लागुऔषधसहित १५ जना पक्राउ

हिमालय टाइम्स
Read Time = 5 mins

काठमाडाैं । देशका विभिन्न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१५ बाट अवैध लागुऔषध गाँजा करिब ६ केजी ५ सय ग्रामसहित सिन्धुली हरियरपुर गाउँपालिका-३ बस्ने ३० वर्षीय बुद्ध बहादुर भोलनसमेत दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको बा.४ ख २१९१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।

कैलालीकाे धनगढी उपमहानगरपालिका-७ बस्ने २१ वर्षीय रवि रानालाई ८ सय ९० मिलिग्राम तथा सोही उपमहानगरपालिका-१७ बस्ने १८ र १७ वर्षीय किशोरलाई करिब ३ सय ४० मिलिग्राम अवैध लागूऔषध खैरो हेरोईनसहित प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कनरी र सशस्त्र प्रहरी बल फुलवारीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई धनगढी उपमहानगरपालिका-१४ बाट पक्राउ गरेको हो । साथै ती २ जना किशोरले प्रयोग गरेको सु.प.प्र.०१००९ प ६०५९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।

बाँकेकाे बैजनाथ गाउँपालिका-४ बानियाभारबाट अवैध लागूऔषध खैरो हेरोईन १ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २२ वर्षीय सन्तोष वलीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट कौशिलानगरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

मोरङकाे विराटनगर महानगरपालिका-१९ बिराटचोक जाने बाटोबाट अवैध लागुऔषध जस्तो देखिने सेतो वस्तु करिब ६० ग्रामसहित सोही महानगरपालिका-१२ बस्ने २२ वर्षीय राज राय समेत तीनजनालाई  प्रहरीले पक्राउ गरेको छ । उनीहरूबीच लागुऔषध लेनदेन सम्बन्धी झै-झगडा भइरहेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी चौकी घिनाघाटबाट खटिएको प्रहरीले उक्त वस्तुसहित उनीहरूलाई पक्राउ गरेको हो ।

बर्दियाकाे बढैयाताल गाउँपालिका-२ फुटाहाबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम १ सय ५० मिलिग्रामसहित सोही गाउँपालिका-९ बस्ने २३ वर्षीय भैरवनाथ योगी, बासगढी नगरपालिका-१ बस्ने २२ वर्षीय सागर कामीसमेत चारजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ २ वटा साइकलमा आएका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

कञ्चनपुरकाे बेलौरी नगरपालिका-१० सडकघाटबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ८० मिलिग्रामसहित कृष्णपुर नगरपालिका-४ बस्ने २१ वर्षीय रितिक थापालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बेलडाँडी र सशस्त्र प्रहरी बलसमेतको संयुक्त टोलीले जाँच गर्ने क्रममा से.२ प ८४७८ नम्बरको मोटरसाइकल चालकले मोटरसाइकल छाडी फरार भएको र मोटरसाइकलमा सवार थापाको साथबाट उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।

सुनसरीकाे ईटहरी उपहानगरपालिका-६ स्थित आर्या होटलबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित होटलका संचालक सोही उपमहानगरपालिका-२ घर भएका ४० वर्षीय सुनिल चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय ईटहरीबाट खटिएको प्रहरीले होटल तलासी गर्दा उक्त लागूऔषध फेला पारी चौधरीलाई पक्राउ गरेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?