सुन बरामद प्रकरण : सरकारविरुद्ध आक्रामक एमाले, गृहमन्त्री तारो

डिबी शर्मा
Read Time = 9 mins

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार पास भएर आएको करिब सय किलो सुन बरामद प्रकरणमा प्रमुख प्रतिपक्षी नेकपा (एमाले) सरकारविरुद्ध आक्रामक भएको छ । सुन बरामदलगत्तैै सरकारविरुद्ध खनिएको एमाले पछिल्लो समय सरकारविरुद्ध थप आक्रामक बन्दै गएको हो । एमालेले सुन प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई मुख्य तारो बनाएको छ । एमालेले गृहमन्त्री श्रेष्ठविरुद्ध सडकसमेत तताएको थियो । सडक आन्दोलन गर्दै एमालेको भ्रातृ संगठन युवा संघ नेपालले गृहमन्त्री श्रेष्ठको राजीनामासमेत मागेको थियो । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको युवा संघको तर्क थियो ।

त्यसयता एमाले नेताहरूले निरन्तर गृहमन्त्री र सरकारविरुद्ध आक्रामक अभिव्यक्ति दिइरहेका छन् । स्वयं एमाले अध्यक्ष केपी शर्मा ओलीले समेत गृहमन्त्री श्रेष्ठलाई नै तारो बनाउनुभएको छ । कम्बोडिया भ्रमणबाट फर्केलगत्तै उहाँले सुन प्रकरणमा मुख खोल्नुभएको हो । यसअघि एमाले महासचिव शंकर पोखरेलसहितका नेताहरूले पनि सरकारमाथि गम्भीर प्रश्न उठाएका थिए । महासचिव पोखरेलले सुन प्रकरणमा सत्तामा रहेका विशेष गरी माओवादी पक्षधरहरूबाट अरूको गालामा बियाँ टाँस्ने धन्दा भइरहेको आरोप लगाउनुभएको थियो ।

गत मंगलबार विमानस्थल भन्सारसमेत पार गरेर सिनामंगल सडकसम्म पु¥याइएको सुन बरामद भएको थियो । करिब सय किलो भनिएको सुनको यकिन विवरण भने आइसकेको छैन । बरामद सुन नेपाल राष्ट्र बैंकको टक्सार विभागमा राखिएको छ । सुन परीक्षण र तौलिने कामसमेत सुरु भएको छैन । तस्करी प्रकरणमा जोडिएका केही व्यक्ति पक्राउ परेका छन् । तर, सुन ओसार्ने भरिया मात्रै पक्राउ परेका छन् ।

सुन बोक्न लगाउनेलाई कारबाही नगरेसम्म एमाले चुप लागेर बस्दैन : ओली
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको बारेमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउनुभएको छ । कम्बोडियाको भ्रमण गरेर स्वदेश फर्किने क्रममा विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उहाँले गृहमन्त्रीले गैरजिम्मेवार अभिव्यक्ति दिएको बताउनुभयो ।

गृहमन्त्रीले सुन तस्करीमा आफ्नो संलग्नता छ/छैन भन्ने कुरा प्रमाणित गर्नुपर्ने उहाँले बताउनुभयो । आफ्नो संलग्नता नभए कसको छ ? भन्नुपर्ने उहाँको भनाइ थियो । ‘नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ । उहाँले विमानस्थलमा सुरक्षा बन्दोबस्त गरेको छ कि छैन ? विमानस्थलको सुरक्षा गर्ने काम उहाँको हो कि होइन ? क्विन्टलका क्विन्टल सुन बाहिर जान्छ, गृहमन्त्री टारको गालामा गएर काँक्रोको बियाँ अर्काको गालामा टाँस्नुहुन्छ,’ ओलीले भन्नुभयो, ‘यो अनैतिक क्रियाकलाप हो । सानो तिनो संलग्नताबाट त यो काम भएको छैन होला ? उहाँको संलग्नता छ कि छैन ? छैन भने कसको संलग्नता छ ? म उहाँलाई सचेत गराउन चाहन्छु, गृहमन्त्रीको हैसियतले उहाँले बोल्दा तरिका पुर्‍याएर बोल्नुपर्छ । जथाभावी बोल्ने गृहमन्त्री भएर ?’

सुन तस्करीको विषयलाई छोप्न गृहमन्त्रीले कुराहरू मोड्ने काम गरिरहेको ओलीले बताउनुभयो । अनियमितता गर्नेहरूलाई अब छुट नहुने उहाँले बताउनुभयो । सुन काण्डको कारबाही अन्तिमसम्म नपु¥याईकन एमालेले नछोड्ने उहाँले उद्घोष गर्नुभयो । सुन बोक्नेभन्दा पनि बोक्न लगाउनेलाई समातेर कारबाही नगरेसम्म एमाले चुप लागेर नबस्ने उहाँले चेतावनी दिनुभयो । ‘सुन काण्डको सिलसिला अन्तिमसम्म नपु¥याईकन हामी पनि छोड्दैनौँ । गृहमन्त्रीलाई थाहा होस्, पहिला पनि सुन काण्ड तस्करी हुने गरेको थियो । फेरि पनि यस्ता कुरालाई हामी खनेर ननिककालेसम्म छोड्दैनौँ,’ उहाँले भन्नुभयो, ‘यसमा कारबाही के हुन्छ, कसमाथि कारबाही हुन्छ ? हेरिरहेका छौँ । बोक्न त प्लेन, गाडी र भरियाले बोक्यो होला तर बोकाउने को ? कसले बोकायो ?’ गृहमन्त्री भएर गैरजिम्मेवार अभिव्यक्ति दिँदै नहिँड्न उहाँले चेतावनी दिनुभयो ।

ठूला-साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौँ : गृहमन्त्री
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अपराधमा संलग्न सबैलाई कानुनी दायरामा ल्याएरै छोडिने बतानुभएको छ । प्रेस सेन्टर नेपाल गोरखाले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गृहमन्त्री श्रेष्ठले अपराधका घटनामा कमी ल्याउन प्रहरीले गम्भीर अनुसन्धान गरिरहेको बताउनुभयो । तथ्य र प्रमाणका आधारमा पक्राउ गरी कारबाही पक्रिया अघि बढाइने उहाँले बताउनुभयो । ‘ठूला, साना जो भए पनि दोषीलाई कानुनी दायरामा ल्याउँछौं,’ उहाँले भन्नुभयो, ‘अनुसन्धानमा विराम लाग्यो नठान्नुहोला । अनुसन्धान जारी छ ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पछिल्लोपटक भएको सुन तस्करीको घटनामा प्रहरीले गहिरो ढंगबाट अनुसन्धान गरिरहेको गृहमन्त्री श्रेष्ठले बताउनुभयो । ‘जरैसम्म पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिएको छु,’ उहाँले भन्नुभयो, ‘दोषीलाई कुनै पनि हालतमा उम्कन दिइँदैन ।’ भ्रष्टाचार विरुद्धको अभियान पनि दृढताका साथ अघि बढाइने गृहमन्त्री श्रेष्ठले बताउनुभयो ।

फेरिए विमानस्थलका प्रमुख भन्सार प्रशासक
सय किलो सुन बरामद भएको सातापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको प्रमुख भन्सार प्रशासक परिवर्तन गरिएको छ । अर्थ मन्त्रालयले भन्सारको प्रमुख प्रशासकमा सहसचिव टोकराज पाण्डेलाई पठाएको हो । निजामती किताब खानाका प्रमुख पाण्डेलाई आइतबार अर्थ मन्त्रालयले सरुवा गरेको हो । भन्सारका प्रमुख प्रशासक अरुण पोखरेल सुन बरामद हुनुभन्दा दुई साताअघि नै बिदामा बस्नुभएको थियो । सहसचिवको दरबन्दी रहेको प्रमुख भन्सार प्रशासकको दरबन्दीमा उपसचिवले काम गर्दै आएका थिए । उपसचिवले निमित्त भएर भन्सार प्रमुखको काम गरिरहेका बेला सुन बरामद भएको हो । सुन तस्करीमा बेला ड्युटीमा रहेका कर्मचारीलाई निलम्बन गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?