भ्रष्टाचारविरुद्ध जेहाद छेड्ने क्रम नरोकिने प्रधानमन्त्रीको चेतावनी

लडाकु शिविरको भ्रष्टाचार छानविन गर्न एमालेको चुनौती

अनिल क्षेत्री
Read Time = 13 mins

काठमाडौं । प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्धको फाइल सरकारले खोल्न थालेपछि गठबन्धन भत्काउन अनेकौँ षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ । भ्रष्टाचारविरुद्धको अभियान असफल बनाउन जति षड्यन्त्र गरे पनि भ्रष्टाचारी र तस्करीविरुद्धको जेहाद छेड्ने क्रम नरोकिने प्रधानमन्त्रीले चेतावनी दिनुभयो । भ्रष्टाचारविरुद्धको अभियान कुनै आवेग र राजनीतिक स्टन्ट पनि नभएको स्पष्ट पार्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘भ्रष्टाचारविरोधी वा तस्करीविरुद्ध जेहाद छेडिएको छ । यो राजनीति स्टन्टको कुरा होइन । आगामी दिनमा हेर्दै जानुहोला अन्य फाइल खोलिनेवाला छ । यो कदम यहीँ रोकिँदैन, रोकिनेवाला छैन निरन्तर अगाडि बढ्नेवाला छ । यो ब्याटल हो, हामीले जित्नैपर्छ ।’ उहाँले लाखौँ जनताको सपना साकार पार्ने अभियान सुरु भएको भन्दै आउने दिनमा अरू भ्रष्टाचारका फायल पनि खुल्दै जाने पनि बताउनुभयो । आम जनताको साथ पाएपछि भ्रष्टाचारविरुद्धको ब्याटल जितिने प्रधानमन्त्रीको भनाइ छ ।

‘सरकारका कामले जनतामा नयाँ आशाको सञ्चार’
प्रधानमन्त्री प्रचण्डले पछिल्लो समय भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा थालिएका महत्वपूर्ण प्रयासले जनतामा उत्साहको नयाँ सञ्चार पैदा भएको बताउनुभएको छ । सरकार सुशासन कायम गर्दै समृद्धिको पक्षमा प्रभावकारी तवरले उभिएको र यसले नयाँ राष्ट्रिय एकता र समुन्नतिको जग आधार खडा भएको जिकिर गर्दै प्रचण्डले भन्नुभयो, ‘सरकार गठनको सात महिनाको अवधिसम्म पुग्दा जेजति मेहनत भएको छ । जे जति प्रयासहरू भएको छ । यसबाट जे जति उपलब्धिहरू हासिल हुँदै छन् । त्यसले देश र जनताको पक्षमा इमानदार भएर क्रियाशील रहँदा जस्तासुकै चुनौती छिचोलेर जान सकिन्छ भन्ने विश्वास दिलाउँदै गएको छ । पछिल्लो समय भ्रष्टाचारका विरुद्ध र सुशासनको पक्षमा महत्वपूर्ण प्रयासहरू गरिएका छन् । यसले जनतामा नयाँ आशाको रक्तसञ्चार गरेको छ ।’

प्रदीप ज्ञवालीको प्रश्न- ‘लडाकु शिविरको छानविन गर्नसक्ने आँट छ ?’
नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले प्रधानमन्त्रीसमेत रहनुभएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लडाकु शिविरमा भएको छानविन गर्न चुनौती दिनुभएको छ । सरकारले प्रचारात्मक काम बढी गरिरहेको आरोप लगाउनुभएका ज्ञवालीले लडाकु शिविरको छानविन गर्न प्रचण्डलाई चुनौती दिँदै भन्नुभयो, ‘भुटानी शरणार्थी र ललितानिवास प्रकरणमा मात्रै किन आइरहेको छ, लडाकु शिविरको छानविन गर्नसक्ने आँट छ ? २३औँ पटकमा पक्राउ गरिएको रहेछ । २२ पटकसम्म त छुट्यो नि । आठ दिनपछि सुन निकालिसकेको गोदाममा छापा मारेर के गर्न खोजेको हो ? २२ पटकसम्म सुन तस्करी गर्नेहरूलाई खोज्नु पर्दैन ? मुख्य नाइके को को हुन् । खोज्नु पर्दैन ?’

उपमहासचिव ज्ञवालीले माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका बुवा छोराको नाम पनि सुन तस्करीमा नाम जोडिँदा सरकारले छानविन गर्न हिम्मत नगरेको आरोप लगाउनुभयो । सुन तस्करी प्रकरणका मुख्य नाइकेलाई कारबाहीको दायरामा ल्याउनुको सट्टा सरकारले नाटक मात्र मञ्चन गरिरहेको आरोप लगाउँदै ज्ञवालीले भन्नुभयो, ‘सुुन तस्करी र भ्रष्टाचारका कुुरालाई लिएर नाटक मञ्चन भइरहेको छ । टेबुल सफा गर्न सबैभन्दा हात सफा हुुनुपर्छ । तस्करीमा केही कुुरा नमिलेपछि समातिएको रहेछ । गृहमन्त्री कसैलाई छोड्दिनँ भनेर जुँगामा ताउ लगाउँदै बसेका छन् ।’

गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउँछ : नेता पौडेल
सत्तारूढ दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद प्रदीप पौडेलले सुन तस्करी प्रकरणमा गहिराइमा पुगेर अनुसन्धान नभए गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउने चेतावनी दिनुभएको छ । सुन तस्करी प्रकरणमा भरियालाई देखाएर उम्किन नमिल्ने र गहिराइमा गएर अनुसन्धान हुनुपर्ने जिकिर गर्दै पौडेलले भन्नुभयो, ‘सुन प्रकरण हलुका विषय हैन, गृह र अर्थ मन्त्रालयलाई थाहा नभई त्यति धेरै सुन कसरी बाहिरियो ? भरियाको टाउकोमा दोष थोपरेर उम्कन मिल्दैन, यसको गहिराइमा पुगेर अनुसन्धान नभए हामीले नै गृहमन्त्री र अर्थमन्त्रीको राजीनामा माग्नुपर्ने अवस्था आउन सक्छ ।’

कांग्रेसले भ्रष्टाचारीलाई संरक्षण गर्दैन : नेता सिंह
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्वगृहमन्त्री एवं पार्टी नेता बालकृष्ण खाँणलाई अदालतले दोषी ठहर गरेपछि मात्रै कारबाही गर्ने बताउनुभएको छ । कांग्रेस भ्रष्टाचारको संरक्षणमा नलाग्ने जिकिर गर्दै नेता सिंहले निष्पक्ष कानुनी राज्यको पक्षमा कांग्रेस रहेको स्पष्ट पार्नुभयो । कसैमाथि आरोप लाग्दैमा कारबाही गरिहाल्नु पर्छ भन्ने नरहेको स्पष्ट पार्दै नेता सिंहले भन्नुभयो, ‘खाँणको मुद्दा अहिले अदालतमा विचाराधीन छ । मुद्दाको फैसला आएपछि मात्रै पार्टीले निर्णय गर्छ । पहिले पनि यस्ता मुद्दामा अदालतको फैसलापछि मात्रै कारबाही गर्ने गरिएको थियो । त्यहीअनुसार अहिले कारबाही नगरिएको हो ।’

सुन तस्करी छानविनका लागि सरकारलाई लेखा समितिको ध्यानाकर्षण
प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले एक क्विन्टल सुन तस्करीका सम्बन्धमा छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । समितिको सभापतित्व गरिरहनु भएका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन तस्करीको छानविनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिँदै भन्नुभयो, ‘त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा गैरकानुनी रूपमा भित्रिएको सुनको छानविन गर्न÷गराउन उच्चस्तरीय छानविन समिति गठन गर्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछ ।’ आइतबार बसेको बैठकमा एमालेका सांसदहरूले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि नै छानविन गर्नुपर्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका छन् । एमालेका सांसद ऋषिकेश पोखरेलले भने सरकारलाई सुन तस्करीबारे उच्चस्तरीय छानविन समिति गठन गर्नका लागि निर्देशन नै दिनुपर्ने जिकिर गर्नुभएको थियो । एमाले सचिवसमेत रहनुभएका सांसद योगेश भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि छानविन गर्न प्रहरीले नसक्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै भन्नुभयो, ‘प्रहरीले गृहमन्त्रीमाथि छानविन गर्न सक्दैन । फाइल उहाँको टेबुलमा छ, सरकारमै सहभागी दलको ठूलो नेता तानिएका छन् । तर, सरकार छानविन गर्न चाहँदैन । भन्सारका गडबडीबारे छानविन गर्नुपर्नेछ, त्यहीँ अर्थमन्त्री बसेर छानविन हुन्छ ?’ सत्तारूढ दल नेपाली कांग्रेसका सांसद तेजुलाल चौधरी र जसपाका सांसद प्रदीप यादवले पनि सुन तस्करी प्रकरणमा लेखा समितिले छानविन गर्नुपर्ने धारणा राख्नुभयो ।

कांग्रेसका सांसद रामकृष्ण यादवले पनि सार्वजनिक लेखा समितिमा गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर जानकारी लिनुपर्ने बताउनुभयो । राजस्व अनुसन्धान विभागले साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर गरी ल्याएको क्विन्टल सुन बरामद गरेको थियो । ठूलो परिमाणमा तस्करीको सुन बरामद भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै बुधबार संसद् अवरुद्ध गरेको थियो ।

सुन तस्करी प्रकरणमा होटल सञ्चालक पक्राउ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक सय किलो सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले काठमाडौंको ठमेलको होटल भियनाका सञ्चालक दावा छिरिङलाई पक्राउ गरेको छ । विभागको टोलीले आइतबार बिहान उक्त होटलबाट छिरिङलाई पक्राउ गरेको हो । उक्त होटल उनकी श्रीमतीको नाममा छ । छिरिङ यसअघि पनि विदेशी मुद्रा, सुन तस्करी लगायतमा संलग्न चिनियाँ गिरोहसँग जोडिएका पात्र भएको बुझिएको छ । उनी यसअघि कल बाइपास गर्ने चिनियाँ गिरोहसँग पनि संलग्न थिए । स्रोतका अनुसार उनको नेपालका केही उच्च नेताहरूसँग राम्रो हिमचिम छ । पछिल्लोपटक सुन तस्करी गिरोहसँगसमेत छिरिङको सम्पर्क रहेको देखिएकाले पक्राउ गरिएको विभागले जनाएको छ । उनी तिब्बती मूलका बेल्जियम नागरिक हुन् । छिरिङ पक्राउ परेसँगै सुन तस्करी प्रकरणमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?