फार्मेसी र क्लिनिकमा अवैध धन्दा

गर्भवतीको भिडियो एक्सरे, फर्मासिष्टबिना औषधि बिक्री वितरण

चिसाङ शेर्पा खोटाङ, संवाददाता
Read Time = 8 mins

खोटाङ । खोटाङको सदरमुकाम तथा प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा सञ्चालित फार्मेसी तथा क्लिनिकले अवैध रूपमा भिडियो एक्सरे र औषधि बिक्री वितरण गर्ने गरेको पाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पवित्र प्रकाश शाहको नेतृत्वमा केही दिनअघि जिल्ला अस्पतालसहित दिक्तेल बजारका फार्मेसी र क्लिनिक अनुगमन गर्दा उक्त कुरा पाइएको हो । त्यसमा पनि जिल्लामा नाम चलेको ॐ हलेसी मेडिकेयर क्लिनिकले त खुलेआम गर्भवती महिलाहरूको अवैध रूपमा भिडियो एक्सरे गर्ने गरेको पाइएको छ ।

बिना इजाजत र तालिमबिना उक्त ॐ हलेसी मेडिकेयर क्लिनिकका सञ्चालक वेदनारायण साह तेलीले ४७ दिनसम्मको अर्थात् ६ हप्ता पाँच दिनको गर्भवती महिलाको भिडियो एक्सरे गरेको भिडियो एक्सरे मेसिनमा रेकर्ड (डाटा)भेटिएको छ । अनुगमनमा पुगेको टोलीले गर्भवती महिलाहरूको अवैध रूपमा भिडियो एक्सरे गरेको एक दर्जन पुर्जा फेला पारेको छ । उक्त क्लिनिकलाई अवैध रूपमा भिडियो एक्सरे नगर्न र गरेमा पसल सिल गर्ने अन्तिम चेतावनी दिइएको छ । क्लिनिक सञ्चालक वेदनारायणकै नाममा दर्ता भएको न्यु हलेसी डेन्टल क्लिनिक प्रालिमा पनि अवैध रूपमा दाँतसम्बन्धी उपचार हुने गरेको पाइएको छ ।

दाँत स्क्रिनिङ, स्केलिङ र हल्लिएको दाँत फुकाल्न पाउने इजाजत पाएको वेदनारायणले जबरजस्ती रूपमा जोखिम मोल्दै दाँतको डाक्टरले गर्ने सम्पूर्ण उपचार गर्ने गरेको पाइएको छ । डेन्टल साँघुरो, सफा नभएको तथा मापदण्ड पूरा नभएको पाइएको छ । ताकि दर्ता भए पनि इजाजत प्राप्त दन्त चिकित्सक राखेर मात्रै डेन्टल चलाउन पाइन्छ । तर, वेदनारायणले नागरिकको स्वास्थ्यमाथि गम्भीर रूपमा खेलवाड गरेको पाइएको अनुगमन टोलीले बताएको छ ।

वेदनारायणले क्लिनिक मापदण्डविपरीत चलाएपछि औषधि व्यवस्था विभागले २३ चैतमा पसल सिल गरिदिएको थियो । ॐ हलेसी मेडिकेयर क्लिनिकसँगै रहेको न्यु हलेसी मेडिकेयर क्लिनिकमा पनि अवैध रूपमा भिडियो एक्सरे हुने सूचना प्राप्त भए पनि त्यहाँ पुग्दा (पोर्टएबल) मेसिन लुकाइएको पाइएको थियो ।

यस्तै, अवैध रूपमा भिडियो एक्सरे हुने गरेको सूचनाकै आधारमै नेहा फार्मेसीमा छापा मार्दा त्यहाँ भिडियो एक्सरे मेसिन नभेटिए पनि भिडियो एक्सरे गराउने गोप्य कोठा, कोठामा टेबल र बेड तथा ल्याब भेटिएको थियो । अवैध रूपमा भिडियो एक्सरे गर्ने ॐ हलेसी मेडिकेयर क्लिनिक, भिडियो एक्सरे गराउने गरेको सूचना प्राप्त भएको न्यु हलेसी मेडिकेयर क्लिनिक र नेहा फार्मेसीलाई तत्काल ती संरचना हटाउन निर्देशनसहित अब उप्रान्त भिडियो एक्सरे गरेको पाइएमा फार्मेसी र क्लिनिक सिधै सिल गर्ने चेतावनी दिइएको छ ।

एमडी रेडियोलोजिस, तालिमप्राप्त डाक्टर र (एसबिए) तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले मात्रै गर्भवतीको भिडियो एक्सरे गर्न पाउँछन् । तर, दिक्तेल बजारका क्लिनिक र फार्मेसीका प्राविधिक ज्ञान नै नभएकाले गर्भवतीको भिडियो एक्सरे गर्नाले स्वास्थ्यमाथि नै गम्भीर खेलबाड भइरहेको पाइएको छ । स्रोतका अनुसार बजारकै केही क्लिनिक र फार्मेसीले प्रतिबन्धित औषधि पनि बिक्री वितरण गर्ने गरेका छन् ।

ल्याब टेक्निसियनले औषधि बेच्दै
औषधि ऐन २०३५ को दफा १७ मा औषधि बिक्री वितरण गर्दा फर्मासिष्ट वा फार्मेसी सहायकको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । तर, दिक्तेल बजारमा क्लिनिक र फार्मेसीमा फर्मासिष्ट वा फार्मेसी सहायक नै छैनन्, उनको कागजात मात्रै पाइएको छ । औषधि क्लिनिक र फार्मेसी धनीले बेच्ने गरेका छन् । क्लिनिक र फार्मेसी सञ्चालकले जथाभावी औषधि बिक्री गर्दा ज्यानै जोखिममा पर्ने अनुगमन टोलीमा रहेका एकजना स्वास्थ्यकर्मीले बताउनुभयो ।

अनुगमन गर्दा निको मेडिकल, ॐ हलेसी मेडिकेयर क्लिनिक, हसिन फार्मेसी र फेमेली केयर अस्पतालमा फर्मासिष्टबिनै औषधि बिक्री भइरहेको पाइएको छ । फेमेली केयरले रनमाया चेपाङ र खिलाननन्द अमात्यको फर्मासिष्टको कागजात देखाए पनि उनीहरू अस्पतालमा भेटिएन । ल्याब टेक्निसियनले औषधि दिने गरेको पाइएको छ ।

जिल्ला अस्पताल, नारायण मेडिकल, नेहा फार्मेसी र न्यु हलेसी मेडिकेयर क्लिनिकमा मात्रै फर्मासिष्टले औषधि बिक्री वितरण गरेको पाइएको छ । फार्मेसी पढेकाले मात्रै औषधि बिक्री गर्न पाउने जान्दाजान्दै पनि क्लिनिक तथा फार्मेसी सञ्चालकहरू नै मानव स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्दै औषधि बिक्री वितरण गरिरहेका छन् । यसले स्वास्थ्य क्षेत्र भद्रगोल देखिएको छ ।

मापदण्ड विपरीतका क्लिनिक र फार्मेसीलाई अन्तिम चेतावनी
अनुगमनमा पुगेको टोलीले मापदण्डविपरीत चलेका क्लिनिक र फार्मेसीलाई सबै औषधिको रेकर्ड राख्न, फर्मासिष्टबाट मात्र औषधि बिक्री वितरण गर्न, ल्याक्टोजिन देख्ने गरी नराख्न, ल्याक्टोजिनबिना प्रेस्क्रिप्सन नबेच्न, मापदण्ड अनुसारको ठाउँ व्यवस्थापन गर्न, म्याद गुज्रेका औषधि नराख्न, म्याद गुज्रिन लागेका औषधिलाई अलग राख्न, भेन्टिलेसनको व्यवस्था गर्न र २४ सै घण्टा पसलमा फर्मासिष्ट राख्न चेतावनी दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?