निर्माण सुरु भएको छ वर्ष वित्यो, अझै अधकल्चो छ बेनी अस्पतालको भवन

Read Time = 5 mins

-ध्रुवसागर शर्मा
म्याग्दी । निर्माण सुरु भएको छ वर्ष वितिसक्दा पनि म्याग्दीको बेनी अस्पताल भवन अझै अधकल्चो अवस्थामा छ ।

सघन सहरी तथा भवन निर्माण आयोजना बागलुङले विसं २०७३ मङ्सिर २१ गते दुई वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी भवन निर्माणका लागि महादेव खिम्ती–गल्वा–रफिना जेभीसँग रु १८ करोड ८४ लाख आठ हजार ८९ मा ठेक्का सम्झौता गरेको थियो । रु २४ करोड चार लाख २९ हजार ८६९ लागत अनुमान गरिएको भवन विसं २०७६ मङ्सिर २० गते निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता थियो ।

तर सम्झौता गरेको ६ वर्ष र भवन निर्माण गरिसक्नुपर्ने मिति भन्दा चारवर्ष ढिला भैसक्दा पनि ५० शय्या क्षमताको अस्पताल भवनको अहिलेसम्मको भौतिक प्रगति ७५ प्रतिशत मात्रै रहेको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले जानकारी दिनुभयो । अध्यक्ष सुवेदीका अनुसार तेस्रो पटक थपिएको म्याद पनि गत असार मसान्तमा सकिएको छ ।

भवन निर्माणमा भएको ढिलासुस्तीका विषयमा पालिका, जिल्ला, प्रदेश र प्रतिनिधिसभाका जनप्रतिनिधिले सम्बद्ध आयोजना कार्यालय, सहरी विकास मन्त्रालय, राष्ट्रिय योजना आयोग र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानाकर्षण गराउँदै आएका छन् ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जाली र सांसद हरि भण्डारीले गत फागुनमा प्रधानमन्त्री दाहाललाई भेटेर सचिवालयमार्फत मन्त्रालयका सचिव, विभागका महानिर्देशक र साझेदार महादेव खिम्तीका सञ्चालकसमेत रहेका निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहलाई फोनमार्फत ताकेता गर्नुभएको थियो । केही दिन अघि पनि मन्त्री जुग्जालीले महादेव खिम्तीका सञ्चालक रवि सिंहलाई ताकेता गर्नुभएको छ ।

आयोजनाका इञ्जिनियर पङ्कज सिंहका अनुसार चार हजार नौ सय ६३ वर्गमिटर क्षेत्रफलमा बनाउन लागिएको चार तले तीन वटा भवनको एउटा भवनको एउटा तला ढलान, झ्यालढोका राख्न, विद्युत्, पानी जडान, रङरोगन र टायल राख्न बाँकी छ । हालसम्म ७५ प्रतिशत भौतिक प्रगति भएको उहाँले बताउनुभयो ।

अहिले बहिरङ्ग कक्षको सेवा अस्थायी भवनबाट सञ्चालन गरिएको छ । आकस्मिक र अन्तरङ्ग कक्ष पुरानो प्रशासनिक भवनबाट सञ्चालन गरिएको छ । स्वास्थ्य कार्यालयको भवनमा अस्पताल प्रशासन र व्यवस्थापन समितिको कार्यालय राखिएको छ ।

अस्पतालका प्रमुख चिकित्सक डा अञ्जु थापाले भवन अभावमा विशेषज्ञ चिकित्सक आउन नमान्ने, म्याग्दीले पाउनुपर्ने हब अस्पतालको कार्यक्रम अन्यत्र जिल्लामा गएको बताउनुभयो । सघन उपचार कक्ष (आइसियु) र डायलासिस कक्ष पनि स्वास्थ्यकै भवनमा स्थापना भएको छ ।
सरोकारवालाको चौतर्फी दबाब र ताकेतापछि गत चैत महिनामा दुई वर्षपछि निर्माण व्यवसायी काममा फर्किएका थिए । निर्माण कम्पनीका प्रतिनिधि रविन जोशीले आयोजना कार्यालयमा पेश गरेको बिलको रकम भुक्तानीमा भएको ढिलाइका कारण निर्माण सामग्री जुटाउन र मजदुर परिचालन गर्न समस्या भएको बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?