पाउने भएपछि आफूहरूमा केहि आशा थपिएको कृषक देव अर्यालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?