सूर्यप्रसाद उपाध्यायमाथि अन्याय भएको थियो : देउवा

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका अग्रज नेताहरूबारे जनमानसमा जानकारी गराउनुपर्ने बताउनुभएको छ । शनिबार कांग्रेसका संस्थापक महामन्त्री स्वर्गीय सूर्यप्रसाद उपाध्यायको ३९औँ स्मृति सप्ताहको अवसरमा काठमाडौंमा आयोजना गरेको सभामा सभापति देउवाले मुलुकको परिवर्तन र पार्टी स्थापनामा भूमिका खेलेका अग्रज नेताहरूबारे अध्ययन र अनुसन्धान गरी जनमानसमा जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो ।

सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले गरेको कार्यक्रममा सभापति देउवाले उपाध्यायलाई पहिलो पंक्तिको स्मरणीय नेताका रूपमा पुनःस्थापित गर्दै उहाँको तस्बिर पार्टी कार्यालयमा राख्ने निर्णयले आफूलाई खुसी लागेको धारणा राख्नुभयो । बिनाकारण सूर्यप्रसाद उपाध्यायमाथि अन्याय हुन पुगेको भन्दै अहिले पार्टीले न्याय गरेको उहाँको जिकिर थियो । पार्टी निर्माण र लोकतान्त्रिक आन्दोलनमा उपाध्यायले गरेको योगदानको स्मरण गर्नुभयो ।

यसअघि गत पहिलो साता बसेको कांग्रेस केन्द्रीय समिति बैठकले उपाध्यायलाई कांग्रेसका ‘चार महान्’ नेतामध्ये एक पुनःस्थापित गरेको थियो । बैठकको पुराना नेता सूर्यप्रसाद उपाध्यायलाई बिपी कोइराला, गणेशमान सिंह र सुवर्ण शमशेरसँगै चार ठूला नेताका रूपमा पुनःस्थापना गर्ने निर्णय गरेको थियो । अब कांग्रेसका शीर्षस्थ नेताका रूपमा उपाध्यायको तस्बिर कांग्रेस कार्यालयमा झुण्डिनेछ । गत केही समयदेखि सूर्यप्रसाद उपाध्याय स्मृति प्रतिष्ठानले उपाध्यायबाट लोकतान्त्रिक आन्दोलनमा भएको योगदानका यथाशक्य प्रचारप्रसार गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?