जुवा र राजनीति

Read Time = 17 mins

कतिपय मान्छे बिग्रँदै गएर जुवामा निर्लिप्त हुन्छन् भने कतिपय देश बनाउने लक्ष्य लिएर राजनीतिमा पूर्ण समर्पित हुन्छन् । प्रायः जुवाडेहरू रात छिप्पिएपछि मात्रै घर पुग्दछन् भने अधिकांश राजनीतिज्ञहरू पनि ढिलै गृहप्रवेश गर्दछन् । दुवैको लक्ष्य एउटै हुन्छ-जित्ने । जुवाडेको लक्ष्य चुनावमा जित्ने हुन्छ भने राजनीतिज्ञको लक्ष्य चुनावमा । असल राजनीतिज्ञ ज्यादै थोरै हुन्छन्, उनीहरूको कुरा बेग्लै भयो नत्र हाम्रा जस्ता विकासको गतिमा पिछडिएका मुलुकहरूका अधिकांश राजनीतिज्ञहरूको लक्ष्य धाँधली गरेर चुनाव जित्ने मनशाय रहेको पाइन्छ भने जुवाडे भने जहाँका भए पनि उनीहरूको पनि लक्ष्य पाएसम्म धाँधली गर्ने नै हुन्छ ।

नेपालका प्रायः नेताहरूको तुलना जुवाडेसँग गर्न मिल्ने देखिन्छ भने राजनीतिक दलहरूको व्यवहार जुवाखालकै जस्तो । सत्य, इमानदारी, सदाचार आदि अन्तै कतै थन्काएर मैदानमा उत्रिए जस्तै देखिन्छन् नेता पनि र जुवाडे पनि । इलम, काम, उद्यम आदि खाले शब्दहरू नेताभन्दा पनि निकै पर छन् र जुवाडेहरू पनि यस्ता शब्द सुन्नै चाहँदैनन् । जुवाडे आफैंमात्रै बिग्रन्छ भने नेता चोकचोकमा बसेर अर्काका छोराछोरीहरू पनि बिगारिरहेको भेटिन्छ । समाज सुधार्नु पर्ने नेताले झनै बिगार्दै लैजानु नेपालका लागि दुर्भाग्य जस्तै भएको छ ।

उद्योगमा काम गर्नुपर्ने मजदुरलाई दलीय स्वार्थका लागि हड्तालमा उतार्छ नेता । हातमा कापी कलम हुनुपर्ने विद्यार्थीलाई पूरा हुने नसक्ने सपना देखाएर आन्दोलनमा कुदाउँछ नेता । उद्यम गरेर देश विकासमा टेवा पुर्‍याउनुपर्ने युवालाई विभिन्न प्रलोभन दिएर राजनीतिक कार्यक्रममा भुलाउँछ नेता । नेतालाई सिर्फ आफ्ना पछुवा धेरै देखाउने चाहना हुन्छ, त्यसको भोलिको परिणाम मतलब गरेकै पाइँदैन । वास्तवमा नेता भनेको त विश्लेषण गरेर सुदूर भविष्यसम्मको गोरेटो कोर्ने खालको हुनुपर्ने हो तर इष्टकोट हल्लाएर गफ चुट्दै हिँड्ने नै नेता हो भन्ने भाष्य निर्माण भइसकेको छ ।

राजनीति जुवासँग तुलना गर्न किमार्थ हुने कुरा होइन । बिग्रेकाले खेल्ने जुवा हो भने असलहरूले जिम्मा लिएर गर्नुपर्ने राजनीति हो । समाजमा कतै पनि बिक्न नसकेकाले दिन कटाउन खेल्ने जुवा हो भने समाजलाई बदल्न योग्य एवं क्षमतावान्हरूले गर्ने राजनीति हो ।

कतिपय मान्छेको जुवामा लत बसेको हुन्छ । आफ्नै गाउँटोलका केही व्यक्तिको दैनिक जुवा खेल्ने समूह बनाएका हुन्छन् । कसैकसैले भने कार्यालयका साथीहरूको समूह बनाउने गर्दछन् । म्यारिज खेलले निकै लोकप्रियताको शिखर चढेको छ । पाँच-दश रुपैयाँ प्वाइण्ट खेल्नेहरूदेखि लिएर सय पचास, पाँच सय हजारसम्मका खेल्नेहरूका आ-आफ्नै अखडा हुने गर्दछन् । म्यारिजलगायत जुवाले धेरैको घरबार बिगारेको छ र पनि यसको ख्यातिमा कुनै कमी आएको छैन । त्यस्तै राजनीतिक दलहरूका पनि कार्यालय खुलेका छन् । जिल्ला, क्षेत्र, केन्द्र आदिका बारेमा चर्चा गर्ने आ-आफ्नै कार्यालय छन् । जहाँ देशका बारेमा भन्दा फन्टुस गफ चुटेर दिन बिताउनेहरूकै बाहुल्य हुने गरेको छ ।

जुवाडेहरूलाई दिनदिनै खेल्न तपाईंलाई पैसाले कसरी पुग्छ भनेर सोध्यो भने उनीहरूसंग रेडिमेड जवाफ हुन्छ । सधैं खेलेपछि कहिले जितिन्छ, कहिले हारिन्छ । खेल्ने मान्छे पनि सधैं उही भएपछि सबैको अवस्था उस्तै हुन्छ । महिनाको अन्त्यमा जितेको र हारेको हिसाब निकाल्यो भने बराबरै हुन्छ । त्यसैले मनोरञ्जन पनि हुने र कुनै नोक्सान पनि नहुने हुँदा दैनिकै खेल्ने गर्दछौं । कहिले कता खेल्न आउनेलाई पो एकदिन हार्‍यो भने सर्वस्वै गुमे जस्तो हुन्छ र जित्यो भने संसारै जिते झैँ हुन्छ । हामीलाई त यो सामान्य नै हो भन्ने तर्क जुवाडेहरूले गर्दछन् । नेताहरूलाई उद्यम बिना कसरी बाँचेका छौं भन्यो भने पुख्र्यौली सम्पत्ति बेचेर वा कार्यकर्ताले दिएर भन्ने जवाफ पाइन्छ । श्रमको कुरा दुवैबाट धेरै टाढा छ ।

जसको घरमा जुवा खेलाइएको हुन्छ, उसले थर्की उठाएको हुन्छ । थर्की अर्थात् खेल्ने ठाउँ दिएवापत् यदि म्यारिज खेलेका छन् भने प्रत्येक पटकको खेलमा केही रकम घरबेटीले लिने गर्दछ । खेलेको दिनमा जित्ने कुनै एक-दुईजना देखिएलान् तर त्यो जित त्यही दिनका लागि मात्र हुन्छ । अर्थात् त्यो क्षणिक जित हो । पत्तै नपाई जुवा खेलाउन धनी हुँदै गइरहेको हुन्छ भने खेल्ने हार्दै गएको हुन्छ । महिनाको अन्त्यमा हिसाब गर्दा सबैजना खेलाडी हारेकै हुन्छन् । जित्ने भनेको त्यही पैसा उठाउने घरबेटीमात्रै हुन्छ । त्यस्तै राजनीतिमा पनि सबै हारेकै देखिएको छ किनकि देशले हारिरहेको छ, जनता पराजित भइरहेका छन् । जिते जस्तो उसले मात्रै देखिएको छ कि जसले फट्याइँ गर्न जानेको छ तर सारमा ऊ पनि हारिरहेकै छ ।

अर्को प्रवृत्ति के देखिएको छ भने हारेको दिनमा कसैले केही खुवायो भने खुवायो नत्र हरूवा लुत्रुक्क परेर घर जाने गर्दछ । जित्नेको फुर्ती भने बेग्लै हुन्छ । आफूलाई मन पर्ने एक-दुईजना तिनै खेलाडी मध्येका साथी वरपर राखेर सायंकालीन भोजनमा जित्नेले खर्च गर्दछ । यो त्यही जुवाडे समूहभित्रको अर्को उपसमूह हुन्छ । उपसमूहभित्रका जसले जिते पनि उसले मन फुकाएर खर्च गर्दछ । जितेको दिनमा पनि अर्कै चिजको आडमा छाती फुकाउँदै त घर जान्छ तर खल्ती भने लगभग रित्तै नै बनाएको हुन्छ ।

निष्कर्षमा भन्नुपर्दा जुवाले कसैलाई पनि उन्नतिको मार्गमा डोर्‍याउँदैन र पनि कुलतका कारण मानिस निरन्तर त्यसैमा प्रवृत्त भइरहन्छ । जुवा जितेर घरको आवश्यकता कहिल्यै पूरा गर्न सकेको हुँदैन र पनि कुनै न कुनै बहाना बनाएर जुवा खेल्न त्यस्ता बानी लागेकाहरू गइरहन्छन् । जुवा खेल्ने पैसा कतैबाट आउँदैन र पनि घरकै सम्पत्ति सिध्याउँदै मान्छे खेली रहेकै हुन्छ । घरखेत सकिइसकेको हुन्छ र पनि कुनै न कुनै दिन त्यही जुवाबाट फिर्ता ल्याउने अभिलाषाका साथ जुवाडे जुवा खेली रहेको हुन्छ ।

म्यारिज खेल्नेहरूको एउटा अचम्मको प्रवृत्ति हुन्छ । आफ्नो समूहमा म्यारिज खेल्नेहरूलाई मात्रै उनीहरूले सबैभन्दा असल मानिस ठानेका हुन्छन् । अरु सबैसंगको सम्बन्ध टुटाउन उनीहरू तयार हुन्छन् तर आपसी सम्बन्धलाई बढीभन्दा बढी प्रगाढ बनाएका हुन्छन् । अर्कोलाई हराउन कम्मर कसेर लागेका हुन्छन् तर मलाई हराउन खोज्यो भनेर उनीहरूका बीचमा वैमनश्य पैदा हुँदैन । अचम्म चाहिँ के हो भने खेल्न बस्दा त्यही अभिन्न मित्रलाई सात पुस्तादेखिको शत्रुता रहे झैँ गरी एकले अर्कालाई पेल्दछन् ।

फोहोरी राजनीति गर्नेहरू चाहे जुनसुकै दलमा हुन्, उनीहरू एकआपसमा जुवाडेहरूका बीचमा रहेको जस्तै प्रगाढ सम्बन्ध राखेर बसेका छन् । एउटा दलको भ्रष्टाचारी नेताले अर्को दलको भ्रष्टाचारीको संरक्षण, सम्बद्र्धन र उसको समुन्नतिका लागि जस्तोसुकै कदम चाल्न पछि पर्ने गरेको छैन ।

कहिलेकाहिँ खेलमा कुनै एकले गडबड गर्दा अब उनीहरूका बीचमा कहिल्यै बोलचाल हुँदैन झैँ गरी झगडा गरेर छुट्टिन्छन् तर भोलिपल्ट बिहानको चियामा सँगै देखिन्छन् । तासमा हारेको झोँकमा घरमा आएर श्रीमतीसँग झगडा गर्ला तर त्यही हराउनेसँग मीठो कुरा गरेर घर फर्किएको हुन्छ । दिउँसो माल नपरेको रिस घरमा छोराछोरीसँग पोख्ला तर तास बाँड्ने र माल काट्नेसँग ऊ हँसमुख नै रहेर बिदा भएको हुन्छ । खेल्नका लागि ठाउँ उपलब्ध गराउने त मानौं उनीहरूको भगवान् नै हो । जुवाडेको सबैथोक नै तिनै जुवाडे हुन्, अरू सबै बेतूकका ।
जुवा अवैध हो र पनि ससाना छाप्राहरूमा त्यही स्तरको जुवा चलिरहेको हुन्छ । कतै महिला पुरुषहरू एकै ठाउँमा बसेर संविधानले दिएको समानताको अधिकारलाई सम्मान गर्दै बराबरी रूपमै खेलिरहेका हुन्छन् । कतैकतै महिला-महिला साथीहरूमात्रै जम्मा भएर दिनभर म्यारिज खेलको प्रबद्र्धन गरेका देखिन्छन् । अधिकांश स्थानहरूमा भने पुरुषहरू मात्रै भिडिरहेका हुन्छन् । जुवा खेलाउनेमा महिलासमेत सक्रिय देखिए पनि खेलाडीहरूमा भने आजका मितिसम्म पुरुषकै बाहुल्य छ ।

त्यस्तै राजनीतिमा पनि पुरुषहरूकै बाहुल्य छ । कतैकतै महिला मिसिए जस्तै मात्रै छ । हुन त राजनीति जुवासँग तुलना गर्न किमार्थ हुने कुरा होइन । बिग्रेकाहरूले खेल्ने जुवा हो भने असलहरूले जिम्मा लिएर गर्नुपर्ने राजनीति हो । समाजमा कतै पनि बिक्न नसकेकाले दिन कटाउन खेल्ने जुवा हो भने समाजलाई बदल्न योग्य एवं क्षमतावान्हरूले गर्ने राजनीति हो । परिवारको आँखामा आँशु बगाउन खेलिने जुवा हो भने देश र जनतालाई हँसाउन गरिने राजनीति हो तर नेपालको राजनीति यति बिग्रियो कि जुवासँग तुलना गर्नुपर्ने अवस्थामा पुगेको छ । नेपालका नेताहरू यति बिग्रिए कि जुवाडेसंग तुलना गर्नुपर्ने स्थितिका छन् ।

सबै नेता त्यस्तै छैनन् । अझै पनि कतिपय नेताहरू सच्चा आदर्श बोकेर त्यागको राजनीति गरिरहेका छन् । राजनीतिको मूल अभिप्राय सेवा नै हो भनेर परोपकारमा केन्द्रित भएका नेताहरू पनि छन् । आफू संलग्न भएको राजनीतिक दलले बाटो बिरायो भनेर पार्टी र पार्टीका नेताहरू रूपान्तरित हुनुपर्दछ भनेर दिलोज्यान दिने नेताहरू पनि देखिएका छन् । तर पनि हिलो र फोहोरमा नै आफ्नो उज्ज्वल भविष्य देख्नेहरूको हावी हुँदा यस्ता नेताहरू या त मौन बस्न बाध्य भएका छन् या उफ्रँदा उफ्रँदै पनि हिलो बाक्लो भएको हुँदा हिलोभन्दा माथि आउन सकेका छैनन् ।

फोहोरी राजनीति गर्नेहरू चाहे जुनसुकै दलमा हुन्, उनीहरू एकआपसमा जुवाडेहरूका बीचमा रहेको जस्तै प्रगाढ सम्बन्ध राखेर बसेका छन् । एउटा दलको भ्रष्टाचारी नेताले अर्को दलको भ्रष्टाचारीको संरक्षण, सम्बद्र्धन र उसको समुन्नतिका लागि जस्तोसुकै कदम चाल्न पछि पर्ने गरेको छैन । सबै दलका खराब नेताहरू एकै ठाउँमा बसेर देश चुस्ने योजना बनाउन कहिल्यै कसैले छेके जस्तो लाग्दैन । उही प्रत्येक जुवाडे जुवा सक्किए पछि आ-आफ्नो घरमा गए झैँ भ्रष्टाचारीहरू एक एक दल छानेर बसेका छन् तर दिनभर उनीहरूको योजना बुन्ने अड्डा एउटै हुने गर्दछ ।

जसरी जुवाडेका कारण उसको घर ध्वस्त हुँदै गएको हुन्छ, त्यसैगरी भ्रष्टाचारी नेताहरूका कारण देश खोक्रो हुँदै गएको छ । जुवाबाट घर फर्किँदा लाज जोगाउन ऋणै लिएर भए पनि आज त जितेँ नि भन्दै जुवाडेले घरमा कहिले मासु त कहिले मिठाई बोकेर गए झैँ मेरो दलले त विकासको काम यति गर्‍यो नि भन्दै सानो कुरा देश र जनतालाई देखाइदिने गर्दछन् तर त्यो काम विदेशीको ऋणमा सम्पन्न भइरहेको छ । जसका कारण नेपाली जनताका टाउकामा दिन प्रतिदिन ऋणको बोझ बढ्दै गएको छ ।

आजभोलि देउवा, ओली, प्रचण्डहरूको देशभरि विरोध सुनिन्छ । उनीहरूलाई कतिपय सत्य आरोप लागेका होलान् भने कतिपय आरोपहरू असत्य होलान् । नो नट अगेनदेखि लिएर पार्टीको अभिभावक भएर बस्न ससम्मान अनुरोध गरेको देखियो । आपसमै यी नेताहरूले एकले अर्कोलाई तल झार्न जुवाडेले अर्कोलाई पेले झैँ पेल्न कत्ति पनि पछि परेको देखिँदैन । यी नेताहरूले आफू शीर्षस्थानमा पुग्न एउटा दलले अर्को दलको खोइरो खनेको देखिन्छ तर अन्तिम परेपछि यी तीन नेताहरू कसरी मिल्छन् भन्ने देखिएकै छ । यस प्रकारको राजनीतिमा परिवर्तन आवश्यक छ । हेरौं, कम्मर कसेका युवाहरूले कहिले सक्दछन् ?

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Devi Bhakta Dhakal
Devi Bhakta Dhakal
2023-07-27 10:26 am

“उद्योगमा काम गर्नुपर्ने मजदुरलाई दलीय स्वार्थका लागि हड्तालमा उतार्छ नेता । हातमा कापी कलम हुनुपर्ने विद्यार्थीलाई पूरा हुने नसक्ने सपना देखाएर आन्दोलनमा कुदाउँछ नेता । उद्यम गरेर देश विकासमा टेवा पुर्‍याउनुपर्ने युवालाई विभिन्न प्रलोभन दिएर राजनीतिक कार्यक्रममा भुलाउँछ नेता । नेतालाई सिर्फ आफ्ना पछुवा धेरै देखाउने चाहना हुन्छ, त्यसको भोलिको परिणाम मतलब गरेकै पाइँदैन । वास्तवमा नेता भनेको त विश्लेषण गरेर सुदूर भविष्यसम्मको गोरेटो कोर्ने खालको हुनुपर्ने हो तर इष्टकोट हल्लाएर गफ चुट्दै हिँड्ने नै नेता हो भन्ने भाष्य निर्माण भइसकेको छ।”

वस्तुस्थितिको राम्रो चित्रणका प्रति स्तम्भकारलाई हार्दिक धन्यवाद ।

Last edited 9 months ago by Devi Bhakta Dhakal

रिलेटेड न्युज

छुटाउनुभयो कि ?