गत वर्ष भोजपुरमा दुई वटा पक्की पुल बने

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 4 mins

भोजपुर । सडक सञ्जालसँग जोडिएसँगै पूर्वी पहाडी जिल्ला भोजपुरका ग्रामीण क्षेत्र जोडनका लागि पक्की पुलहरु निर्माण हुन थालेका छन् । आर्थिक बर्ष २०७९/०८० मा भोजपुरमा दुई वटा पक्की पुलहरुको निर्माण कार्य सम्पन्न भएको छ ।

सडक बनेसँंगै बनेका पक्की पुलले जिल्लाको विकासमा फड्को मार्दे गएको छ । प्रदेश सरकारको बजेटमा पूर्वाधार विकास कार्यालय भोजपुर मार्फत ती पुलहरु बनेको पूर्वाधार विकास कार्यालय भोजपुरले जनाएको छ । आर्थिक बर्ष २०७९/०८० मा भोजपुर नगरपालिका बोखिम र टेम्केमैयुङ गाउँपालिका जोड्ने पिखुवा खोला पुल र षडानन्द नगरपालिकामा पर्ने याकुवा खोला नखुवा दोभान बाङखुवा पुलको निर्माण सम्पन्न भएको हो ।
बर्षातको समयमा आवत जावतमा समस्या हुने क्षेत्रहरुमा सडक सञ्जालको पहुँच पुगेसँगै मोटरेवल पुलहरु बन्न सुरु भएको हो । बनेका र बन्दै गरेका पुलहरुले भोजपुर जिल्लाका मात्र नभएर छिमेकी जिल्लाका नागरिकहरुलाई समेत लाभ पुग्ने छ ।

षडानन्द नगरपालिका वडा नम्वर १२ र १४ जोड्ने बाङखुवा खोलामा पुल निर्माणका लागि २०७६ साल फागुन १५ गते सम्झौता भएको थियो । कोशी प्रदेश सरकारको तीन करोड १९ लाख ८४ हजार पाँच सय १३ रुपैयाको लागतमा पुल निर्माण कार्य सम्पन्न भएको पूर्वाधार विकास कार्यालयले जनाएको छ । २५ मिटर लामो उक्त पुल गोल्डेन गुड शेर्पा निर्माण कम्पनीले बनाएको पूर्वाधार बिकास कार्यालयका कम्प्युटर अपरेटर राजन कोइरालाले बताउनुभयो । पुलहरुको गुणस्तरीयतामा पनि कार्यालयले अनुगमन र निगरानी गर्ने गरेको कोइरालाको भनाई छ ।

यस्तै भोजपुर नगरपालिका बोखिम हुदै टेम्केमैयुङ गाउँपालिका वडा नम्वर ६, कोट जोडने पिखुवा खोला(खाल्डे) पुलको समेत निर्माण कार्य पुरा भएको छ । २०७७ साल असार २५ गते सम्झौता भएको पुलको निर्माण कार्य कुन्सालीङ युडी जेभी भोजपुरले पाएको थियो । २१ दशमलब २५ मिटर लम्वाई भएको पुलको निर्माण कार्य सम्पन्न गरेको निर्माण ब्यवसायी उत्तम खडकाले बताउनुभयो । उहाँले भन्नुभयो, “सम्झौता अनुसारको पुलको निर्माण कार्य पुरा भएर संचालनमा आएको छ ।”

सडक सञ्जाल र पक्की पुलको विकासले समग्र जिल्लाको विकासमा टेवा मिलेको छ । सडक र पुलको पहुँचले जिल्लाको आर्थिक, सामाजिक विकासंगै यातायात व्यावसायीलाई समेत राहत मिलेको छ । बिभिन्न कारणले बन्न ढिलाई भएका पुलहरुको निर्माण कार्य सम्पन्न गर्न हामीले पनि सम्वन्धित निकायलाई दवाब दिन जरुरी रहेको स्थानीय सन्तोष श्रेष्ठको भनाई छ ।

निर्माणाधिन पुलको विकासले उत्पादित सामाग्रीको बजारीकरणसँगै स्थानीयबासीको शिक्षा, स्वास्थ्य, रोजगार जस्ता महत्वपूर्ण पक्षमा समेत सहयोग पुग्ने स्थानीय अनिल श्रेष्ठको धारणा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?