गुल्मीका निर्माण व्यवसायीद्वारा सरकारलाई ध्यानाकर्षण

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 4 mins

गुल्मी । निर्माण व्यवसायी संघ गुल्मीले विभिन्न माग राखी सरकारलाई ध्यानाकर्षण-पत्र बुझाएको छ । प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नौ बुँदे मागसहित ध्यानाकर्षण पत्र बुझाएको निर्माण व्यवसायी संघ गुल्मीका महासचिव हरिकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

महासचिव श्रेष्ठका अनुसार सबै निर्माण कार्यको भुक्तानी हुनुपर्ने, नेपाल सरकारबाट जारी म्याद थपको आदेशमा संशोधन गरि सम्पूणर् आयोजनाहरुको एकमुष्ट रुपले म्याद थप गर्न पुनः आदेश जारी गर्नुपर्ने, अत्याधिक र अप्रत्याशित रुपले भएको मूल्यवृद्धिलाई सम्बोधन हुने गरि मूल्य समायोजन गरिनुपर्ने माग रहेको छ ।

यस्तै रुग्ण आयोजनाहरु अन्यौलग्रस्त र बजेट नभई काम हुन नसक्ने एवम् काबु बाहिरका निर्माण कार्य सुविस्तारको आधारमा अन्त्य गनुपर्ने, चेक बाउन्स र बैंक ग्यारेन्टी जफत गर्ने लगायतका कार्वाही गर्न रोकिनुपर्ने, बीमाको प्रिमियम दरमा भएको वृद्धिलाई खारेज गर्नुपर्ने, श्रोतमा कट्टा गरेको अग्रिम आयकर र मूल्य अभिवृद्धि करको कट्टी गरेको रकम समयमा नियोक्ताले राजस्व खातामा दाखिला गरिनुपर्ने, उपभोक्ता समितिबाट निर्माण काम गर्ने व्यवस्था खारेज गरिनुपर्ने, पूर्वाधार विकाससँग सम्बन्धित कानुनमा संशोधन गरिनुपर्ने महासचिव श्रेष्ठले बताउनुभयो ।

निमित्त प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरे मार्फत सरकारलाई ध्यानाकर्षण पत्र हस्तान्तरण गर्दै उहाँले निर्माण उद्योग मैत्री ऐन, नियम बिना मुलुकको निर्माण उद्योगले गति लिन नसक्ने बिषयमा नेपाल सरकार र सरोकारवाला निकाय समक्ष निरन्तर आवाज उठाउँदै आईरहेको समेत अवगत गराउनुभयो ।

गत असार २१ मा नेपाल राजपत्रमा म्याद थप सम्बधमा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ७४ ९ख० बमोजिम बाधा अड्काउ फुकाउनका लागि जारि भएको आदेशले हाल विद्यमान म्याद थप र भुक्तानी समेतको समस्या समाधान गर्न नसक्ने भन्दै निर्माण उद्योगको विकास विस्तारमा प्रतिकूल असर पारेको उल्लेख गर्नुभयो ।

निर्माण कार्य सम्पन्न गरे पनि अरबौं रकम भुक्तानी नहुँदा मारमा परेका निर्माण व्यवसायीहरु उक्त आदेशका कारण थप मारमा परेको बताउँदै श्रैष्ठले आफूहरुका मागहरु यथाशीघ्र सम्बोधन गर्न आग्रह गर्नुभयो । सोही अवसरमा निमित्त प्रजिअ गेरैले निर्माण व्यवसायी संघले राखेका मागहरुलाई सम्बन्धित स्थानसम्म पुर्‍याउने बताउनुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?