प्रहरीद्वारा ज्यादती भएको भन्दै बारामा विगत पाँच दिनदेखि दिनहुँ प्रदर्शन

Read Time = 3 mins

-संजीवकुमार मिश्रा
बारा । प्रहरी ज्यादतीको विरोध गर्दै विगत पाँच दिनदेखि बाराको सदरमुकाम कलैयामा राजनीतिक दलहरुले प्रदर्शन गर्दै आएका छन् ।

नेपाली काँग्रेसको नेतृत्वमा जिल्ला स्थित विभिन्न राजनितिक दलहरुले बाराका प्रहरी नायब उपरिक्षक पुरुषोत्तमप्रसाद पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बनको माग गर्दै कलैयामा प्रदर्शन गर्दै आएका हुन् ।

नेपाली काँग्रेसको नेतृत्वमा भइरहेको आन्दोलन प्रति जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नेकपा एकीकृत समाजवादीसहितका राजनीतिक दलहरुले ऐक्यबद्धता जनाउँदै कलैयामा प्रदर्शन गरेका हुन् ।

नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा समाजवादीका जिल्ला उपसचिव ध्रुव यादवलाई दुव्र्यवहार र कुटपिट गर्ने प्रहरी नायब उपरिक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहलाई निलम्बन नगरिएसम्म आन्दोलन नरोकिने नेपाली काँग्रेस बाराका उपसभापति मनोज भट्टले बताउनु भयो ।

प्रहरी निरीक्षक साहको कुटाईबाट नेपाली काँग्रेस बाराका जिल्ला सचिव भैयाराम यादवको टाउको र ढाडमा चोट लागेर वीरगंजस्थित स्पर्श अस्पतालमा उपचार भइरहेको छ ।

स्पाइनलमा समस्या भएको छ, विरामी भैयाराम यादवले भने,‘स्पाइनलको नशा कुटाईको कारण चेपिएको र यसको अपरेशन गर्नु पर्ने डाक्टरले सल्लाह दिएको छ । यसको राम्रो उपचार दिल्लीमा हुन्छ त्यसै कारण सोमबार दिल्ली जाने तयारी भइसकेको छ । दिल्ली गएर नै चेकजाँच गराउने उहाँले जानकारी दिनुभयो ।

सवारी दुर्घटनाको विषयमा जिल्ला प्रहरी कार्यालयमा छलफल गर्ने क्रममा गएको साउन २ गते नेपाली काँग्रेसका जिल्ला सचिव भैयाराम यादव र नेकपा एकिकृत समाजवादीका जिल्ला उपसचिव ध्रुव यादवलाई प्रहरीले कुटपिट गरेर घाइते बनाएकाे उनीहरुकाे आराेप छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?