एकै दिन १०१ फार्मेसीको अनुगमन, १० फार्मेसी सिल, दुई दर्जनभन्दा बढीलाई सचेत पत्र

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एकै दिन काठमाडौं उपत्यकामा एक सय एकवटा औषधि पसलको अनुगमन गरेको छ । अनुगमन टोलीले काठमाडौं उपत्यकामा नियम विपरीत सञ्चालित १० वटा औषधि पसल सिल गरेको छ भने दुई दर्जनभन्दा बढीलाई सचेत पत्र दिएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको निर्देशनानुसार मन्त्रालयले २० वटा टोली बनाएर सोमबार उपत्यकाका विभिन्न क्षेत्रमा अनुगमन गरेको हो । फर्मासिस्टको प्रमाणपत्र भाडामा लिएर अर्कै व्यक्तिलाई कर्मचारी खटाएको, औषधि व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको र अनुमति नलिई औषधि पसल सञ्चालन गरेको गुनासो आएपछि मन्त्री बस्नेतले देशभर अनुगमन गर्न औषधि व्यवस्था विभागलाई निर्देशन दिनुभएको थियो ।

मन्त्री बस्नेत स्वयं अनुगमनमा निस्किनुभएको थियो । अनुगमन टोलीमा औषधि व्यवस्था विभाग, मन्त्रालय र स्वास्थ्य सेवा विभागका विज्ञ कर्मचारी संलग्न थिए । अनुगमन टोलीले सोमबार साँझै मन्त्री बस्नेतसमक्ष अनुगमन र औषधि पसल सञ्चालनको अवस्थाका विषयमा जानकारी गराएका थिए । अनुगमन टोलीका संयोजकहरूका अनुसार फरक व्यक्तिको फर्मासिस्टको प्रमाणपत्र राखेर औषधि पसल सञ्चालन गर्नेको संख्या उल्लेख्य छ ।

अनुगमनका क्रममा बिक्री वितरण गर्न अनुमति नलिई ‘न्युटास्युटिकल’ सामग्री बिक्री वितरण गर्ने, म्याद गुज्रिएका औषधिको भण्डार अलग नराख्ने, दर्ता नभएका र सरसफाइमा ध्यान नदिएका औषधि पसल भेटिएका थिए । अनुगमनमा संलग्न डा. हेमन्त ओझाले आफूहरूले निरीक्षणका क्रममा दर्ता नगरी सञ्चालनमा रहेका औषधि पसल सिल गरेको बताउनुभयो । ‘गोकर्णेश्वरमा दर्ता नै नगरिएका औषधि पसल फेला परेपछि दुईवटा सिल नै गरिएको छ’, अर्का टोलीका संयोजक सागर दाहालले जानकारी दिनुभयो । छलफलमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले अनुगमनलाई निरन्तरता दिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?