कांग्रेस बैठकले ल्याएको तरंग

Read Time = 17 mins

नमागिएको सल्लाह :
गत साउन दुई गतेदेखि आठ गतेसम्म काठमाडौंमा भएको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले नेपालको राजनीतिमा राम्रै तरंग ल्यायो । एउटा पार्टीको केन्द्रीय समिति बैठक कुनै ठूलो विषय होइन यसले नत नेतृत्व परिवर्तन गर्न सक्छ न त पार्टीको जीवनमा दूरगामी प्रभाव पार्न नै सक्छ । त्यसमा पनि अहिलेको नेतृत्वले हाँकेको कांग्रेसको केन्द्रीय समिति बैठकबाट तात्विक केही होला भन्ने आशा पनि गरिएको थिएन । एक वर्षदेखि सत्ता बनाउने र भत्काउने खेलमा लागेको कांग्रेस नेतृत्वलाई पार्टीको संगठन, पार्टीको नीति निर्माणसँग खासै चासो पनि थिएन ।

सत्ता राजनीतिलाई नै सर्वस्व ठान्ने पार्टी सभापति देउवाका लागि पार्टीलाई चलायमान बनाउनुभन्दा निष्क्रिय राखेर एकलौटी निर्णय गर्नमा रुचि देखिन्छ । पार्टीभित्र शेखर-गगन समूहको उदय भएपछि सामान्य दबाब महसुस गरेका देउवाले दबाबको सामना गर्न, पार्टीलाई प्रणाली र पद्धतिमा लानुभन्दा शेखर-गगन समूहलाई लोभ, पाप देखाएर फुटाउनमा आफ्ना लागि हितकर देखे र तदनुरूप त्यसमा केही सफल पनि देखिँदैछन् ।

अहिलेको कांग्रेस केन्द्रीय समिति बैठकले आवश्यकताभन्दा बढी चर्चा पाउनुमा लामो समयको अन्तरालपछि केन्द्रीय समिति बैठक हुनु र पार्टी संगठन कमजोर नबनोस् नेतृत्वमा नयाँपन आओस् भनेर चाहना राख्ने धेरै शुभेच्छुकको कारण पनि हो । यस आलेखमा नेपालको सबैभन्दा ठूलो दलको एक वर्षपछि भएको केन्द्रीय समिति बैठकले ल्याएका तरंगको बारेमा चर्चा गरिनेछ ।

बैठकको प्रत्यक्ष प्रसारण :
कांग्रेस केन्द्रीय कार्य समितिको बैठक प्रत्यक्ष प्रसारण गर्ने भन्ने कुरा सार्वजनिक भएपछि धेरैलाई पत्यार लागेको थिएन । यसमा पार्टी सभापतिले नै घोषणा गरेता पनि रणनीतिक चाल भनेर धेरैले पत्याएका थिएनन् तर धेरैको अनुमानविपरीत जनताले प्रत्यक्षरूपमा बैठक हेर्न पाए । जुन उद्देश्यले गरिएको भए पनि यसका लागि पार्टी सभापति देउवा धन्यवादका पात्र बनेका छन् ।

सभापति देउवा आफ्नो पदमा दखल पुग्ने महसुस नगरुन्जेलसम्म जति पनि निष्क्रिय बस्न सक्छन् । विधान र संविधान मिच्ने विषय पनि सामान्य बन्न पुग्दछन् । आफ्नो कुर्सी र सम्भावित कुर्सीमा दखल पुग्ने महसुस गरेपछि जेजस्तो कदम चाल्न र जोसुकैसँग जे सम्झौता गर्न पनि पछि पर्दैनन् ।

प्रत्यक्ष प्रसारण सभापति देउवाले केन्द्रीय समितिको बैठकमा भनेजस्तै पार्टी गतिविधि र नेताहरूको क्षमता जनताले थाहा पाऊँन् भन्ने नै हो त ? अरू विषयमा जनभावनाको कत्ति पनि पर्वाह नगरी आफ्नो स्वार्थका लागि जेजस्तो पनि निर्णय गर्ने देउवाले गराएको प्रत्यक्ष प्रसारणमा राजनीतिक रणनीतिक स्वार्थ छ भन्ने विषय बुझ्न धेरै घोत्लिरहनु पर्दैन । सभापति देउवा आफ्नो पदमा दखल पुग्ने महसुस नगरुन्जेलसम्म जति पनि निष्क्रिय बस्न सक्छन् । विधान र संविधान मिच्ने विषय पनि सामान्य बन्न पुग्दछन् । आफ्नो कुर्सी र सम्भावित कुर्सीमा दखल पुग्ने महसुस गरेपछि जेजस्तो कदम चाल्न तथा जोसुकैसँग जे सम्झौता गर्न पनि पछि पर्दैनन् ।

अहिलेको प्रत्यक्ष प्रसारण त्यसै रणनीतिअन्तर्गत आएको हो । शेखर-गगन समूह पार्टीभित्र अल्पमतमा देखिए पनि उनीहरूको चर्चा सञ्चारमाध्यम, सामाजिक सञ्जाल र बौद्धिक जगतमा भएको कारण देउवा-आरजुले चुनौतीको महसुस गरिरहेका थिए । शरणार्थी प्रकरणमा आरजु देउवा झण्डै–झण्डै जोडिएपछि सामाजिक सञ्जालमा देउवाहरूमाथि भएको प्रहारले पिरोलिरहेको थियो । यसमा कवाफमा हड्डी बनेका थिए दुई महामन्त्री, त्यसमा पनि गगन थापा ।

शेखर कोइरालाबाट हुने चुनौतीलाई देउवाले लगभग व्यवस्थापन गरिसकेका थिए । अबको नेतृत्व कोइराला परिवारलाई त दिने हो नि यार भनेर, शेखर नजिकका केहीलाई मन्त्री बनाएर र शेखरलाई वरिष्ठ नेताको चास्नी देखाएपछि शेखरको नेतृत्वप्रतिको आक्रमण लगभग समाप्त भएको थियो । उनी सरकारविरुद्धका कुरामा र सुशासनका कुरामा विषयान्तर भएबाट यो विषय बुझ्न धेरै मिहिनेत गरिरहनु पर्दैन । बाँकी रहेका दुई महामन्त्रीको संसदीय दलको नेता परिवर्तन गर्ने कुरा देउवा मण्डलीको लागि असहृय भएको थियो । त्यसमा पनि पछिल्लो पटक केन्द्रीय सदस्यमा मनोनित भएर देउवाप्रति अनुगृहित बनेका मीनेन्द्र रिजालको संसदीय दलको नेतामा लोभ नगर्नु भनेर दिएको सल्लाहका कारण देउवा मण्डलीको हौसला बढेको थियो ।

स्पस्ट आफ्नो बहुमत रहेको केन्द्रीय समिति बैठकमा दुई महामन्त्री खासगरी गगन थापालाई खुइल्याउँनका लागि बैठक लाइभ गर्ने निर्णयमा देउवाको किचन क्याबिनेट पुगेको सहजै अनुमान गर्न सकिन्छ । धेरै सदस्यबाट देउवाको गुणगान गर्ने, थुनामा रहेका नेता बालकृष्ण खाँणको बचाउ गर्ने, बचाउ नगरी विपक्षमा बोलेकोमा विरोध गर्ने, सामाजिक सञ्जालमार्फत नेतृत्वलाई खुइल्याएको आरोपमा महामन्त्री थापामाथि कठोर रूपमा प्रस्तुत हुने, सकेसम्म उनलाई लगाम लगाउन निर्णय नै गर्ने गृह कार्यसहित देउवा मण्डली बैठकमा प्रस्तुत भएको थियो ।

तर, परिणाम उल्टो निस्केको छ । प्रत्यक्ष प्रसारणमा भ्रष्टाचार र भ्रष्टाचारमा आरोपितको पक्षमा बोल्ने उनीहरूको बचाउ गर्ने नेताहरूलाई जनताले स्पष्टसँग चिन्ने मौका पाएका छन् । महामन्त्रीहरूको विधानविपरीत चल्ने नेतृत्वविरुद्धको चट्टानी अडान पनि जनताले थाहा पाएका छन् । गणितीय अनुकूलता नभए तापनि महामन्त्री गगन थापाको संसदीय दलको नेता परवर्तनका लागि पर्ने र यसमा अबदेखि कसैले पनि प्रश्न नगर्नु भन्ने स्पष्ट भनाइले जनतामा उनको साख र विश्वसनीयता थप स्थापित भएको छ । मूल्यको राजनीति गर्नेहरूका लागि यो ठूलो कमाइ हो ।

अर्का महामन्त्री विश्व प्रकाश शर्माको नेतृत्वको आलोचना गर्नु भनेको नेतृत्वलाई खुइल्याउने होइन सुधारको लागि हो भन्ने भनाइ र उनको सन्तुलित र बौद्धिक प्रस्तुतिले पनि धेरैको मन जितेको छ । यो प्रत्यक्ष प्रसारणले दुई महामन्त्रीलगायत धेरै नेतालाई जनतामा चिनाउने अवसर प्रदान गर्‍यो । यसले कांग्रेस पार्टीको पक्षमा पनि सकारात्मक सन्देश नै दिएको छ ।

भ्रष्टाचार नियन्त्रणका लागि भएका निर्णयहरू :
बैठकले भ्रष्टाचारको विरोधमा विशेष निर्णय नै गरेको छ । थुनामा रहेका नेताको बारेमा बोल्न नचाहेको बैठकले त्यसको दोषबाट उम्किन दोषी नउम्किऊँन् र निर्दोष नफसून् भन्ने किसिमको निर्णय गरेको छ । जब कि महामन्त्री गगन थापाले यसमा फरक मत दर्ता गराएका छन् । तीन वर्षभन्दा बढी कैद सजाय हुने मुद्दामा आरोपित भएपछि सांसद् पद निलम्बन हुने तर पार्टीगत पदहरू किन निलम्बन नहुने भन्ने प्रश्न उठाउँदै फरक मत दर्ता गराएका छन् । यस्ता संगीन आरोपमा पार्टीले भारी बोक्न सक्दैन र बोक्नु पनि हुँदैन भन्ने स्पष्ट फरक मत दर्ता गराएर उनको फरक दृष्टिकोणको जानकारी दिएका छन् भने कांग्रेसमा पनि आशा गर्न सकिने मानिस छन् है भनेर आशाको सञ्चार पनि गराएका छन् ।

लामो अन्तरालमा भएको बैठकमा बोल्न चाहनेहरूले बोल्न पाएका छन् । प्रत्यक्ष प्रसारणमार्फत आफूलाई जनतामाझ चिनाउने मौका पाएका छन् । अर्को केन्द्रीय समितिको बैठकको मिति तोकिएको छ । नीति अधिवेशन गर्ने भनिएकोमा महासमिति बैठकको मिति तय भएको छ ।

कांग्रेस बैठकले भर्खरै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट समातिएको सुन प्रकरण सम्बन्धमा यथोचित छानबिन भएर दोषीहरू उपर कारबाही हुनुपर्ने निर्णय गरेको छ । जबकि प्रमुख प्रतिपक्षी एमालेले अर्कै समिति बनाएर छानविन गर्नुपर्ने माग राखी संसद् अवरुद्ध गरेको छ । कांग्रेस बैठकले गरेका भ्रष्टाचारविरुद्धका निर्णयहरू जनताको दबाबका कारण गर्नैपर्ने भएकाले गरिएको महसुस हुन्छ । शरणार्थी प्रकरण जस्तो देशकै बेइज्जत हुने किसिमले नियतबस गरिएको संगठित अपराध सम्बन्धमा समेत कांग्रेस लक्पकिएको देखियो । यसमा समेत स्पष्टसँग बोल्ने आँट गर्न सकेन । जसले आवाज निकाले उनीहरूलाई समेत बहुमतको आडमा दबाउन खोजेको देखियो ।

विचारहीन सर्वोच्च नेतृत्व :
पार्टी सभापति देउवाले जम्मा तिन मिनटमात्र बोलेको विषय सार्वजनिक भएको छ । त्यो समय धन्यवाद ज्ञापनमा सकिएको छ । यस्ता बैठकहरूमा नेतृत्वले वैचारिक दस्ताबेज प्रस्तुत गरेर वैचारिक रूपमा नेताहरूलाई स्पष्ट गराएर उच्च प्रेरणा जगाउनुपर्ने काम गर्नुपर्ने हो । सर्वोच्च नेतृत्वको दस्तावेज र कथनको आधारमा नेता कार्यकर्ता मर्न मार्न तयार हुन्छन् । सैद्धान्तिक रूपमा प्रतिवाद गर्न सक्षम बन्दछन् । चुनावी मैदानलगायत अन्य मैदानमा सफल बन्दछन् । मेचीदेखि महाकालीको पार्टी संगठनको प्रतिनिधित्व गर्दै आएका नेताहरूले पार्टी सभापतिबाट कुनै उत्प्रेरणा लिएर जान पाएनन् । गुटका फरक-फरक कुरा सुनेर गुटगत स्वार्थमा लिप्त हुनुपर्ने निराशाजनक परिस्थिति महसुस गरेको हुनुपर्दछ । बीपी कोइराला जस्ता प्रखर विचारकको उत्तराधिकार बोकेको पार्टीको यो हविगत देखिनु गजब विडम्बना हो ।

बैठकले जगाएको आशा :
लामो अन्तरालमा भएको बैठकमा बोल्न चाहनेहरूले बोल्न पाएका छन् । प्रत्यक्ष प्रसारणमार्फत आफूलाई जनतामाझ चिनाउने मौका पाएका छन् । अर्को केन्द्रीय समितिको बैठकको मिति तोकिएको छ । नीति अधिवेशन गर्ने भनिएकोमा महासमिति बैठकको मिति तय भएको छ । महामन्त्रीले पेश गरेका कार्य योजना परिमार्जित गरेर पास गरिएको बताइएको छ । महामन्त्रीका संगठन मजबुत बनाउने प्रस्ताव पारित गराउन बहुमतको दम्भ आवश्यक थिएन तथापि उच्च नेतृत्व पार्टीलाई वैधानिक रूपमा सञ्चालन गर्ने कुरामा केही सकारात्मक देखिएको छ ।

पछिल्लो समयमा नेपाली कांग्रेसभित्र विचार समाप्तप्राय भएको र सत्ता र सुविधा प्राप्त गर्ने विषय प्रधान बन्दै गएको छ । वैचारिक रूपमा प्रखर ठानिएका पाखा लाग्ने र नेताको नजिक बसेर परिक्रमा गर्नेहरू पुरस्कृत हुँदै गएको परिस्थिति छ । गएको चुनावमा नेताको परिक्रमा गर्ने व्यक्तिहरू टिकट पाएर पनि अधिकांश पराजित भएका छन् । जित्नेले कम मतान्तरमा मुस्किलले जितेका छन् । जनताले हरेक नेता कार्यकर्ताको गतिविधिको हिसाब किताब राखिरहेका छन् तर पनि नेताका आसपास बस्नेहरू नेतृत्वलाई सुधार्ने, पार्टीलाई सुधार्नेभन्दा आफ्नो स्वार्थ साधनमा लागि परेको देखिँदैछ । जसले यसलाई सुधार गर्नु प¥यो भनिरहेका छन्, उनीहरूले नेतृत्वलाई खुइल्याउन लागेको भन्ने आरोप खेपिरहनु परेको छ ।

आरोप प्रत्यारोप जे भए तापनि भर्खरै सम्पन्न कांग्रेस केन्द्रीय समिति बैठकले जमेको आहालमा ढुंगा हान्ने काम गरेको छ । जमेको पानी चलायमान भएको अवस्था छ । यसैगरी हुने वैचारिक मन्थनबाट जमेको पानीमा मुहानको पानी थपिएर आहालको पानी चलायमान हुने अवस्था बन्ला कि भन्ने आशाको सञ्चार गराएको छ । यो श्रेय ऊर्जाशील महामन्त्रीहरूलाई दिनै पर्दछ । महामन्त्रीहरूको दबाब र प्रस्ताव पार्टी सभापतिले स्वीकार नगरेको भए यो बैठक पनि सम्भव हुन सक्ने थिएन । चर्चा नै नहुने काम गरेर पनि एकसाता राष्ट्रिय राजनीतिमा तरंग पैदा गरेकोमा पार्टी सभापतिलगायत कांग्रेसीजनप्रति साधुवाद ।

Subscribe
Notify of
guest
2 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
कुलप्रसाद काेइराला
कुलप्रसाद काेइराला
2023-07-28 8:51 am

बैठकले एक अर्थमा आवश्क्ताभन्दा बढी नै चर्चा पाएकाे हाे ।गगनलाई खुईल्याउने र अाफू खुईलिने दुवै काम देउवाले गरे ।नियमअनुसार चल्दिन भनेर इतिहासमा कंस,रावण,हिटलर,एर्साद,दादा इदि अमिन कसले भनेकाे थियाे र? आस गर भर नपर भन्ने हाम्रा पुर्खाकाे सूक्ति यत्तिकै बनेकाे हाेईन भन्नेकुराे नेपालका प्रजातन्त्रवादी,महामन्त्रीद्वय, र अरु पनि आसकाे खेती गर्नेले देउवाले गरेका कथनी र करनीकाे अन्तर ठम्याउन लागेनन् भने दनक खान या निराश बन्न तयार रहे हुन्छ है शम्भु जी ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?