चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय टोली काठमाडौंमा

माओवादी नेताहरू भने भारत प्रस्थान

डिबी शर्मा
Read Time = 6 mins

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)का पोलिटब्युरो सदस्य युआन च्या च्युन नेपाल आउनुभएको छ । तीनदिने नेपाल भ्रमणका लागि उहाँ आइतबार काठमाडौं आइपुग्नु भएको हो । सिपिसीको उच्चस्तरीय टोलीलाई त्रिभुवन विमानस्थलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ लगायतले स्वागत गर्नुभएको हो । चिनियाँ राष्ट्रपति सी चिनफिङका विश्वासपात्रसमेत रहनुभएका उहाँले नेपालमा उच्चस्तरीय राजनीतिक भेटघाट गर्नुहुने छ । नेपाल भ्रमणमा आउनुभएका युआन सीपीसीका २४ जना केन्द्रीय पोलिटब्युरो सदस्यमध्ये एक हुनुहुन्छ । गत पुस १० मा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि चीनबाट भएको यो उच्चस्तरको भ्रमण हो ।

च्युन नेतृत्वको प्रतिनिधिमण्डलले भ्रमणका क्रममा रहेको टोलीले आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेको छ । च्युन नेतृत्वको टोलीले राष्ट्रपतिको कार्यालयमा शीतलनिवासमा शिष्टाचार भेटवार्ता गरेको हो । भेटमा दुई देशबीच रही आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । ‘भेटका अवसरमा राष्ट्रपतिज्यूले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यसप्रकारको उच्च तहको भ्रमणले दुई देशबीच रही आएको बहुआयामिक सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पु¥याउने विश्वास व्यक्त गर्नुभयो,’ कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उहाँले आइतबार नै कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्रका कार्यवाहक अध्यक्ष नारायणकाजी श्रेष्ठसँग पनि शिष्टाचार भेटवार्ता गर्नुभएको छ । सिपिसीका नेता युआनले कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललगायतसँग पनि भेट्ने कार्यक्रम छ । च्युनको भ्रमणको चाँजोपाँजो मिलाउन चीनको नेपाल मामिलाका कूटनीतिज्ञ शनिबार नै नेपाल आइपुग्नु भएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँग ‘भर्चुअल’ वार्ता
दुईदिने इटली भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालको तीनदिने भ्रमणमा आउनुभएका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनबीच ‘भर्चुअल’ वार्ता भएको छ । काठमाडौं आइपुगेको चिनियाँ उच्चस्तरीय टोलीले इटाली भ्रमणमा रहनुभएका प्रचण्डसँग जुममार्फत छलफल गरेको हो । उहाँहरूबीच आधा घण्टा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार उहाँहरूबीच दुई मुलुकबीचको आपसी सहयोग र सहकार्यका विषयमा छलफल भएको हो । यसअघि प्रधानमन्त्री प्रचण्डसँग भौतिक रूपमै भेट्ने कार्यक्रम भए पनि उहाँले विदेश भ्रमणमा भएकोले अनलाइन वार्ता गरिएको हो ।

भाजपाको निमन्त्रणामा माओवादी नेताहरू दिल्ली प्रस्थान
चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युन नेपाल भ्रमणमा रहेका बेला सत्तारूढ नेकपा–माओवादी केन्द्रका नेताहरू भने भारत भ्रमणमा गएका छन् । भारतीय सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा माओवादी नेताहरू भारत गएका हुन् । माओवादी केन्द्रका उपमहासचिव पम्फा भुसालका नेतृत्वमा पाँच सदस्यीय टोली आइतबार ६ दिने भारत भ्रमणमा गएको हो । टोलीमा सचिव चक्रपाणि खराल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरू रामेश्वर राय यादव र सुरेशकुमार राई रहेका छन् । भाजपाले संसारभरिका पार्टीहरूसँग सम्बन्ध विस्तार गर्ने योजनाअन्तर्गत माओवादी केन्द्रलाई औपचारिक रूपमा निम्तो दिएको हो । भारत भ्रमणको क्रममा माओवादी नेताहरूले नयाँदिल्लीस्थित भाजपाको मुख्यालयको अवलोकन तथा भाजपा पार्टीका बारेमा जानकारी दिनेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?