विद्यार्थीलाई अध्ययनसँगै उद्यमशीलता प्रवद्र्धनमा केयु

हिमालय टाइम्स
Read Time = 4 mins

काडमाडौं । काठमाडौं विश्वविद्यालय(केयु)ले पहिलोपटक विद्यार्थीलाई अध्ययनसँगै उद्यमशीलता प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीलाई लक्षित गरी कम्तीमा ७० जनालाई रोजगारी प्रदान गर्न स्वतः रोजगारी कार्यक्रम सार्वजनिक गरेसँगै हाल नेपालमा थप रोजगारी सिर्जना तथा आर्थिक विकासका लागि स्वरोजगारी र व्यवसाय विकासका लागि केयुले बिजनेस इन्क्युबेसन सेन्टरमार्फत् विश्वविद्यालयमा अध्ययन गर्दै गरेका विद्यार्थीलाई नेतृत्व विकास र व्यवसायमा ल्याउन व्यापार गर्न प्रोत्साहन एवं सहयोग गर्ने योजना बनाएको छ ।

कार्यक्रमअन्तर्गत विश्वविद्यालयमा अध्यननरत विद्यार्थीबाट कम्तीमा २० वटा व्यवसाय स्थापना गराउने योजना विश्वविद्यालयको रहेको केयुका डा. विजय थापाले जानकारी दिनुभएको छ । सोही कार्यका लागि विश्वविद्यालय अनुदान आयोगबाट एक करोड सहयोग प्राप्त भएको छ । केयुले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले ऊर्जासँग सम्बन्धित सोचलाई व्यापारमा परिणत गर्न ३५ लाख विनियोजन गरेको छ भने एक करोडको अक्षयकोष स्थापना गरेको छ ।

विश्वविद्यालयबाट नवीनतम् सोचलाई व्यापारमा परिणत गर्न उल्लेखित स्रोत प्रयोग गरी आर्थिक सहयोग एवं लगानी गर्ने योजना बनाएको छ । थापाका अनुसार आर्थिक सहयोगमात्र नभई प्राविधिक र व्यवस्थापनसम्बन्धी परामर्श निःशुल्क रूपमा उपलब्ध गराउने योजना पनि विश्वविद्यालयले गरेको छ । त्यस्तै, काठमाडौं विश्वविद्यालयअन्तर्गत कोरियन सरकारको सहयोगमा नेपाल टेक्नोलोजी इनोभेसन सेन्टर पनि स्थापना भएको छ । सो सेन्टरमा अत्याधुनिक उपकरण पनि रहेका छन् । अनुसन्धान गरी व्यापारीकरणसम्म पुग्न आवश्यक सेवा र सुविधा सेन्टरबाट विद्यार्थीलाई उपलब्ध गराइनेछ ।

कार्यक्रमलाई दीर्घकालीन बनाउन मुनाफा वितरण नगर्ने कम्पनी ‘नलेज युटिलाइजेसन, इन्क्युबेसन एण्ड इनोभेसन सेन्टर(केयुआइआइसी) पनि स्थापना गरेको छ । विश्वविद्यालयले लगानी गरेका व्यवसायबाट प्राप्त मुनाफा पुनः नयाँ सोचमा लगानी गर्ने कम्पनीको योजना रहेको छ । कम्पनीले लगानीका साथै परामर्श, तालिम, सहयोग र सहजीकरण गर्ने उद्देश्य लिएको छ भने थप लगानीका लागि लगानीकर्तासँग जोड्न पनि सहयोग गर्नेछ ।

केयुमा सन् २०१४ मै बिजनेस इन्क्युबेसन सेन्टर स्थापना भएको थियो । देशकै शैक्षिक संस्थामा पहिलो यस्तो सेन्टर भएको र सो संस्थाले २०१७ सम्ममा १० वटा नवीनतम् सोच व्यापारका रूपमा परिणत गरेको थियो । विश्वविद्यालयले आन्तरिक स्रोतबाट सञ्चालन गरेको सो सेन्टर हाल विश्वविद्यालयले व्यवस्थापन गरिरहेको इनरजाइज नेपालले सञ्चालन गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?