माओवादी केन्द्र विधानसम्मत रुपले नचलेको भन्दै केन्द्रीय सदस्यहरु असन्तुष्ट

भद्रगोल, विधिसम्मत रुपले नचल्नु नै पार्टीको मुख्य समस्या

हिमालय टाइम्स
Read Time = 10 mins

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का केन्द्रिय सदस्यहरुले पार्टी विधिसम्मत रुपले नचलेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् ।

बुधवारदेखि काठमाडौंमा शुरु भएको पार्टीको केन्द्रिय कमिटी बैठकमा बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी विधान अनुरुप नचलेको भन्दै कार्यशैलीमा रुपान्तरण गर्नुपर्ने बताएका हुन् । उनीहरुले पार्टीले बनाएको योजनाहरु कार्यान्वयन नहुने समस्या रहेको पनि बताएका छन् ।

बैठकस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रिय सदस्य बलावती शर्माले पार्टीलाई विधि, विधानमा चलाउन नसकिएको बताउनु भयो । उहाँले महाधिवेशनले नीति र विधि बनाएपछि कार्यान्वयनमा जाँदा भत्किने गरेको बताउनु भयो । सांगठनिक रुपमा पनि पार्टी भद्रगोल भएको भन्दै पार्टी संगठनलाई सुधार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो । त्यस्तै पार्टीको तल्लो कमिटीदेखि नै निर्वाचित भएर नेतृत्वमा आउने व्यवस्था गर्नुपर्नेमा उहाँले माग गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘पार्टी संगठनलाई विधानसम्मत तरिकाले विधि, विधान अनुसार चलाउनुपर्नेमा जहिल्यैपनि विधान भत्किन्छ हाम्रो । महाधिवेशनमा नीति बनाउँछौ तर कार्यान्वयन गर्न जाने बेलामा त्यो नीति, विधि भत्किन्छ र सबैभन्दा मुख्य समस्या सांगठनिक रुपले, राजनीतिक, वैचारिक रुपले नेतृत्व गर्दागदै पनि हाम्रो एजेण्डा हुँदाहुँदै पनि सांगठनिक रुपले माओवादी पार्टी जहिल्यै चुकेको छ । विधि, पद्धती र प्रणालीमा लगेर चलाउन नै चुकेको छ । भद्रगोल, विधिसम्मत रुपले नचलेको भन्ने हाम्रो पार्टीको मुख्य समस्या छ । योजना बनाए अनुसार कार्यान्वयन नहुँदा समस्या । सुधारको पाटो, विधान अनुसार मेरो, तेरो नभनी फिल्डमा पठाउने । अब वडा, सेल कमिटीदेखि नै चुनावद्वारा नेतृत्व छान्ने प्रणालीतिर लैजानुपर्छ । जो फिल्डमा जान्छ त्यसले जनताको मन जितेर निर्वाचित भएर आउँछ । बनाएको विधानलाई कार्यान्वयन गरेर जान सक्नुपर्छ ।’

त्यस्तै केन्द्रिय सदस्य रामप्रसाद सापकोटा दिपशिखाले पार्टी निरन्तर ओरालो लागेको भन्दै अब यो भन्दा ओरालो लाग्ने ठाउँ नरहेको बताउनु भयो । ०८४ सालसम्म पुग्दा सरकारले गरेका राम्रा कामहरुको बलमा पहिलो पार्टीका लागि प्रतिष्पर्धा गर्ने स्थिति बनाउनुपर्ने बताउनु भयो । उहाँले माओवादी पार्टीजति विधानमा अरु कोही उदार नभएको भन्दै आगामी दिनमा यसरी विधान मिच्नु नहुने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अब पार्टी बनाउने, क्रान्तिकारी बनाउने । अब ३२ सिटभन्दा मुनि झर्ने ठाउँ छैन । सिद्धियो झर्ने ठाउँ । अब उकालो लाग्ने । ०८४ सालमा पुग्दाखेरी अहिले सरकारले गरेका राम्रा कामहरुको बल, बुतामा पार्टी रुपान्तरण गर्ने, हामी अलिअलि सुध्रने र जनतातिर फर्किने । ०८४ मा पुग्दाखेरी पहिलो पार्टीका लागि प्रतिस्पर्धा गर्ने । जनताको हामीसँग विश्वास गुमेको छ । जनता रिसाएका छन् । रिसाएका जनताको मन खुशी बनाउने । ३ महिनाभित्र विधान सम्मेलन गर्ने । किनभने विधानमा हामीजति उदारवादी यो संसारमा कोही पनि छैन । हामी जतिबेला पायो त्यतिबेला बदल्दीन्छौँ । परिवर्तन गर्छौं । थपिदिन्छौँ । घटाइदिन्छौँ । अब आइन्दा नगर्ने भन्ने छ ।’

केन्द्रिय सदस्य रामनारायण बिडारीले पार्टीका नेताहरु तल्लो कमिटीबाट निर्वाचित भएर आउनुपर्ने कुरा जोडदार रुपले उठिरहेको बताउनु भयो । त्यस्तै पार्टी टाठाबाठा र हुनेखानेको मात्रै भएको भन्दै उहाँले किसान र मजदुरको पार्टी बनाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘वक्ताहरुले भनिरहनुभएको छ, म पनि दोषि हुँ । पार्टीको संगठन राम्रो भएन । जनतामा हामी कम गयौँ । टाठाबाठा, जान्नेसुन्ने, धनिमानी, हुनेखानेहरुमा बढी समय बितायौँ । शहरिया, बजारिया भयौँ । ग्रामिण जीवनमा गएनौँ । किसान, मजदुर, श्रमप्रति हामीले ध्यान दिएनौँ । समाजवादउन्मुख कार्य हामीले गर्न सकेनौँ । यो कुरा चाँडै गर्नुप¥यो भन्ने कुरा छ । एउटा कुरा जोडदार रुपले उठेको छ, अब अधिकांश पदहरु चुनावबाट आउनुप¥यो । चुनावबाट आउनुप¥यो भने कार्यकर्ता गाउँमा पनि जान्छन् । बाध्य भएर जान्छन् । गाउँबाट भोट जितेर आउनुप¥यो नि । वडा, पालिकाबाट जितेर आउनुप¥यो नि । त्यसोभएर निर्वाचन प्रणालीद्वारा नै गर्ने भन्नेकुरा छ । त्यसको अवगुण पनि छ, त्यसोभएपछि गुटगत भेला, प्रतिस्पर्धा होला । तर जे भएपनि निर्वाचन प्रणाली राम्रो हो त्यो कुरा उठेको छ ।’

केन्द्रिय सदस्य तिलक मल्लले बैठकमा नेपालका समाजवादी शक्तिहरुलाई केन्द्रित गरेर देशको नेतृत्व गर्ने कुराको बहस भइरहेको बताउनु भयो । उहाँले सरकारको कामले जनतालाई आशा जघाएको भन्दै यसलाई जनतामा लाने कुरामा कमजोरी रहेको पनि बताउनु भयो । आगामी दिनमा जनताको अपेक्षा पूरा हुनेगरी संगठन निर्माण गर्नुपर्ने उहाँले बताउनु भयो ।

सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै केन्द्रिय सदस्य केशवराज कुँवरले नेताहरुको कार्यशैलीमा सुधार गर्नुपर्ने बताउनु भयो । उहाँले पार्टीलाई बहुपदमा लगिएको उल्लेख गर्दै नेताहरुले सामुहिकतामा विश्वास गर्नुपर्ने बताउनु भयो ।

केन्द्रिय सदस्य कल्पना धमलाले देशमा लोकतन्त्रमाथि प्रहार भएको र दलहरुप्रति आशंका र अविश्वासहरु पैदा भइरहेको अवस्थामा पार्टीलाई रुपान्तरण गरेर अगाडी बढ्नुपर्ने बताउनु भयो । उहाँले पार्टी अध्यक्षले पार्टीलाई रुपान्तरण गर्दै अगाडी बढाउनेमा विश्वास व्यक्त गर्नुभयो ।

केन्द्रिय सदस्य युवराज चौलागाईंले यो केन्द्रीय समिति बैठकले पार्टीभित्र देखापरेका संगठनात्मक गतिरोधलाई अन्त्य गर्ने बताउनु भयो । बैठकले विधान अधिवेशनको मिति तय गर्ने र केही समयभित्रै विशेष महाधिवेशनमा जानेगरी आधार तयार गर्ने उल्लेख गर्नुभयो ।

केन्द्रिय सदस्य टेकबहादुर शाक्यले सुन तस्करी लगायतका भ्रष्टाचार काण्डमा पार्टी भित्रैका मान्छेहरुको संलग्नता भेटिए पनि सरकारले कारबाही गर्नुपर्ने बताउनु भयो । बैठकमा भ्रष्टाचार नियन्त्रणका लागि सरकार निर्मम बन्नुपर्छ भन्ने कुरा आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘सरकारले भ्रष्टाचार नियन्त्रणको सम्बन्धमा गतिलो ढंगले दोषिलाई कारबाही गर्ने काम गरिरहेको छ, पार्टीभित्र वा बाहिरका हुन जो सुकै हुन् । त्यसलाई निर्मम ढंगले कोच्नुपर्छ । यो टड्कारो रुपमा उठेको छ । यदी माओवादीका नेताहरु भएपनि यस्ता सुन काण्डहरुमा गिरोहलाई साथ दिने लाई निरुत्साहित पार्नुपर्छ । कोही मुछिएको खण्डमा जनताले देखिने गरी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्छ र निष्पक्ष रुपमा छानबिन हुनुपर्छ ।’

केन्द्रिय सदस्य शाक्यले पार्टीका नेताहरु भ्रष्टाचारमा संलग्न भएको पाए जनताले देख्नेगरी कारबाही प्रक्रिया अगाडी बढाउनुपर्ने र निष्पक्ष रुपमा छानबिन गर्नुपर्ने माग गर्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?