एक वर्षपछि सिंगापुरमा चौधौं मृत्युदण्ड

Read Time = 3 mins

सिंगापुर । मृत्युदण्डलाई प्रभावकारी अपराध निरोधक दाबी गर्दै आएको सिंगापुरले लागूऔषध तस्करीमा दोषी ठहरिएका ५७ वर्षीय मोहम्मद अजिज बिन हुुसेनलाई मृत्युदण्ड दिएको छ । कोरोना महामारीका बेला स्थगन गरिएको मृत्युदण्डको सजायलाई गत वर्षदेखि पुनः थालिएको छ । यो वर्ष कार्यान्वयन गरिएको यो चौधौं कठोर सजाय हो । पचास ग्राम हेरोइन तस्करी गरेको अभियोगमा दोषी ठहर भएका उनलाई चंगी जेलमा आज मृत्युदण्ड दिइएको केन्द्रीय लागूऔषध नियन्त्रण विभागले एक विज्ञप्ति निकालेर जनाएको छ ।

अधिकारवादी संगठन ट्रान्सफर्मेटिभ जस्टिस कलेक्टिभ (टिजेसी)र एम्नेस्टी इन्टरनेशनलले निर्धारित मृत्युदण्ड रोक्न गरेको आग्रहको बेवास्ता गर्दै उनको प्राण हरण गरिएको हो । राष्ट्रपतिसमक्ष गरिएको क्षमा याचनाको अपील पनि अस्वीकार भएको थियो ।

यसैगरी, तीस ग्राम हेरोइन तस्करी गरेको अभियोगमा मृत्युदण्डको सजाय सुनाइएकी ४५ वर्षीया सरिदेवी जामानीलाई शुक्रबार फाँसी दिइनेछ । सन् २०१८ मा उनलाई मृत्युदण्डको सजाय सुनाइएको थियो । सिंगापुरले २० वर्षपछि पहिलोपटक महिलालाई झुन्ड्याएर मृत्युदण्ड दिन लागेको हो । बीस वर्षअघि कपाल काट्ने एक महिलालाई यस्तै अपराधमा मृत्युदण्ड दिइएको थियो ।

सिंगापुरले लागूऔषध नियन्त्रणको नाममा मृत्युदण्ड दिने क्रम जारी राख्नु अनुचित भएको टिप्पणी एम्नेस्टीले गरेको छ । विश्वका धेरै देशले मृत्युदण्डको सजाय परित्याग गर्दै लागू औषधसम्बन्धी मुद्दा सम्बोधनका निम्ति उदार नीति अंगीकार गरिरहेको परिप्रक्ष्यमा सिंगापुरले त्यसलाई मनन नगर्नु दुर्भाग्यपूर्ण भएको एम्नेस्टीले बताएको छ । कोभिड-१९ को महामारीमा दुई वर्षको अन्तरालपछि सरकारले फाँसीको सजाय पुनःकार्यान्वयन गरेपछि कम्तीमा १३ जनालाई फाँसी भइसकेको छ । रासस/एएफपी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?