रिलायन्स पब्लिक स्कुलद्वारा एसइई विद्यार्थी सम्मान

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका कपनस्थित रिलायन्स पब्लिक स्कुलले २०७९ सालको एसइई परीक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई सम्मान गरेको छ । एक कार्यक्रमको आयोजना गरी विद्यालयले विद्यार्थीहरूलाई सम्मान गरेको हो । यो पटक परीक्षा दिने सबै ३७ जना विद्यार्थी नै उत्कृष्ट अंकका साथ उत्तीर्ण भएका छन् । कार्यक्रममा प्रमुख अतिथि हिमालय टाइम्सका प्रधानसम्पादक प्रा. पुरुषोत्तम दाहालले अहिले मूल विज्ञान विषयभन्दा बढी प्राविधिक विषयमा आकर्षण बढिरहेकाले रोजगारीका अवसर विस्तार भएको बताउनुभयो ।

योग्य विद्यार्थी विदेश पलायन हुने र सामान्य विद्यार्थी खाडीमा पसिना बगाउन जाने अवस्थाका कारण अशक्त, वृद्धवृद्धा र बालकहरूको भरमा देशले थेगिनुपर्ने बाध्यताका कारण प्राविधिक विषयको पढाइ विद्यालयस्तरदेखि नै गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, ‘विदेशको अनुभव र अध्ययन गरेकाहरूले आफ्नो मातृभूमिको माटो सम्झेर योगदान गर्नुपर्दछ । यसका लागि सिंगो राष्ट्रले नीति र वातावरण तयार गर्नु आवश्यक छ, अर्कोतर्फ विद्यालयले अहिलेबाटै विद्यार्थीलाई आफ्नो खुट्टामा उभिन सक्ने गरी प्राविधिक शिक्षा पढाउनुपर्छ ।’

कार्यक्रममा ०७१ बाट रिया पब्लिकबाट एसएलसी सुरु भएको र विगतमा यसले सर्वोत्कृष्ट परिणाम ल्याएको जानकारी प्राचार्य वसन्तलाल लामिछानेले दिनुभएको थियो । कार्यक्रममा रिलायन्स एजुकेसन नेटवर्कका अध्यक्ष रवीन्द्रजंग थापाले नेटवर्कअन्तर्गत रहेका रिया इन्टरनेशनल, रिया कोएड र रिया पब्लिकमा अध्ययन गरेका विद्यार्थीले अन्य क्षेत्रमा समेत आफ्नो परिचय स्थापित गरेको बताउनुहुँदै रिलायन्स इन्टरनेशनल कलेजले समेत स्थापनाकालदेखि नै उत्कृष्ट दशभित्र स्थान बनाएको गौरवपूर्ण वर्तमान रहेको जानकारी दिनुभएको थियो ।

कार्यक्रममा बिओडी राजुकुमार शिवाकोटीले विद्यार्थीहरूलाई उनीहरूको चासो र झुकावअनुसार विषय छान्न दिन आग्रह गर्दै सन्तानको भविष्यबारेमा चिन्ताभन्दा पनि सचेतता आवश्यक रहेको विचार प्रकट गर्नुभएको थियो । शिक्षक दिलीप नेपाल, विद्यार्थी प्रतिनिधि क्रिष्टिना ढकालले विद्यालयका सन्दर्भमा विचार प्रस्तुत गर्नुभएको थियो । ध्यान, गायन्त्री मन्त्र पाठ, वैदिक मन्त्र प्रस्तुतिसहित गीत, संगीत र नृत्यले कार्यक्रम मनोरञ्जनपूर्ण बनाएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?