कोशी सरकार गठन विरुद्धको रिटमा आजै आदेश आउने

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाको नियुक्ति बदरको माग गर्दै सर्वोच्चमा दायर रिटमाथि आज फैसला हुँदैछ ।

गत असार २१ गते मुख्यमन्त्रीमा नियुक्त हुनु भएका थापाविरुद्ध निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि सर्वोच्चको पूर्ण इजलासमा सुनुवाई भएको थियो ।

सर्वोच्चका न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा,आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठ सम्मिलित पूर्ण इजलासले यस मुद्दाको टुंगो लगाउने भएको हो ।

उक्त इजलासले आज खाजासमयपछि आदेश सुनाउने सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

प्रदेश प्रमुख परशुराम खापुङले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका उद्धव थापालाई असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै नेकपा एमाले संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले रिट दायर गर्नुभएको थियो ।

यस रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै गत असार २७ गते सपना प्रधान मल्लको एकल इजलासले कारण देखाउ आदेश जारी गरेको थियो भने गत साउन ८ गते न्यायाधीशद्धय तिलप्रसाद श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासले सम्बैधानिक ब्याख्या आवश्यक पर्ने भन्दै पूर्ण इजलासमा पठाउने आदेश जारी भएको थियो ।

साउन ८ को फैसला बमोजिम गत मंगलबार र बुधबार सर्वोच्चका न्यायाधीशत्रय भट्टराई, श्रेष्ठ र खतिवडा सम्मिलित पूर्ण इजलासले दुई दिन बहस गरेको थियो ।

बुधबार नै फैसला हुने भनिएपनि विविध कारणले फैसला हुन नसक्दा उक्त रिट आजका लागि हेर्दाहेर्दैमा राखिएको थियो । उक्त रिटमाथि आज खाजा समय पछि आदेश आउन सक्ने सम्भावना छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?